एमालेका दुई निर्णय : एउटै बैठकबाट एकता र विभाजनको सन्देश – Nepal Press

एमालेका दुई निर्णय : एउटै बैठकबाट एकता र विभाजनको सन्देश

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको आजको बैठकले पार्टीको आन्तरिक विवाद सम्बन्धमा दुई निर्णय गर्‍यो । पहिलो, पार्टी कार्यदलले गरेको १० बुँदे सहमतिलाई अनुमोदन गर्ने र दोस्रो शेरबहादुर देउवाको समर्थनमा भोट हाल्ने सांसदहरुलाई कारवाही गर्ने ।

‘परस्परविरोधि’ जस्तो देखिने यी दुई निर्णयलाई एमाले नेतृत्वभित्रको विरोधाभासका द्योतकको रुपमा हेरिएको छ । पार्टीका दुवै समुह मुखले एकताको रटान लगाइरहेका छन् तर व्यवहारले दुरी बढाइरहेका छन् । फलतः सिंगो पार्टी अन्योलको भूमरीमा फँसिरहेको छ ।

एकताका लागि १० बुँदे सहमति गरिसकेको माधव नेपाल पक्षका २२ जना सांसद (८ नवआगन्तुकसहित) ले पार्टीको ह्वीपविपरित देउवा सरकारलाई विश्वासको मत दिएका थिए । उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय आजको केन्द्रिय समिति वैठकले गरेको छ ।

बैठकका निर्णय सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीले केन्द्रीय कमिटीको १० औं बैठक राखेर १० बुँदे सहमति प्रस्तावको भावनालाई २०७५ जेठ २ को शिलशिलामा जोडेको बताए ।

१० बुँदेको अनुमोदन र कारवाही प्रस्ताव परस्परविरोधी भएनन् भन्ने प्रश्नमा ज्ञवाली भन्छन्, ‘१० बुँदेले पार्टीको निर्णय अवज्ञा गर भन्छ र ? त्यसले त पार्टीलाई एकतावद्ध बनाउने न हो । उहाँहरुले जे गर्नृुभयो त्यो गलत हो ।’

१० बुँदे अनुमोदन गरेको भए पनि एमालेको संस्थापन पक्षले अब माधव नेपाल पार्टीमा नफर्किने निष्कर्ष निकालेको छ । ज्ञवालीले आजको बैठकका निर्णय सुनाउँदा यसबारे पनि उल्लेख गरे ।

‘उहाँहरुलाई सहमतिमा ल्याउन हामीले अथक प्रयास गरेका हौं, हिजो बिहान पनि हामी माधव नेपालकोमा थियौं,’ उनले भने, ‘त्यहाँ उपस्थित हामी सबैले १० बुँदे सहमतिको स्प्रिट स्वीकार गर्दै अघि बढ्नका लागि आग्रह ग¥यौं । तर, उहाँले तीनवटा कुरामा ठाडो जवाफ दिनुभयो । पहिलो, १० बुँदे सहमतिका कयौं बुँदामा म सहमत छैन । दोस्रो, म कांग्रेसलाई विश्वासको मत दिने वचनबाट पछि हट्न सक्दिनँ । र, तेस्रो, जुन कमिटीमा म अल्पमतमा छु, त्यो कमिटीमा गएर त्यसको निर्णय मान्दिनँ ।’

यसै आधारमा नेपाल पार्टीमा फर्किदैनन् भन्ने निष्कर्ष संस्थापन पक्षले निकालेको हो । नेपाल पक्ष भने अध्यक्ष ओलीले एकता नचाहेको र यो निर्णयबाट एकताको सम्भावना झन् टाढा पुगेको बताउँछ ।

‘उहाँले पार्टीको जिम्मेवारीबाट त हामीलाई पहिल्यै निकालिसक्नु भएको छ,’ नेपाल पक्षकी सांसद कल्याणीकुमारी खड्का भन्छिन्, यसको कुनै अर्थ छैन, उहाँ जे मन लाग्यो त्यही गर्नुहुन्छ ।’

खड्काको प्रश्न छ, ‘यस्तो गरेर पार्टी एकताको वातावरण बन्छ त ? हामीले एकता चाहेर मात्रै भएन । हामीलाई कारवाही गर्दा पनि हामी चुप लागेर बस्यौं, तब पनि एकता हुन सकेन । अनि अस्ति कार्यदलका नेता कमरेडहरु स्थायी कमिटी बैठकमा जानुभयो । हाम्रा कुरा राख्छौं भन्दा पनि पार्टीबाट लखेटेर पठाइदिनुभयो ।’

नेपाल पक्षकै आर्का सांसद विरोध खतिवडा अध्यक्ष ओलीले पहिल्यैदेखि पार्टी फुटाउने कामको शुरुवात गरेको र आजको निर्णयले त्यसलाई झन् अगाडि लैजाने बताउँछन् ।

उनले भने, ‘पार्टी फोर्ने कामको शुरुवात त केपी ओलीले पहिल्यै गरेको हो, यो त अन्तिम-अन्तिम मात्रै हो ।’

२४ घण्टाको समय पुग्नेगरि भोलि ३ बजे फेरि केन्द्रीय कमिटीको बैठक डाकिएकाले संस्थापन पक्षले कुनै न कुनै कारवाही गर्ने निश्चित देखिन्छ ।

कस्तो कारवाही भन्नेबारे आज छलफल नभएको प्रवक्ता ज्ञवालीले बताए । त्यसबारे अध्यक्ष ओली निवास बालकोटमा बस्ने स्थायी कमिटी बैठकले तय गर्ने बताइएको छ।

स्रोतका अनुसार माधव नेपालसहित २२ जनालाई कारवाही गर्ने र अरुलाई महत्वपूर्ण जिम्मेवारी दिने रणनीति संस्थापन पक्षको छ । नेता नेपालले कार्यदलको रिपोर्ट स्वीकार नगरेकाले अब कार्यदलमा रहेका नेताहरुले पनि सोच्नुपर्ने र पार्टी एकता बचाउनुपर्ने ओली पक्षको तर्क छ ।

आइतबार नेपालसहित २२ जना एमाले सांसदले पार्टीको निर्णयविपरीत देउवालाई विश्वासको मत दिएका थिए । त्यसमा यसअघि केपी ओली पक्षमा रहेका ८ जना सांसद छन् भने बाँकी १४ जना माधव नेपाल समूहका हुन् ।

माधव नेपाललाई सधैँ साथ दिँदै आएका १० जना सांसदले विश्वासको मतको बेला संसद बैठक छाडेका थिए भने भीम रावलले राजीनामा दिएको घोषणा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर