नारायणकाजी श्रेष्ठको आह्वान- महामारी काबु बाहिर जान लाग्यो, सबै मिलेर सम्हालौं – Nepal Press

नारायणकाजी श्रेष्ठको आह्वान- महामारी काबु बाहिर जान लाग्यो, सबै मिलेर सम्हालौं

कोभिड स्वयंसेवा समूह पुनः क्रियाशील रहेको जानाकारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले कोरोनाका कारण स्थिति काबु बाहिर जान लागेको भन्दै मिलेर सम्हालनुपर्ने बताएका छन् ।

शनिबार फेसबुकमार्फत सबैलाई कोरोना नियन्त्रणमा जुट्न आग्रह गर्दै उनले भनेका छन्, ‘सरकारको समयमै आवश्यक कदम नचाल्ने र तयारी नगर्ने गैरजिम्मेवार रवैयाले स्थिति काबु बाहिर जान लाग्यो । सबै मिलेर सम्हालौं ।’

श्रमजीवी वर्गलाई तत्काल राहत प्याकेज अपरिहार्य भएको भन्दै उनले अर्थतन्त्रको रक्षा र पुनर्स्थापनाको लागि पनि विशेष  योजना आवश्यक रहेको बताए ।

यस्तो बेलामा जोखिम मोलेर काम गर्न तयार नहुनेहरू आफ्नो पार्टीका नेता, कार्यकर्ता हुन नसक्ने भन्दै स्वंसेवकका रुपमा परिचालित हुन आह्वान गरेका छन् ।

‘राजनीतिक नेता, कार्यकर्ता,संगठन र समाजसेवीहरूले आफूलाई बचाउने मात्रमा सीमित नरही जोखिम मोलेर समाजको लागि स्वयम्से‌वा गर्न तयार हुनुपर्दछ,’ श्रेष्ठको भनाइ छ, ‘त्यसो गर्न तयार नहुनेहरु हाम्रो पार्टीका नेता, कार्यकर्ता हुन सक्दैनन् र हुन मिल्दैन।’

कोरोनाको पहिलो लहरको समयमा क्रियाशील रहेको आफ्नो सचिवालय अन्तर्गतको कोभिड स्वयंसेवा समूह पुनः क्रियाशील रहेको जानाकारी श्रेष्ठले गराएका छन्।

यस्तो छ श्रेष्ठको आह्वान
कोरोनाको महामारी भयावह भयो। नेपाल संक्रमण र मृत्यु दर दुबै कोणबाट बिश्वकै अग्रपंक्तिमा देखिन थाल्यो। सरकारको समयमै आवश्यक कदम नचाल्ने र तयारी नगर्ने गैरजिम्मेवार रवैयाले स्थिति कावु बाहिर जान लाग्यो।सबै मिलेर सम्हालौं ।आम नागरिकलाई कोरोना संक्रमणबाट बचाऔं र जीवन रक्षा गरौं ।

६० भन्दा बढी जिल्लामा निषेधाज्ञा लागिसकेको स्थितिमा गरिब, बिपन्न र श्रमजीवी परिवार रोगले मात्र होइन ,भोकले समेत बाँच्न नसक्ने स्थितिमा पुग्दैछन् ।अर्थतन्त्र ध्वस्त हुने खतरा देखिदैछ।तसर्थ श्रमजीवी वर्गलाई तत्काल राहात प्याकेज अपरिहार्य छ भने अर्थतन्त्रको रक्षा र पुनर्स्थापनाको लागि पनि बिषेश योजना आवश्यक छ।

सरकार र राजनीतिक पार्टीहरुले यसलाई पहिलो र मुख्य कार्यभार बनाऔं । यद्यपि यो सरकारबाट यस्तो संवेदनशील बिषयमा पनि कुनै सकारात्मक पहलको आशा गर्न नसकिने पीडादायी स्थिति छ।

यस्तो बेलामा सवैले स्वास्थ्यमापदण्डको पालना गरेर आफूलाई संक्रमणबाट बचाउनु मात्र पनि राम्रो कुरा हो। तर राजनीतिक नेता ,कार्यकर्ता,संगठन र समाजसेवी हरुले आफूलाई बचाउने मात्रमा सिमित नरही जोखिम मोलेर समाजको लागि स्वयसेवा गर्न तयार हुनुपर्दछ । त्यसो गर्न तयार नहुनेहरु हाम्रो पार्टीका नेता, कार्यकर्ता हुन सक्दैनन् र हुन मिल्दैन।

भेरी अस्पतालका चिकित्सक, नर्स,स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिरहेका अन्य स्वास्थ्यकर्मीहरु प्रति सम्मान ब्यक्त गर्दै उहाँहरुको बाटो अनुशरण गर्न तयार होऔं । जे जसरी सहयोग गर्न सकिन्छ गरौं।

यसै सन्दर्भमा कोरोनाको पहिलो लहरको समयमा क्रियाशील रहेको मेरो सचिवालय अन्तर्गतको कोभिड स्वयंसेवा समूह पुनः क्रियाशील रहेको जानाकारी समेत बिनम्रतापूर्वक गराउन चाहन्छु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर