एमाले विवाद समाधानतर्फ, सहमतिको खाकाका लागि ओली र नेपालसँग बस्दै कार्यदल – Nepal Press

एमाले विवाद समाधानतर्फ, सहमतिको खाकाका लागि ओली र नेपालसँग बस्दै कार्यदल

काठमाडौं । पार्टीभित्र सहमति खोज्न गठित नेकपा (एमाले) को कार्यदल सहमतिनजिक पुगेको छ । कार्यदलमा रहेका दुवै पक्षका नेताहरूले विवादका विषयमा ‘झण्डै-झण्डै सहमति’मा पुगेको बताएका छन् । कार्यदल लगातार तीन दिन छलफलमा बसेपछि नेताहरूले सकारात्मक माहोल बनेको बताएका हुन् ।

बैठकको शुरूमै निस्किएका कार्यदल सदस्य प्रदीप ज्ञवालीले छलफल सकारात्मक निष्कर्षउन्मुख भएको बताए । ‘कार्यदलका तर्फबाट नेताहरुसँग परामर्श गर्ने, उहाँहरुका भावनाहरु बुझ्ने कुराहरु पनि भईरहेको छ,’ज्ञवालीले संवाददातासँग भने, ‘कार्यदलभित्र हाम्रा छलफलहरू सकारात्मक निष्कर्षउन्मुख छन् । हामी भोलि टुंग्याउने गरी लाग्छौँ ।’

ओली पक्षबाट कार्यदल संयोजक रहेका नेता सुवास नेम्वाङले छलफल गम्भीर र सकरात्मक भएको बताए । उनले सहमतिमा पुग्न पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललगायतसँग छलफल गर्ने जानकारी दिए ।

‘अहिले जे जति तयारीहरू भएका छन्, त्यसमा टुंगोमा पुग्न आज दिनभर आवश्यक पर्छ भन्ने हामी टुंगोमा पुग्यौँ,’ नेम्वाङले भने, ‘तयारीको सिलसिलामा विभिन्न तहमा भएका प्रयासहरू समेतको कुरालाई ध्यानमा राखेर हाम्रा नेताहरू पार्टी अध्यक्ष केपी ओली र अर्का वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबैसँग कुरा गर्दै, उहाँहरूको समेत ‘फिडब्याक’ लिएर हामीले टुंगोमा पुग्ने प्रयासहरू गरेका छौँ । त्यो समेतलाई ध्यानमा राख्दा आजको समय हामीले चाहिने आवश्यकता महसुस गर्‍यौँ र आज साँझ सम्ममा ती सबै काम भइसक्छन् ।’ उनले भोलि बिहान ११ फेरि छलफलमा बस्ने र भरसक चाँडै टुंगोमा पुग्ने बताए ।

नेपाल पक्षका नेता एवम् कार्यदल सदस्य गोर्कण विष्टले विवादित मुद्दाहरूमा झन्डै-झन्डै निष्कर्षमा पुगेको बताए । ‘जुन-जुन मुद्दाहरूमा विवाद देखापरेको थियो, ती मुद्दामा समाधान खोज्ने सन्दर्भमा झन्डै-झन्डै निष्कर्षमा पुगिरहेका छौँ,’ उनले भने, ‘र, एउटा छोटो अवधिमा हामीले समस्याहरूको समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन सक्छौँ, सार्थक परिणाम प्राप्त गर्न सक्छौँ भन्ने कुरा कार्यदलको बैठकबाट हामीमा विश्वास आर्जन भएको छ ।’

विष्टले छलफल भइरहेको र टुंगोमा पुग्न लागेको विषयको पनि संकेत गरे। उनले भने, ‘अदालतको फैसला मुताविक २०७५ जेठ २ गतेको अवस्थामा नेकपा (एमाले) फर्किइसकेपछि पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई पूर्ववत्ः अवस्थामा फर्काएर क्रियाशील बनाउने नेकपा (एमाले) केन्द्रीय कमिटीको सन्दर्भमा, संख्यामा जे विवाद थियो त्यो सन्दर्भमा पनि समाधान खोज्ने, नेकपा (माओवादी) को तर्फबाट नेकपा (एमाले) मा एकताको सन्दर्भमै रहनुभएका साथीहरूको व्यवस्थापन गर्ने विषय र प्रतिनिधिसभा विघटन र अदालतमा परेको मुद्दाको सन्दर्भमा समाधान खोज्ने गरी हामीले जुन भाषामा सहमति खोज्नुपर्थ्यो त्यो सन्दर्भमा धेरै हिसाबले हामी नजिक आइपुगेका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर