कोभिड १९ खोपका लागि पौने १३ लाखको आवेदन, कहिले पाउलान् ? – Nepal Press

कोभिड १९ खोपका लागि पौने १३ लाखको आवेदन, कहिले पाउलान् ?

काठमाडौं । कोभिड-१९ विरुद्धको खोपको पहिलो डोज लगाउनको लागि सरकारले १८ वर्षभन्दा माथिका नागरिकलाई फारम भर्न आग्रह गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेबसाइटमार्फत उक्त फारम भर्न आग्रह गरेको थियो ।

एक महिनाको अवधिमा उक्त डिजिटल फारम भर्नेको संख्या झन्डै पौने १३ लाख पुगेको छ । मन्त्रालयका अनुसार सोमबारसम्म १२ लाख ७३ हजार जनाले फारम भरेका छन् ।

मन्त्रालयमा सूचना व्यवस्थापन हेर्ने डा. अनिल थापाका अनुसार फर्म भरेकाहरुलाई प्राथमिकताको आधारमा खोप लगाइने भएको छ ।

‘सबैलाई खोप कहिले लगाउने भन्ने चासो छ । फर्म भर्ने बित्तिकै खोप लगाउने सुनिश्चितता भने छैन’ उनले भने, ‘खोप अभियान सञ्चालन गर्दा फर्म भरेको व्यक्तिलाई प्राथमिकताको आधारमा खोप लगाउने निर्णय सरकारले गरेको छ ।’

थापाका अनुसार, ‘कोरोना विरुद्धको खोप लगाउनको लागि दैनिक ४२ हजारभन्दा बढीले फर्म भर्ने गरेका छन् । अनलाइन फर्म भर्नेबारे मानिसहरुलाई पर्याप्त मात्रामा सुचना नभएका कारण फर्म भर्नेको संख्या कम भएको हुन सक्छ ।’

आफैंले फारम भर्न नसक्ने र इन्टरनेट सुविधा नभएका नागरिकलाई नजिकको पालिकामा फारम भर्ने व्यवस्था मिलाइएको छ । परिचय खुल्ने कागजपत्र लिएर आफ्नो पालिका, वडा वा स्वास्थ्य कार्यालयमा गएर हार्डकपीमा विवरण टिपाउन सकिने भएको छ ।

उनले भने, ‘हालै फारम भर्ने बित्तिकै खोप लगाउन पाइन्छ भन्ने छैन । सरकारले खोप अभियान सञ्चालन गर्दा फर्म भरेकाहरुलाई प्राथमितामा राखेर सरकारले खोप लगाउन आउनु भनेर म्यासेज गरिनेछ । फर्म नभरेकालाई भने म्यासेज जादैन ।’

खोप लगाउन जाँदा अनलाइन फर्म भर्दा प्राप्त हुने दर्ता कार्ड, दर्ता नम्बर वा आफ्नो परिचय खुल्ने परिचयपत्रसहित खोप केन्द्रमा जानुपर्ने थापाले बताए ।

मंगलबारदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउन अभियान सुरु भएको छ । मंगलबार ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइएको छ ।

सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई पनि खोप लगाउँदा अनलाइन फारम भरेकालाई पनि म्यासेज गरेको छ । नजिकको खोप केन्द्रमा खोप लगाउन जान आग्रह गर्दै मन्त्रालयले उक्त उमेर समूहका नागरिकलाई म्यासेज पनि गरेको छ ।

सरकारले यसैसाता विज्ञप्ति जारी गर्दै धैर्यता अपनाउन आग्रह गरेको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले पनि सबै नेपालीलाई खोप लगाउनु आफ्नो कार्यकालको मुख्य प्राथमिकता हुने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर