कर्णालीका मन्त्रीको सेक्स स्क्यान्डलः मुख्यमन्त्री र कांग्रेस तैं चुप मैं चुप – Nepal Press

कर्णालीका मन्त्रीको सेक्स स्क्यान्डलः मुख्यमन्त्री र कांग्रेस तैं चुप मैं चुप

छानविन गर्न सरकारलाई माओवादीको सुझाव

सुर्खेत । कर्णाली सरकारका भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीको सेक्स स्क्याण्डल सामाजिक सञ्जालमा छताछुल्ल बनेको तीन साता पुग्न लाग्यो । प्रतिपक्षी दलले उनको राजीनामा मागिरहँदा सत्ता साझेदार दलहरू भने तैं चुप मैं चुपको अवस्थामा छन् ।

मन्त्रीले एक स्वकीय सचिवकी पत्नीसँग अवैध सम्वन्धमा रहेको सार्वजनिक हुँदा पनि सरकारले मौनता साँधिरहेको छ । मुख्यमन्त्री यो विषयमा पत्रकारसँग बोल्नसमेत चाहँदैनन् । अर्कोतर्फ सत्ता साझेदार दल नेपाली कांग्रेसले पनि मुख खोलेको छैन ।

मुख्यमन्त्री शाहीले सरकारले यसबारेमा कुनै धारणा नबनाइसकेको बताउँछन् ।

‘म अहिले काठमाडौंमा छु । यसबारेमा कुनै धारणा बनाइसकिएको छैन,’ नेपाल प्रेससँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘सुर्खेत आएपछि यसबारेमा कुरा गरौंला ।’

मुख्यमन्त्रीनिकट स्रोतका अनुसार उनले मन्त्री शाहीमाथि एक्सन लिन चाहे पनि नेकपा एसका अध्यक्ष माधव नेपालको दबाबका कारण रोकिएका छन् । काठमाडौं पुगेर उनले को-को नेतालाई भेटे भन्ने चाहिँ खुलिसकेको छैन । यद्यपि, उनले नेकपा एसका उच्च नेताहरूसँग यसबारेमा परामर्श गरिसकेको स्रोतको दावी छ ।

कर्णालीको प्रहरीले यो विषयमा कुनै कदम चालेको छैन । सामाजिक सञ्जालमा भिडियो भाइरल हुँदा एक वडाअध्यक्षलाई थुनामा राखेको प्रहरीले बहालवाला मन्त्रीको सेक्स स्क्याण्डल सार्वजनिक हुँदा भने उजुरी नपरेको भनेर पन्छाइरहेको छ ।

‘समाजवादीका नेताहरूले मन्त्रीलाई कारवाही गरे पार्टीलाई असर पर्ने भन्दै नहटाउन दबाब दिएका कारण मुख्यमन्त्रीले एक्सन लिन सकेका छैनन्,’ स्रोतले भन्यो ।

गृहजिल्लाकै मन्त्री भएका कारण शाहीलाई भविष्यको राजनीतिको चिन्ताले पोलेका कारण पनि निर्णय लिन नसकेको स्रोतको भनाइ छ । मुख्यमन्त्री शाही आगामी प्रतिनिधिसभाको चुनाव लड्ने तयारीमा छन् । कुर्मराज शाहीलाई कारवाही गर्नेवित्तिकै समाजवादीका कार्यकर्ता आक्रोशित हुने र त्यसले चुनावमा आफूलाई धक्का लाग्न सक्ने चिन्ता उनलाई छ ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मर विष्ट भने सरकारकै मन्त्रीमाथि यत्रो आरोप लाग्दा छानविन गर्नुपर्ने भनेर मुख्यमन्त्रीलाई सुझाव दिइएको बताउँछन् ।

‘सरकारमाथि गम्भीर प्रश्न उठेको बेलामा आवश्यक कारवाही अघि बढाउन हामीले भनेका हौं,’ उनी भन्छन्, ‘त्यसको बारेमा मुख्यमन्त्रीज्यूले आवश्यक तयारी गरिरहनुभएको होला ।’

प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानून मन्त्री सीता नेपालीले केही दिनअघि आफूनिकटका पत्रकारलाई बोलाएर प्रहरीमा उजुरी दर्ता नभएसम्म सरकारले केही नगर्ने प्रतिक्रिया दिएकी थिइन् ।

‘केही मिडियामा समाचार आउँदैमा सरकारले ध्यान दिनुपर्छ भन्ने लाग्दैन,’ उनले भनेकी छन्, ‘उहाँविरुद्ध मुद्दा दर्ता भएको खण्डमा मात्रै सरकारले सोच्छ, अन्यथा सरकार केही गर्नु आवश्यक छैन ।’

कांग्रेसको आफ्नै सत्तास्वार्थ

यता सत्तासाझेदार दल नेपाली कांग्रेस पनि प्रतिक्रियाविहीन छ । सामान्य विषयमा विज्ञप्ति निकालेर विरोध जनाइहाल्ने कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मन्त्री शाहीको सेक्स स्क्यान्डललाई भने बेवास्ता गर्दै आएका छन् । मन्त्री शाहीमाथि कारवाहीको माग गर्दा मंसिरपछि आफू मुख्यमन्त्री बन्ने अवसर फुत्किन सक्ने त्रास उनलाई रहेको स्रोतको दावी छ ।

कांग्रेस सुर्खेतका एक नेताले भने, ‘मंसिरमा मुख्यमन्त्री बन्दै हुनुहुन्छ रे, त्यो अवसर गुम्ला कि भनेर उहाँले सेक्स स्क्याण्डलबारे विज्ञप्ति निकाल्न नखोज्नुभएको होला ।’

कर्णालीको प्रहरीले यो विषयमा कुनै कदम चालेको छैन । सामाजिक सञ्जालमा भिडियो भाइरल हुँदा एक वडाअध्यक्षलाई थुनामा राखेको प्रहरीले बहालवाला मन्त्रीको सेक्स स्क्याण्डल सार्वजनिक हुँदा भने उजुरी नपरेको भनेर पन्छाइरहेको छ ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐरले जिल्लामा उजुरी दर्ता नभएसम्म कुनै प्रक्रिया अघि बढाउन नसकिने बताए ।

यता, प्रतिपक्षी दल एमाले भने बलात्कार आरोपित मन्त्रीलाई हटाउनैपर्ने अडानमा छ । एमाले नेता यामलाल कंडेलले मन्त्री शाहीलाई तत्काल बर्खास्त गरेर आवश्यक छानविन गर्नुपर्ने बताइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर