भूमिहीन सुकुम्बासीका विरुद्ध षड्यन्त्र गर्नेहरु कम्युनिष्ट हुन सक्दैन : प्रभु साह – Nepal Press

भूमिहीन सुकुम्बासीका विरुद्ध षड्यन्त्र गर्नेहरु कम्युनिष्ट हुन सक्दैन : प्रभु साह

वीरगन्ज । पूर्वमन्त्री प्रभु साहले भूमिहीन सुकुम्बासीका विरुद्ध षड्यन्त्र गर्नेहरू कम्युनिष्ट हुन नसक्ने बताएका छन् ।

शुक्रबार वीरगन्जमा आयोजित आईटी आर्मीको पर्सा जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारी निर्णयप्रति कडा आपत्ति जनाए । उनले गरिब, विपन्न एवम् सुकुम्बासीलाई पीडा दिने देउवा सरकारलाई साथ दिनेहरु कम्युनिष्टको खोल ओढेका प्रतिक्रियावादी सामन्त भएको जीकिर गरे । पूर्वमन्त्री साहले सुकुम्बासी समस्या समाधान गर्नुको सट्टा उल्टै सुकुम्बासी विरुद्ध षडयन्त्र गर्ने कार्य देउवा सरकारको चरम गैरजिम्मेवार कार्य रहेको र त्यसमा साथ दिने माधव नेपाल र प्रचण्ड कम्युनिष्टको नाममा कलंक रहेको बताए ।

‘वर्षौंदेखि लाखौं नेपाली सुकुम्बासी भएर बाँचिरहेका छन्, भूमिहीन सुकुम्बासीलाई लालपुर्जासहित जग्गा बाँड्ने उद्देश्यका साथ गठन भएको भूमि आयोग देउवा सरकारले खारेज गर्‍यो । जग्गा धनी लालपुर्जा दिने कार्य अन्तिम चरणमा पुगेको बेला यस्तो निर्णय देउवा एक्लैको होइन, यसको मुख्य सल्लाहकार केहि कथित कम्युनिष्टहरु हुन् । पूर्वमन्त्री साहले भने, ‘विपन्न तथा दलित विरोधी यस्ता हर्कत गर्ने कोही पनि कम्युनिष्ट हुन सक्दैनन् । ती कम्युनिष्टको खोल ओढेका प्रतिक्रियावादी सामन्त जमिनदारभन्दा बाहेक केही पनि होइनन् ।’

साहले आज केही कथिक कम्युनिष्ट सहितको अपवित्र गठबन्धनको सरकारले गरीब विपन्न तथा दलितहरुको हक अधिकार खोस्ने काम गर्दैछ । जताततै हेरौं भ्रष्टाचार र लुटआतंक छ, अस्थिरता मच्चाउने खेलहरु निम्त्याइदैछ । यी तमाम वेतिथिका विरुद्ध लड्न आईटी आर्मी खडा गरेको बताए ।

भेलाले युवा नेता सन्तोष पटेलको संयोजकत्वमा आईटी आर्मीको पर्सा जिल्ला कमिटी गठन गरेको हो । वीरगन्जस्थित पदम पार्टी सेन्टरमा आयोजित कार्यक्रममा संविधानसभा सदस्य इस्लाम हवारी, नेताहरु पवन तिवारी, अमिताभ बच्चन दासलगायतको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर