विकास बैंकले कमाए आकर्षक मुनाफा, केहीले वाणिज्य बैंकलाई पनि टपे – Nepal Press

विकास बैंकले कमाए आकर्षक मुनाफा, केहीले वाणिज्य बैंकलाई पनि टपे

कामना बैंकको मुनाफा १२ करोडबाट बढेर ७० करोड

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त राष्ट्रियस्तरका ‘ख’ वर्गका विकास बैंकहरुको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ५८.२३ प्रतिशतले बढेको छ । कोभिड-१९ ले अर्थतन्त्र ठप्प भएको, नेपाल राष्ट्र बैंकले प्रोभिजनिङका लागि सीमा बढाएको र घट्दो ब्याजदरमा समेत विकास बैंकहरूले उच्च मुनाफा आर्जन गरेका छन् ।

केही विकास बैंकले आर्जन गरेको मुनाफा राष्ट्रियस्तरका वाणिज्य बैंकहरूको भन्दा पनि बढी छ । वाणिज्य बैंकहरुको भन्दा थोरै पुँजी, लगानी, जनशक्ति तथा स्रोत-साधन रहेका विकास बैंकहरुले उच्च प्रतिफल र आकर्षक वितरणयोग्य मुनाफा आर्जन गरेको गत आर्थिक वर्षको तिनीहरूको वार्षिक प्रतिवेदनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरी राष्ट्रिय तथा क्षेत्रीयस्तरमा १८ वटा विकास बैंकहरू सञ्चालनमा रहेका छन् । जसमा १० वटा राष्ट्रियस्तरका र ८ वटा क्षेत्रीयस्तरका हुन् । धितोपत्र बोर्डमा १७ वटा विकास बैंकहरू सुचीकृत छन् । तीमध्ये १३ विकास बैंकले उच्च मुनाफा आर्जन गरेका छन् भने ३ विकास बैंकको मुनाफा गतवर्षको तुलनामा ऋणात्मक रहेको छ । एउटा विकास बैंक उच्चघाटामा देखिएको छ ।

गत वर्ष वाणिज्य बैंकहरूमा सबैभन्दा कम सिभिल बैंकले ५६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस बैंकलाई मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैक र कामना विकास बैंक गरी ५ वटा विकास बैंकहरुले नाफामा उछिनेका छन् । लुम्बिनी विकास बैंक र साइन रेसुङ्गाल बैंकले सिभिल बैंकको हाराहारीमा नाफा कमाएका छन् ।

७५ करोड रूपैयाँ मात्रै मुनाफा आर्जन गरेको सेन्चुरी बैंकले भन्दा मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकले बढी नाफा गर्न सफल भएका छन् । ज्योति विकास, महालक्ष्मी र कामना सेवाले उक्त वाणिज्य बैंककै हाराहारीमा नै मुनाफा कमाएका छन् ।

मुक्तिनाथ विकास बैंकले भने तीन वाणिज्य बैंकहरू सिभिल बैंक, सेन्चुरी र नेपाल एसवीआई बैंकलाई मुनाफामा पछाडि पारेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै करिब ९६ प्रतिशतले मुनाफा घटेको छ । यसैगरी ग्रीन डेभलपमेन्ट बैंकको करिब ९ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १३ प्रतिशतले घटेको छ । नारायणी डेभलमेन्ट बैंक भने उच्च घाटामा रहेको छ ।

मकवानपुर, नवलपरासी र चितवनमा सञ्चालित यो बैंक समस्याग्रस्त भएपछि नेपाल राष्ट्र बैंकले कारोबारमा रोक लगाएको थियो । गत आर्थिक वर्ष नेपाल राष्ट्र बैंकले नयाँ सञ्चालक समिति र व्यवस्थापन नियुक्ति गरी यस बैंकलाई कारोबार अनुमति दिएको थियो । सतप्रतिशत राइट सेयर जारी गरेको यस बैंकको खराव कर्जा करिब ९ प्रतिशत रहेको छ ।

बैंकले आफ्नो डुबेका कर्जाहरू उठाउनुका साथै नयाँ कर्जा पनि विस्तार गर्दै आफूलाई सुधार गर्ने प्रयास गरिरहेको छ । विकास बैंकले पुर्‍याउनुपर्ने २ अर्ब पुँजी वृद्धि राइट सेयर जारी गरेर पुर्‍याउने देखिएको छ ।

कुन विकास बैंकको मुनाफा कति ?

अघिल्लो आर्थिक वर्षको तुलनामा बिकास बैंकहरूको मुनाफा करिब ५८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७६÷७७ मा ३ अर्ब ८१ करोड रुपैयाँ मुनाफा आर्जन गरेकोमा गत आर्थिक वर्ष ६ अर्ब २ करोड नाफा गरेका हुन् । यसमध्ये ४ अर्ब २१ करोड रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ ।

विकास बैंकहरुको करिब ३३ अर्ब हाराहारीमा चुक्ता पुँजी रहेको छ । औसतमा विकास बैंकहरूको प्रतिसेयर आम्दानी १३ प्रतिशत रहेको छ । यसमा रहेको नारायणी विकास बैंकको ८.२३ प्रतिशतले ऋणात्मक रहेको ईपीएस हटाउने हो भने अन्य औसत ईपीएस राम्रै देखिएको छ ।

कामना विकास बैंकको २६.४ प्रतिशत, मुक्तिनाथ विकास बैंकको करिब २४ प्रतिशत, गरीमा विकास बैंकको २२.५ प्रतिशत, महालक्ष्मी विकास बैंकको करिब २२ प्रतिशत, मेतेरी विकास बैंकको १९.५ प्रतिशत, ज्योति विकास बैकको १९.३ प्रतिशतसहित उच्च प्रतिसेयर आम्दानी भएका विकास बैंकहरु हुन् ।

मुक्तिनाथ विकास बैंकले गत वर्ष सबैभन्दा धेरै १ अर्ब १५ करोड रूपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष यस बैंकले ७० करोड ७४ लाख रुपैयाँ मुनाफा आर्जन गरेकोमा गत करिब ६३ प्रतिशतले मुनाफा बढाएको हो । गरिमा विकास बैंक सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने सूचीको दोस्रो नम्बरमा रहेको छ । यसले गत वर्ष ८२ करोड ५३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक बर्षको भन्दा करिब ४३ प्रतिशतले बढी हो ।

ज्योति विकास बैंक सबैभन्दा धेरै नाफा कमाउने तेस्रो बैंक हो । यसले गत आर्थिक वर्ष ७४ करोड रुपैयाँ मुनाफा कमाएको छ । यसैगरी कामना विकास बैंकको मुनाफा अघिल्लो आर्थिक वर्षको मुनाफा करिब १२ करोड थियो भने गत आर्थिक वर्ष करिब ४८५ प्रतिशतको उच्च दरले मुनाफा बढाउदै ७० करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

सेयर बजारमा सेयर संख्या कम तथा नाफा तथा वितरणयोग्य नाफा बढी देखिएपछि पछिल्लो समय विकास बैंकको सेयरमा लगानीकर्ताहरू आर्षित हुन थालेका छन् । विशेषगरी मुक्तिनाथ बैंक, ज्योति विकास बैंक, कामना विकासलगायतमा लगानीकर्ताहरूको बढी आकर्षण देखिन्छ ।

२७ वाणिज्य बैंकले अघिल्लो आर्थिक वर्षभन्दा गत आवमा करिब २० प्रतिशत बढी अर्थात ६३ अर्ब ३७ करोड रूपैयाँ मुनाफा आर्जन गरेका थिए । वाणिज्य बैंकहरूको वितरणयोग्य मुनाफा ४६ अर्ब ५६ करोड रूपैयाँ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर