गोल्मेबासीले अब पानी बोक्न एक घण्टा हिड्न पर्दैन, शुरु भयो डिप बोरिङ – Nepal Press

गोल्मेबासीले अब पानी बोक्न एक घण्टा हिड्न पर्दैन, शुरु भयो डिप बोरिङ

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका- ६ थुम्पाखर, गोल्मेमा एउटा सुन्दर बस्ती छ । पहिला अलि धेरै बस्ती भएपनि अहिले जम्मा १३ घर मात्रै रहेको छ । तामाङ समुदायको यो बस्तीबाट अहिले धेरै परिवार बसाई सरेर अन्यत्र नै गइसकेका छन् ।

१३ घरपरिवार भने पुर्खाहरुको जन्मथलो भनेर बस्ती छाड्न सकेका छैनन् र गाउँमा नै बसिरहेका छन् । सुनकोशी गाउँपालिका भित्र सम्भवत सबैभन्दा उच्च स्थानमा रहेको यो बस्तीबाट अन्यत्र बसाई सराइ गर्नु पर्ने मुख्य कारण खानेपानी नै हो ।

समुन्द्री सतहबाट २१ सय मिटर उचाईमा रहेको गोल्मेका तामाङ समुदायले वषौंदेखि खानेपानीको चरम अभाव भोग्न बाध्य भएपछि धेरैले यो ठाउँ छाडेर पानीको सुविधा भएको ठाउँमा गएको स्थानीय गंगाबहादुर तामाङले बताए ।

गाउँमाथी रहेको सानो कुवाको पानी यहाँका समुदायलाई खानेपानीको रुपमा उपयोग गर्दे आएपनि भुकम्पमा कुवाको पानी भाँसिएपछि यहाँका स्थानीय अहिले १ घण्टाको दुरीमा रहेको लिसंखुपाखरको डाँडापाखरमा गएर पानी ल्याउने गरेका छन् । गोल्मेमा पानीको स्थलगत रिपोर्टिङमा पुग्दै गर्दा बस्तीकी ५० वर्षीया लक्ष्मीकुमारी तामाङ डाँडापाखाबाट डोकोमा पानी बोकेर असिनपसिन हुदै घर जादै थिइन। आउन जान झण्डै डेढ घण्टा लाग्ने र छिटो गए मात्रै पानी पाउने उनले सुनाईन ।

लुगाधुने, नुहाउने त कल्पना मात्रै हो, खानेपानी नै समस्या छ, लक्ष्मीले भनिन्-‘लुगाधुन र नुहाउन त अन्यत्रै टाढा जानुपर्छ ।’

बस्तीका गंगाबहादुर उमेरले अहिले ५२ वर्ष भए तर उनले थाहा पाउदा देखि नै बस्तीमा पानीको समस्या यस्तै नै रहेको उनले सुनाए । हरेक बर्ष खानेपानीको लागि थोरै बजेट आउँछ, कहिले यताको ट्याङकी उता सार्ने, कहिले उताको ट्याङकी यता सार्ने यती मात्रै काम भो तर पानी पेटभरी कहिल्यै खान पाइएन ।’

अब भने दुःखका दिन गए

पुस्तौदेखि खानेपानीको चरम समस्या खेप्दै आएका गोल्मेबासीले अब भने पेटभरी खानको लागि मात्रै होइन सिञ्चाइ गर्न सम्म पुग्ने गरी पानी पाउने भएका छन् । गोल्मेबासीले मात्रै होइन आसपासका झण्डै ५ सय घरधुरीलाई खानेपानी सुविधा हुने गरी सुनकोशी गाउँपालिकाले डिपबोरिङ गरेर खानेपानीको अभावलाई पुरा गर्न सुरु गरेको छ ।

सुनकोशी गाउँपालिकाले गोल्मे र वडा नम्बर-६ को सानोपाखर, पाटीडाँडा लगायतका आसपासका बस्तीमा खानेपानी पुर्‍याउने उदेश्यले गोल्मेको बस्तीमाथी डिपबोरिङ गरेर जमिनमुनीबाट पानी निकाल्न सुरु गरेको छ । २ हजार मिटर उचाईको डाँडामा गाउँपालिकाले यो वर्ष ३० लाख रुपियाँ खर्च गरेर पानी निकाल्न सुरु गरेको छ । अब को केही दिन भित्रै पानी जमिनमुनीबाट निकालीने गाउँपालिका अध्यक्ष श्रवण कुमार जिसी (विनोद)ले जानकारी दिए ।

पाँच दिन अघिदेखि जमिनमुनीबाट पानी निकाल्न सुरु गरिएको र अहिले १ सय ८० मिटर गहिराईमा पुग्दा पानी आउन सुरु भएको अध्यक्ष जिसीले जानकारी दिए । शनिबार बिहानदेखि पानी आउन सुरु भएको स्थानीय युवा भत्तबहादुर तामाङले जानकारी दिए । सुख्खा डाँडोमा ह्वालह्वाली पानी आएपछि गोल्मेका स्थानीय खुसी भएका थिए । अब पानीको दुःख नहुने भयो, यति धेरै वर्षपछि गाउँपालिकाले हामीलाई पानी खुवाउने भएको छ, तामाङले पानी निस्केपछि खुसी हुदै भने ।

यसरी सुरु भयो डिपबोरिङबाट पानी निकाल्ने अभियान

सुनकोशी गाउँपालिकाको ठोकर्पालाई केही वर्ष अघि सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको थियो । गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीले रामेछापको एउटा बस्तीमा डिपोरिङबाट पानी निकालेको थाहा पाएपछि त्यस ठाउँलाइ हेरेर आएपछि आफ्नो बस्तीमा पनि पानी निकाल्न सकिने रहेछ भनेर योजना बनाए ।

सुरुमा त कसैले पनि पत्याएनन् तर जब पानी आयो सबै खुसी भए अध्यक्ष जिसीले भने । आफुहरुले डिटीएच रक ड्रिलीङ कम्पनीलाई ल्याएर स्थलगत देखाएपछि पानी निकाल्न सकिन्छ भनेर आफुहरुलाई हौसला दिएको अध्यक्ष जिसीले बताए ।

हामीले सुनकोशी- १ र २ मा दुई वटा डिपबोरिङ गरेका छौं । १ मा अहिले दैनिक ५ सय घरधुरीले पानीको सुविधा पाइरहेका छन् भने २ मा ४ सय घरधुरीले पानीको सुविधा पाएको अध्यक्ष जिसीले जानकारी दिए ।

वडा नम्बर १ मा प्रति घण्टा ३५ हजार लिटर पानी आउने गरेको र २ मा ४८ हजार लिटर पानी जमिनमुनीबाट आउने गरेको र सबै बस्तीलाई पर्याप्त खानेपानी पुगेको अध्यक्ष जिसीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर