एमाले एकढिक्का भएपछि प्रदेश १ को नीति तथा कार्यक्रम सहजै पारित – Nepal Press

एमाले एकढिक्का भएपछि प्रदेश १ को नीति तथा कार्यक्रम सहजै पारित

इटहरी । प्रदेश १ सरकारको नीति तथा कार्यक्रम पारित गर्न प्रदेश १ को प्रदेशसभामा एमाले एकढिक्का भएको छ । एमाले एकढिक्का भएपछि जेठ २७ गते प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आज प्रदेशसभाबाट सहजै पारित भएको हो । ९३ सदस्य रहेको प्रदेश १ को प्रदेशसभामा एमालेका ५१ सदस्य छन् ।

नीति तथा कार्यक्रम निर्णयार्थ पेश गर्ने अघिल्लो दिन मुख्यमन्त्री राई र माधव नेपाल पक्षीय नेता भिम आचार्यबीच संवाद भएको थियो । आचार्यले पार्टी केन्द्रमा जे भए पनि आफ्नो समुहले सरकारलाई साथ दिने बताएको स्रोतको भनाइ छ ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीले संसोधन प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावलाई प्रदेश सरकारले अपनत्व लिने बताउँदै मुख्यमन्त्री शेरधन राईले फिर्ता लिन आग्रह गरेकोमा जनता समाजवादीले मात्रै फिर्ता लिएको थियो । जसपा नेता जयराम यादवले उठाएको चुरे क्षेत्रसँग सम्बन्धित मुद्धा समेट्न गरेको आग्रह मुख्यमन्त्रीले स्वीकार गरेका थिए ।

जेठ २७ गते बिहीबार प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि शुक्रबार र शनिबार छलफल भएको थियो । छलफलमा ३२ सांसदले धारणा राखेका थिए ।

प्रदेश १ सरकारले आगामी असार १ गते बजेट ल्याउँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर