नर्थ मेसिडोनियाका कप्तान पान्डेभले नेदरल्यान्ड्ससँगको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने – Nepal Press

नर्थ मेसिडोनियाका कप्तान पान्डेभले नेदरल्यान्ड्ससँगको खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने

काठमाडौं । नर्थ मेसिडोनियाका भेटेरान कप्तान गोरान पान्डेभले युरो २०२० पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । पहिलो पटक युरो २०२० मा छनोट भएको नर्थ मेसिडोनियाले युरो २०२० को अन्तिम खेलमा सोमबार नेदरल्यान्ड्सको सामना गर्दैछ ।

‘राष्ट्रिय टोलीका लागि यो मेरो अन्तिम खेल हुनेछ । मलाई लाग्छ- गुडबाइ भन्नका लागि यो उचित समय हो,’ ३७ वर्षीय पान्डेभले नेदरल्यान्ड्सविरुद्धको खेलको अघिल्लो रात भनेका छन् ।

‘यो पुस्ता विश्वकपका लागि छनोट हुनेमा म विश्वस्त छु,’ उनले भने, ‘उनीहरूले नर्थ मेसिडोनियाली नागरिकका मुहारमा धेरै खुशी ल्याएका छन् । र, उनीहरू राम्रा क्लबहरूमा खेलिरहेका सक्षम खेलाडी छन् । र, मलाई लाग्छ उनीहरू विश्वकप फुटलब खेल्न हकदार छन् ।’

इटालियन फुटबलमा आफ्नो करियरको सबैभन्दा धेरै समय बिताएका पान्डेभले २००१ मा नर्थ मेसिडोनियाली राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । दुई दशक अन्तर्राष्ट्रिय फुटबलमा नर्थ मेसिडोनियाको प्रतिनिधित्व गरेका उनले आफ्नै नेतृत्वमा पहिलो पटक देशलाई ठूला प्रतियोगितामा छनोट गराएका हुन् ।

गत नोभेम्बरमा जर्जियाविरुद्ध पान्डेभले गरेको गोलले नै नर्थ मेसिडोनियालाई युरो २०२० मा छनोट गराएको थियो । र, यो नै नर्थ मेसिडोनियाले खेलेको पहिलो प्रतियोगिता हो ।

इटालियन साइड गेनोआका फरवार्ड पान्डेभले विश्वकप छनोटअन्तर्गत जर्मनीविरुद्धको अप्रत्याशित २-१ को जितमा पनि गोल गरेका थिए ।

पान्डेभले युरो २०२० को पहिलो खेलमा अस्ट्रियाविरुद्ध ३-१ को पराजय बेहोर्दा नर्थ मेसिडोनियाका लागि ठूला प्रतियोगितामा पहिलो गोल गर्ने खेलाडी पनि बनेका थिए । उनी युरोपियन च्याम्पियनसिपको इतिहासमै गोल गर्ने दोस्रो सबैभन्दा बढी उमेरको खेलाडी पनि बने ।

युरो २०२० को दोस्रो खेलमा युक्रेनसँग २-१ गोलको नतिजामा पराजित भएसँगै नर्थ मेसिडोनियाले समूह सी पार गरेर नकआउटमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । सोमबार राति नेपाली समयअनुसार ९:४५ बजे सुरु हुने नेदरल्यान्ड्सविरुद्धको खेल पान्डेभका लागि अन्तिम खेल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर