परिसंघमा ७ जना उपाध्यक्ष चयन – Nepal Press

परिसंघमा ७ जना उपाध्यक्ष चयन

काठमाडौं । नेपाल उद्योग परिसंघको विधान अनुसार ७ जना उपाध्यक्ष चयन भएका छन् । परिसंघको गभर्निङ काउन्सिलले उनीहरूलाई उपाध्यक्ष चयन गरेको हो । परिसंघको १८औँ साधारणसभापछि विष्णुकुमार अग्रवालले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

उपाध्यक्षमा निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल र रोहित गुप्ता चयन भएका हुन् । मंगलबार परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले उपाध्यक्षहरूको घोषणा गरेका छन् ।

परिसंघको विधान अनुसार संस्थापक समूह, प्रतिष्ठानगत समूह र संस्थागत सूमहबाट ७ जना उपाध्यक्ष भएका हुन । राष्ट्रिय परिषदका सदस्यहरू मध्येबाट उपाध्यक्षहरू चयन भएका हुन् ।

कार्यक्रममा परिसंघका अध्यक्ष एमिरेट्स चौधरीले परिसंघलाई निजी क्षेत्रको अग्रणि संस्थाको रूपमा उभ्याउने गरी काम गर्न नवनिर्विचत पदाधिकारीहरूलाई शुभकामना दिएका छन् । उनले हरेक विषयमा गृहकार्य गरेर अघि बढ्नुपर्ने भन्दै नीति निर्माणमा परिसंघले सकारात्मक हस्तक्षेप अघि बढाउनुपर्ने उल्लेख गरे ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघका गतिविधि मुलुकमा औद्योगिकरणका निम्ति केन्द्रित हुने बताए । औद्योगिकरण विना मुलुकको दीगो विकास असंभव रहेको भन्दै उनले त्यसमा परिसंघले अब्बल भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

यसैगरी परिसंघका निवर्तमान् अध्यक्ष सतिशकुमार मोरले परिसंघका सुझावहरू नीति निर्माणका क्रममा गम्भीरताका साथ लिन थालिएको भन्दै चालु आर्थिक वर्षको बजेटमा समेत महत्त्वपूर्ण सुझाव समावेश भएको उल्लेख गरे । उनले ह्विलिङ चार्ज तिरेर विद्युत उत्पादकबाट उद्योगले विद्युत खरिद गर्न सक्ने तथा मेक इन नेपाल स्वदेशी – अभियान बजेटमा समावेश हुनु उल्लेखनीय उपलब्धि भएको बताए ।

परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले परिसंघले जहिले पनि उद्योगीको सामूहिक हितलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरे । कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिलका सदस्य विजयबहादुर शाह एवं राष्ट्रिय परिषद सदस्यहरू अनुज अग्रवाल, भीम घिमिरे, राजु पौडेल र पम्फा धमलाले नयाँ नेतृत्वलाई शुभकामना दिएको छन् । कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिल र राष्ट्रिय परिषदका सदस्यहरूको उपस्थिति रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर