डडेल्धुरा अधिवेशनप्रति पौडेलको आरोप- देउवाले गृहजिल्लामा प्रशासनिक दुरुपयोग गरे – Nepal Press

डडेल्धुरा अधिवेशनप्रति पौडेलको आरोप- देउवाले गृहजिल्लामा प्रशासनिक दुरुपयोग गरे

कैलाली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले गृहजिल्लामा प्रशासनिक दुरुपयोग गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै पार्टी सभापति तथा प्रधानमन्त्रीबाटै लोकतन्त्रकै उपहास गरेको बताए ।

‘नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता बेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसको वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भयो’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र भएपनि सभापतिबाट अलोकतान्त्रिक व्यवहार भएको बताएका छन् । आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ रहेको पौडेलको बुझाइ छ ।

प्रशासनिक शक्तिको दुरुपयोग गरेको भन्दै महाधिवेशनको लाग अशुभ हुने पौडेलले चेतावनी दिएका छन् ।

पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र, तर व्यवहार अलोकतान्त्रिक भन्दै उनले लेखेका छन्, ‘नेपाली कांग्रेस पार्टीको इतिहासमै आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ । महाधिवेशनको लागि यो शुभसंकेत होइन ।’

क्रियाशील सदस्यको विवादका कारण जिल्ला पार्टीले अधिवेशन स्थगित गरेको थियो । तर, शुक्रबार ५२ वटै वडामा अधिवेशन शुरू भएको निर्वाचन अधिकृतले जनाएका थिए ।

जिल्ला पार्टी सभापति कर्ण मल्लेले पनि शुक्रबार बिहानै सशस्त्र र जनपथ पठाएर निर्वाचन गराइएको आरोप लगाएका थिए ।

पौडेलले शुक्रबार बिहान सभापति देउवासँग भेटवार्ता समेत गरेका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा सभापति देउवालाई भेटेर पार्टी निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन आग्रह गरेको पौडेलले बताएका थिए ।

त्यस लगत्तै सामाजिक सञ्जालमा डडेल्धुराको अवस्थाबारे जानकारी गराउँदै सामाजिक सञ्जालमा देउवालाई चेतावनी दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर