सी डिभिजन लिग छनोटको तालिका सार्वजनिक, ७८ टोलीको सहभागिता


काठमाडौं । शहीद स्मारक सी डिभिजन लिग छनोटको पहिलो खेलमा सतासीधाम स्पोर्टिङ क्लब र च्याम्पियन ब्वाइज एफसी भिड्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार निकालेको टाइ-सीटअनुसार भदौ १० गतेदेखि छनोट सुरु हुनेछ ।
असोज २० गतेसम्म चल्ने छनोटमा कूल ७८ टोली सहभागी हुनेछन् । यसअघि ७९ टोली सहभागी हुने भनिए पनि काठमाडौं युनाइटेडले आफ्नो नाम फिर्ता लिएपछि ७८ टोलीले मात्रै छनोट खेल्ने भएका छन् ।
सहभागी ७८ टोलीलाई २६ समूहमा विभाजन गरी तीन चरणमा छनोट हुने एन्फाले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
प्रत्येक समूहमा ३ टोली रहेको र ती टोलीले दुई चरणमा छनोट खेल्नेछन् । पहिलो चरणबाट समूह विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् भने समूहका फाइनल विजेता सी डिभिजन लिगका लागि छनोट हुनेछन् ।