बेलका नगरले नागरिकको साझेदारीमा अक्सिजन प्लान्ट बनाउँदै – Nepal Press

बेलका नगरले नागरिकको साझेदारीमा अक्सिजन प्लान्ट बनाउँदै

इटहरी । अहिले देशभर मेडिकल अक्सिजनको माग उच्च छ । अक्सिजन सिलिन्डर धेरै भएको क्षेत्रबाट आवश्यक परेको क्षेत्रमा नेपाली सेनाले हवाई र स्थल दुवै मार्गबाट ढुवानी गरिरहेको छ । विदेशबाट नेपाललाई आएका अधिकांश सहयोगमा अक्सिजन अनिवार्य देखिन्छ ।

यसै मेसोमा उदयपुरको बेलका नगरपालिकाले भने आफैं अक्सिजन प्लान्ट निर्माणको तयारी थालेको छ । बेलका नगरपालिका वडा नम्बर ९ को नगर अस्पतालमा प्लान्ट बनाउन मेयर दुर्गाकुमार थापाले काम थालेको बताएका छन् । बेलका अस्पताल मदन भन्डारी राजमार्गसँगै जोडिएको छ ।

प्लान्ट बनाउन नगरपालिकाले २० लाखको कोष जम्मा गरेको छ । कुमारी बैंकको बेलका शाखाको ‘अक्सिजन प्लान्ट निर्माण समिति’ नामको खातामा फन्ड जम्मा भएको छ । बाँकी पैसा विभिन्न सहयोगी मनहरुबाट लिइने मेयर थापाले बताए ।

०७७०११३४३५२००००१ खाता नम्बरमा अहिले विभिन्न सहयोगी मनहरुले रकम जम्मा गरिरहेका छन् । नगरका नागरिक बाहेक बाहिरबाट पनि सहयोग आउन थालेको मेयर थापाले बताए । उनले भने, ‘हाम्रो अक्सिजन प्लान्ट उदयपुर, ओखलढुंगा, खोटाङदेखि सोलुखुम्बु क्षेत्र जोड्ने सगरमाथा करिडोरकै एकमात्र हुने भएकोले धेरैको सहयोग छ ।’

प्लान्ट निर्माणको लागी संघीय सांसद प्रमुख सल्लाहकार रहेको र प्रदेशसभाका सबै सदस्यहरु सल्लाहकार रहेको मेयर थापाको संयोजकत्वमा १० सदस्यीय निर्माण समिति बनेको छ । सल्लाहकारमा जिल्ला समन्वय समिति, नेपाल रेडक्रस सोसाइटी, जिल्ला जनस्वाथ्य कार्यालय, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ देखी सामुदायिक वन उपभोक्ता महासंघ लगायतका उदयपुरका विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरु समेत अटाइएका छन । ‘सबैको सरोकार राख्ने परियोजना भएकोले सबैलाई समेट्ने हाम्रो लक्ष्य हो’, मेयर थापाले भने ।

‘अनमोल प्राणवायुः अभावमा नजाओस आयु’ भन्ने नाराको साथ भएको सुरु भएको अभियानले सय दिनमा आवश्यक एक करोड बढी रकम संकलनको लक्ष्य लिएको छ । रकम संकलन भएपछि सय दिनभित्रै शिलान्यास हुने र निर्माण प्रक्रिया अगाडि बढाउने मेयर थापाको तयारी छ । उनले भने, ‘कोभिड–१९ का पुरानादेखि नयाँ भेरियन्टको खतराको पराकम्पन अझै निकै समयसम्म जाने देखिन्छ । त्यहि कुरालाइ ध्यानमा दिएर हामीले दीर्घकालीन योजना ल्याएका हौं । काम द्रूत गतिमा अगाडि बढ्छ ।’

मेयर थापाका अनुसार प्राविधिक सल्लाहकारहरुसँगको छलफल र प्लान्ट संचालनको संभाव्यता अध्ययनबाट आफू प्लान्ट संचालनको निर्णयमा पुगेको बताए । उनले भने, ‘अक्सिजन प्लान्टको उपयोग मान्छेले लिन स्वासमा मात्रै नभएर कृषिदेखि ग्यारेजसम्म हुने पाइएकोले यो बहुउपयोगी परियोजना हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर