सरकारले पैसा नदिएको भन्दै कोरोना बीमाको भुक्तानी ठप्प, झण्डै ६ अर्ब बक्यौता – Nepal Press

सरकारले पैसा नदिएको भन्दै कोरोना बीमाको भुक्तानी ठप्प, झण्डै ६ अर्ब बक्यौता

काठमाडौं । अर्थमन्त्रालयले रकम निकासा नगरेको भन्दै बीमा कम्पनीहरूले कोरोना बीमा दाबी भुक्तानी ठप्प बनाएका छन् । गत वर्षबाट सुरु भएको कोरोना बीमा कार्यक्रम पनि यही असार मसान्तमा सकिँदैछ ।

कोरोना संक्रमितलाई लक्ष्यित गर्दै आकर्षक बीमा कार्यक्रम ल्याएपछि लाखौं मानिस यसमा जोडिएका थिए । संक्रमितको संख्या ह्वात्तै बढ्दा कम्पनीहरूले हात उठाएर यसको आर्थिक व्ययभार सरकारले बोकेको छ । तर, केही समयदेखि सरकारले पनि पैसा नदिएको भन्दै कम्पनीहरूले भुक्तानी गरेका छैनन् ।

अहिले बीमाको बक्यौता रकम ५ अर्ब नाघेको छ । नेपाल बिमक संघको तथ्याङ्कअनुसार गत जेठ महिना सम्ममा ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी भएको थियो । यसमा सरकार मातहतको बीमा समितिको एक अर्ब रुपैयाँ छ भने बाँकी पैसा बिमक संघ र बीमा कम्पनीहरुको हो ।

साढे तीन अर्बभन्दा बढीको दावी पर्न आए सरकारले नै बहन गर्ने भनेको थियो । तर, अहिलेसम्म अर्थमन्त्रालयले एक पैसा पनि नदिएको कम्पनीहरूले बताएका छन् ।

रकम भुक्तानीका लागि एक महिनाअघि नै अर्थ मन्त्रालयमा पत्र पठाइसकेको विमक संघका महासचिव चंकी क्षेत्रीले बताए । बीमा कम्पनी माथिको रकम सरकारले तिर्ने बताए पनि अहिलेसम्म सरकारबाट एक रुपैयाँ पनि भुक्तानीका रुपमा नआएको उनको दावी छ ।

महासचिव क्षेत्री भन्छन्, ‘सरकारले आफनो दायित्वमा लिएको रकम निकासी गर्न ढिलाइ गर्दा कम्पनीहरुलाई अफ्ठेरो परिरहेको छ ।’

क्षेत्रीका अनुसार अहिले कोरोना बीमावापत ५ अर्ब ७८ करोड ६ लाख रुपैयाँ विमितलाई भुक्तानी गर्न बाँकी छ ।

रकमका लागि अर्थ मन्त्रालयमा ताकेता गर्दा अहिलेसम्म कुनै जवाफ नपाइएको उनी बताउँछन् ।

‘पहिला बीमा कम्पनीले रकम भुक्तानी गरेनन् भनेर नकारात्मक प्रचार गरियो । अहिले अर्थमन्त्रालयले रकम निकासी नगर्दा पनि कम्पनी नै घानमा परेका छन्,’ उनले भने ।

अर्थ मन्त्रालयले भने यस विषयमा अहिले कुनै छलफल नभएको बताएको छ । मन्त्रालयका प्रवक्ता महेश आचार्यले एक महिनाअघि नै कोरोना बीमाको रकम भुक्तानीका लागि पत्र आएको भए पनि छलफल नभएको बताए ।

हालसम्म जम्मा ९७ हजार ६ सय २८ जनाले कोरोना बीमा दावी भुक्तानीका लागि निवेदन दिएका छन् । उनीहरुको भुक्तानी गर्दा ९ अर्ब ३७ करोड ६६ लाख ८ हजार ७ सय ५४ रुपैयाँको भार पर्छ ।

अहिले विमक संघमा ८० हजार २ सय ८६ वटा निवेदन स्वीकृत भइसकेका छन्, जसवापत ७ अर्ब ६१ करोड ४१ लाख रुपैयाँ भुक्तानी हुनुपर्छ । यसमा आफूहरुले सकेको मात्र भुक्तानी गरेको क्षेत्री बताउँछन् ।

अर्थमन्त्रालयले तुरुन्त रकम निकासा नगरे बीमा कम्पनीले धान्न नसक्ने उनको भनाइ छ । कारोनाको दोस्रो लहरको कल्पना पनि नगरेको अवस्थामा पहिलो लहरमा भन्दा बढी दवाव परेको उनले बताए ।

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले अर्थ मन्त्रालयसँग रकम निकासीका लागि कुरा भइरहेको र केही व्यावहारिक पक्षले ढिलाइ भएको जनाएको छ । समितिका अनुसार सोमबार पनि कोरोना बीमा रकम भुक्तानीका लागि मन्त्रालयमा अपडेट गराइएको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । मन्त्रालयले साकारात्मक जवाफ दिएकाले चाँढै नै रकम निकासी हुनेमा आफू आशाबादी रहेको उनले बताए ।

अहिले सबैभन्दा धेरै सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा २७ हजार १२४ वटा भुक्तानी दावी परेका छन्, जसका लागि २ अर्ब २५ करोड ३४ लाख रुपैयाँ बराबर रकम आवश्यक पर्छ । यसैगरी शिखर इन्स्योरेन्सले पनि १३ हजार ५ जनाको कोरोना बीमा गर्नु पर्नेछ । जसका लागि ९७ करोड रुपैयाँ चाहिन्छ ।

सबैभन्दा कम नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेडमा परेको छ । सो कम्पनीमा ६ सय ३५ वटा कोरोना दावी भुक्तानी परेको छ भने ४ करोड ८३ लाख रुपैयाँ भुक्तानी गर्नु पर्नेछ ।

कोरोना बीमा कार्यक्रम असार मसान्तबाट सकिँदैछ । त्यस उप्रान्त बीमितहरुलाई संक्रमण देखिए पनि उनीहरुले दावी गर्न पाउने छैनन् । तर, असार मसान्तभित्र दावी गरेकाहरुको भुक्तानी प्र्रक्रिया भने बन्द हुने छैन । कहिलसम्म भुक्तानी गरिसक्ने भन्ने कुनै कार्ययोजना नभएकाले धेरै बिमितहरु अन्योलमा छन् ।

आर्थिक वर्ष ७७/७८ को बजेट बक्तव्यमा नेपाल सरकारले ५० प्रतिशत अनुदान दिने र राष्ट्रियसेवक कर्मचारीको हकमा निःशुल्क कोरोना बीमा गर्ने उल्लेख गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर