एकवर्षदेखि डिप्रेसनमा थिइन् जेनी – Nepal Press

एकवर्षदेखि डिप्रेसनमा थिइन् जेनी

काठमाडौं । प्रहरीले नायिका जेनी कुवँरको आत्महत्याको कारण डिप्रेसन भएको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनको आत्महत्या डिप्रेसनको कारण भएको पाइएको महानगरीय प्रहरी वृत्त बानेश्वरका इन्सपेक्टर प्रहरी निरिक्षक केशर न्यौपानेले नेपाल प्रेसलाइ जानकारी दिए ।

घटनापछि प्रहरीले कुवँरका श्रीमान मनबहादुरसँग सोधपुछ गरेको थियो । उनका श्रीमानले प्रहरीलाई दिएको बयान अनुसार एकवर्षदेखि जेनी डिप्रेसनमा थिइन् र औषधि सेवन गरिरहेकी थिइन् । ६ महीना बिपस्यानामा बसेकी जेनीको मानसिक अवस्था पनि कमजोर भएको थियो । आत्महत्या घटना ८ बजेतिर भएको हुनसक्ने र त्यतिबेला आफू चावहिलतिर कामले गएको मनबहादुरले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

काठमाडौं बानेश्वरकी स्थायी बासिन्दा रहेकी ४६ वर्षिया जेनीका श्रीमान, एक छोरा र एक छोरी छिन् । उनलाई नजिकबाट जान्नेहरु उनी पछिल्लो समय मानसिक समस्याबाट संघर्ष गरिरहेको बताउँछन् ।

१८ वर्षदेखि जेनीकी साथी रहेकी फिल्म निर्देशक सुचित्रा श्रेष्ठले दुई साताअघि जेनीलाई भेट्दा उनी डराएको जस्तो महसुस गर्ने मनस्थितीमा थिइन् । ‘कसैले वाच गरेजस्तो गर्ने, डराएको जस्तो गर्ने, एक किसिमको डिप्रेसन मैले उसमा पाएको थिएँ’ सुचित्रा भन्छिन्, ‘तर, ऊ यस्तो निर्णय गर्ने मान्छे चाहिँ होइन । समस्यालाई पुरा गरेर अघि बढ्ने कुरा उसले मलाई गरेकी थिइन ।’

फिल्ममा नायिकाको प्रस्ताव आउन छाडेपछि उनले आफ्नै लगानीमा फिल्म बनाउने तयारी गरेकी थिइन् । सुरुमा नायिकाको रुपमा खेलेपछि पछिल्लो समय भने उनलाई अफर आउन छाडेको र आफैले फिल्म बनाउने योजना बनाएको सुचित्रा सम्झिन्छिन् । उनीसँगको भेटमा जेनीले चाँडै एक वेब सिरिज बनाउने योजना बनाएको बताएकी थिइन् ।

पशुपतिका सम्पदा संरक्षणको कुरा उठाउँदा जेनीलाई प्रहरीले हिरासतमा पनि राखेको थियो । तर, उनी चलचित्रकर्मीको रोहवरमा रिहा भइन् । यही विषयमा प्रहरीसँग पनि उनको लफडा परेको थियो । ‘उसको माग सहि थियो तर, शैली गलत । ऊ त्यतिबेला केही उग्र बनेकी थिइ’ सुचित्रा स्मरण गर्छिन् ।

काठमाडौं बानेश्वरस्थित ४ आनामा बनेको घर उनकै नाममा थियो र लकडाउनमा उनले उक्त घर निःशुल्क बस्नको लागि उपलब्ध गराएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर