काठमाडौं महानगरभित्र २ दिनमा १८ हजार बढीले लगाए खोप – Nepal Press

काठमाडौं महानगरभित्र २ दिनमा १८ हजार बढीले लगाए खोप

काठमाडौं । काठमाडौं महानगर क्षेत्र भित्रका ३२ स्थानमा ६० देखि ६४ बर्ष उमेरसमूहका नागरिकलाई सुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार १ सय १३ जना सहभागी भएका छन् ।

पहिलो दिनको तुलनामा दोस्रो दिन १ हजार ९४ जना बढी सहभागी भएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । खोप अभियानको पहिलो दिन ८ हजार ७ सय ४७ सहभागी भएका थिए भने दोस्रो दिन ९ हजार ३ सय ६६ जना सहभागी भएको काठमाडौं महानगरपालिका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए ।

पहिलो दिन ४ हजार ४ सय १९ पुरुष र ४ हजार ३ सय २८ महिला सहभागी थिए । दोस्रो दिन ४ हजार ८ सय ९३ पुरुष र ४ हजार ९ सय ८४ महिला सभागी भएको पनि विभागले जानकारी दिएको छ । ‘दोस्रो दिन दोस्रो डोज लिन छुटेका थप ४ सय ७५ सहित ९ हजार ८ सय ४१ जना खोप कार्यक्रममा सहभागी भएका छन्,’ कुँवरले भने, ‘महानगरपालिकाका प्रमुखज्यूको निर्देशन अनुरुप खोप अभियानलाई थप प्रभावकारी बनाउन उक्त उमेर समूहका कोही पनि खोप अभियानबाट नछुटुन भनेर जनप्रतिनिधिको अगुवाइमा टोलटोल र घरदैलोमै पुगेर अभियानबारे जानकारी गराउने कार्य भइरहको छ ।’

कुँबरले पाँच दिनमा १ लाख बढीलाई खोप कार्यक्रममा सहभागी बनाउने लक्ष्य लिएको भन्दै सो समूहका सबै महानगर क्षेत्र भित्र बसोवास गर्ने सबै नगरिकलाई पायक पर्ने ठाउँमा पुगेर खोप अभियानमा सहभागी हुन आग्रह गरे ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि कोविडविरुद्धको चिनियाँ खोपको पहिलो मात्रा निसङ्कोच भएर लगाउन आग्रह गरेका छन् । ‘सबै त्रासबाट मुक्त गराएर निसङ्कोच खोप अभियानमा सहभागी हुन आग्रह गर्छु,’ उनले भने, ‘खोप लगाइ सकेका नागरिक र हामी सबैले छुटेका सबै नागरिकलाई खोप अभियानमा सहभागी गराउन एकजुट भएर लाग्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *