अन्यत्रबाट ल्याइएको नदीजन्य वस्तु घाटगद्दी गर्नसमेत रोक – Nepal Press

अन्यत्रबाट ल्याइएको नदीजन्य वस्तु घाटगद्दी गर्नसमेत रोक

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रका खोलाहरुबाट नदीजन्य पदार्थ उत्खनन् गर्न बन्द गरेकामा अन्यत्रबाट ल्याइएको नदीजन्य वस्तु घाटगद्दी गर्नसमेत रोक लगाएको छ ।

नगरपालिकाभित्रका खोलाहरुको उत्खनन् बन्द गर्नुको साथै अरु पालिका तथा जिल्लाबाटसमेत ल्याइने नदीजन्य पदार्थ नगर क्षेत्रभित्र घाटगद्दीसमेत गर्न नपाउने गरी सुचना जारी गरेको छ ।

नदीजन्य पदार्थ अत्याधिक दोहन भइरहेको तथा चोरी निकासी बढेको समाचार सार्वजनिक भइरहँदा नगरपालिकाको यस्तो निर्णय आएको हो । नगरक्षेत्रमा रहेका खोला नालाहरुको उत्खनन् गरी यसक्षेत्रका आयोजनाहरुमा समेत उपलब्ध गराउने कार्य ०७७/०७८ का लागि बन्द गरिएकोले अन्यत्रबाट ल्याई राखिने सामग्रीका कारण नियन्त्रणमा कठिनाई हुने भएकोले यस्तो निर्णय गर्नुपरेको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख बासुदेव घिमिरेले नदीजन्य पदार्थ बोकेका साधनहरु नगरपालिकाभित्रका नदी किनार, घाट तथा बाटो प्रयोग गरी आवतजावत गर्दा नगरपालिकाले नियन्त्रण गर्न नसकेको गुनासो आएकोले घाटगद्धी गर्नसमेत निषेध गर्नुपरेको बताए ।

नगरपालिकाले चालु आर्थिकबर्ष २०७७÷७८ को लागि नदिजन्य पदार्थ उत्खनन गर्न अनुमति दिइएका तिनाउ र सुखौरा खोलाबाट उत्खनन् गर्न बुधबारदेखि नै बन्द गरिएको सूचना जारी गरेको थियो । आफ्नो अधिकार क्षेत्रभित्र पर्ने तिनाउ र सुखौरा खोलाबाट चालु आर्थिकबर्ष २०७७/७८ मा विभिन्न आयोजनाहरुको लागि नदीजन्य पदार्थ उत्खनन् गर्न दिईएको अनुमती अनुसारको परिमाण पुरा भएकोले थप उत्खनन् गर्ने कार्य बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले वडा नम्बर १२ को सेमरी, वडा नम्बर १ र ८ को सुखौरा, वडा नम्बर १४ को बाग्धुरा र वडा नम्बर ६ को पहुनी घाटबाट आयोजनाहरुको लागि नदिजन्य पदार्थ उत्खनन्को अनुमति दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर