पुनर्बहाली पाएका सांसदले सर्वोच्चको आदेश कार्यान्वयन नगरेको एमालेको आरोप – Nepal Press

पुनर्बहाली पाएका सांसदले सर्वोच्चको आदेश कार्यान्वयन नगरेको एमालेको आरोप

सुर्खेत । नेकपा एमालेले सर्वोच्चबाट पुनर्बहाली पाएका कर्णालीका आफ्ना चारमध्ये तीन जना सांसदले आदेश कार्यान्वयन नगरेको आरोप लगाएको छ ।

एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले सर्वोच्च अदालतले जिम्मेवारीमा फर्काइदिए पनि आफ्ना सांसद भने दलको नियमित वैठकमा नफर्किएको बताए । ‘आदेश हामीले कार्यान्वयन गरिसकेका छौं । उहाँहरुले ढिलाई गर्नुभएको छ,’ कँडेलले भने, ‘उहाँहरु एमाले सांसदकै हैसियतमा पुनर्वहाली हुनुभएको हो । सोही अनुसार भूमिका निर्वाह हुने अपेक्षा गरेका छौं ।’

उनले सदनमा दुईवटा एमाले नभएको बताउँदै एमालेले सबै माग सम्वोधन गर्ने प्रतिबद्धता जनाए पनि तीन जना सांसदहरु दलको बैठकमा नआउनु आश्चर्यजनक रहेको बताए ।

‘उहाँहरुले एमालेमै रहन पाउँ भनेर मुद्दा हाल्नुभएको हो । उहाँहरु अहिले एमाले मै हुनुहुन्छ तर उहाँहरु दलको वैठकमा आउनु भएको छैन,’ कनडेलले भने, ‘उहाँहरुलाई सहज होस भनेर धेरै प्रयास गरेका छौं ।’ उनले दलको विधान बमोजिम अघि बढनुपर्ने बताउँदै तीनै जना मन्त्रीलाई मार्ग प्रशस्त गरेर आउन आव्हानसमेत गरे ।

सरकारमा अहिले एमालेका कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढा मन्त्रीका रुपमा छन् । पार्टी निर्णयविपरित फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै पार्टीले कारबाही गरेका उनीहरुलाई सर्वोच्चले थमौती दिएको थियो ।

मुख्यमन्त्रीले मन्त्री पुरस्कार दिएपछि उनीहरु दलको बैठकमा भने सहभागी भइरहेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर