संसद सचिवालयलाई एमाले नेता भुसालको पत्र- मलाई स्वतन्त्र सांसदको व्यवहार गरियोस् – Nepal Press

संसद सचिवालयलाई एमाले नेता भुसालको पत्र- मलाई स्वतन्त्र सांसदको व्यवहार गरियोस्

काठमाडौं । नेकपा एमालेका नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन संसद सचिवालयमा सूचना दर्ता गराएका छन् ।

तत्काली नेकपाबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका भुसाल नेकपा विघटनपछि एमालेको माधव नेपाल पक्षमा क्रियाशील छन् । उनी स्थायी कमिटी सदस्य हैसियतमा नेपाल समूहको बैठकमा भाग लिइरहेका छन् ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि आफूहरु दलविहीन भएको भन्दै भुसालले आफू एमाले संसदीय दलमा नभई स्वतन्त्र हैसियतमा क्रियाशील रहने बताएका छन् ।

भुसालले आफूलाई स्वतन्त्र सांसदको रुपमा व्यवहार गर्न र आफूले पाउने तलब तथा सेवा सुबिधाबाट लेवी वा अन्य कुनै रकम कुनै पनि दलको खातामा जम्मा नगरिदिन अनुरोध गरेका छन् ।

एमालेका सांसदको तलबबाट सचिवालयले लेवी कटाएर सिधै दलको खातामा पठाउने गरेको छ । आफू नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को टिकटबाट निर्वाचित भएको र हाल सो दल नै नरहेकोले स्वतन्त्र हैसियत कायम राख्न भुसालले सचिवालयलाई पत्राचार गरेका छन् ।

राष्ट्रियसभामा नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल लगायतका सांसद तत्काली नेकपाको टिकटबाट जितेका थिए ।

यसैबीच संसद सचिवालयका एक अधिकारीले भने नेकपाबाट निर्वाचित भएका जनप्रतिनिधिको हकमा अदालतबाट अहिलेसम्म थप कुनै आदेश र फैसला नभएको तथा यसअघि सांसदहरुले आ आफ्नो दल रोजेका कारण के भुसालको निवेदनमा के गर्ने भन्ने टुंगो नलागेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर