एक महिनामा ५० योजना सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छुः मन्त्री शाक्य – Nepal Press

एक महिनामा ५० योजना सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छुः मन्त्री शाक्य

काठमाडौं । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यले आफ्नो मन्त्रालय अन्तर्गतका एक वर्षमा सम्पन्न गर्नुपर्ने ५० वटा योजना एक महिना भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् ।

नेकपा एमाले काठमाडौं महानगर कमिटी वडा १२, २१ र २२ ले संयुक्तरुपमा उनको सम्मानमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई आज लगनटोलमा सम्वोधन गर्दै यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत एक वर्षमा सम्पन्न गर्नुपर्ने ५० वटा योजना रहेछन्,’ मन्त्री शाक्यले भने ‘ती कार्यक्रम एक महिना भित्र सम्पन्न गर्ने लक्ष्यका साथ अहिले म दैनिक १२ घण्टा मन्त्रालयमा बसेर काम गरिरहेको छु ।’

उनले त्यसका लागि सबैको साथ–सहयोगको अपेक्षा गरेको गरेको पनि बताए। ‘माननीय अष्टलक्ष्मी शाक्यज्युको नेतृत्वको यो सरकारले निरन्तरता पायो भने एक महिनामा यी सबै योजनाको टुंगो लगाएर अरु थप पचास ओटा योजनासहित त्यसका लागि बजेट बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ शाक्यले भने, ‘वर्तमान सरकारले निरन्तरता पाएन भने आउने मन्त्रीका लागि यो आर्थिक वर्षका लागि गर्नुपर्ने काम बाँकी रहने छैनन् । उहाँहरु मन्त्रीको कुर्सीमा बसे मात्रै हुन्छ ।’

मन्त्री शाक्यले आन्तरिक मामिला मन्त्रीको हैसियतमा आफूले जिम्मेवारी सम्हाल्ने वित्तिकै प्रदेशको शान्ति–सुरक्षाका सन्दर्भमा विशेष चासो राख्दै कार्यक्रमहरु अघि बढाएको पनि जानकारी दिए ।

‘मन्त्री पदको सपथ लिएको केही दिनमै मैले सुरक्षासमितिको बैठक राखेर बागमती प्रदेशको शान्ति–सुरक्षालाई चुस्त–दुरुस्त राख्न आवश्यक निर्देशन दिइसकेको छु,’ उनले भने ‘जति सक्दो छिटो नेपाल प्रहरीलाई आवश्यक स्रोत–साधनको व्यवस्था गरेर उहाँहरुको मनोवल उच्च बनाउने कार्यको पनि मैले थालनी गरेको छु ।’

मन्त्री शाक्यले बागमती प्रदेशका १३ जिल्ला मध्ये १० ओटा जिल्ला मात्रै बागमती प्रहरी प्रदेशको मातहतमा रहेको भन्दै बागमतीका तीन जिल्ला पनि प्रदेश मातहतमै राख्न केन्द्र सरकारसँग आग्रह गरे ।

‘म बागमती प्रदेशको आन्तरिक मामिला मन्त्री भए पनि उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाडौँको प्रहरी मेरो मन्त्रालयको मातहतमा छैनन्’ उनले भने,’ ‘नेपाल सरकारको ऐनमा भएको व्यवस्थालाई अध्यादेशमार्फत ल्याएको यो बाध्यात्मक व्यवस्थाले केही जटिलता पैदा भएको छ । त्यसलाई सहजीकरण गर्दै बागमती प्रदेशका यी तीन जिल्लाको प्रहरी पनि बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मातहतमा रहने व्यवस्था केन्द्र सरकारले छिटो गरोस् भन्ने आग्रह गर्न चाहन्छु ।’

बागमती प्रदेशका १ सय २ ओटा कानुन निर्माण भैसकेको जानकारी दिए । ‘करीब ३७ ओटा ऐन बनाउन बाँकी छ,’ उनले भने, ‘ त्योसँगै केही कानुन र ऐन पनि बनाउन बाँकी छ । त्यो काममा मेरो ध्यान जाने छ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्री शाक्यको बौद्धिकताको चर्चा गर्दै जति समय रहे पनि उनीबाट राम्रो काम हुने अपेक्षा गरेको बताए।

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्द शाक्यले पनि शाक्य बागमती प्रदेशको मन्त्री बन्नु वडा–२१ बासीको मात्रै गौरव नभई बागमती प्रदेशका जनताले बौद्धिक व्यक्तित्व प्राप्त गरेको बताए । ‘उहाँ बौद्धिक व्यक्ति हो,’ मेयर शाक्यले भने, ‘तपाईको क्षमता यहाँ प्रस्तुत गर्नुहोला शुभकामना ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर