बादल प्रवृत्तिको हार सुखद परिणाम हो : गगन थापा – Nepal Press

बादल प्रवृत्तिको हार सुखद परिणाम हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रिय सभा निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादलको पराजय ‘सुखद परिणाम’ भएको बताएका छन् ।

प्रतिनिधिसभाका सदस्य समेत रहेका नेता थापाले सत्तामा टिकीरहन जेपनि गर्न तयार हुने गृहमन्त्रीको पराजयले विधिको शासन मान्नेहरुको जित भएको बताए । ‘उहाँ जुन प्रवृत्ति बोकेर यो सरकारमा निरन्तर हुन चाहनुहुन्थ्यो त्यो प्रवृत्तिलाई हराउनैपर्ने थियो । अर्कोतिर डा. खिमलाल देवकोटा जत्तिको विज्ञ राष्ट्रियसभाका लागि उपयुक्त उम्मेदवार हुनुहुन्थ्यो । जित्नैपर्नेले जितेको र हार्नैपर्नेले हारेकोले यो परिणाम सुखद छ’, थापाले नेपाल प्रेससंग भने ।

अर्को प्रसंगमा थापाले संसद अधिवेशन आह्वानसंगै सरकारले अध्यादेश जारी गर्नु विधिको शासन विपरीत भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार संवैधानिक मर्यादा नाघिसकेको भन्दै थापाले पछिल्ला अध्यादेशहरु त्यसैको निरन्तरता भएको बताए । ‘संसदमा नीति तथा कार्यक्रम र प्रिबजेट छलफल दुवै हुनसकेन । संसदको समय सरकारले खाइदियो । अहिले संसद बोलायो तर अध्यादेश जारी गरेर फेरी संसदको हुर्मत लिने काम गर्यो’, थापाले भने । सरकार असफल भइसकेकोले हरेक मोर्चामा हार व्यहोर्न तयार हुनुपर्ने थापाको भनाई थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर