धनुषामा आजदेखि निषेधाज्ञा– विवाह गर्न छुट, बैंक खुल्ने – Nepal Press

धनुषामा आजदेखि निषेधाज्ञा– विवाह गर्न छुट, बैंक खुल्ने

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित धनुषा जिल्लाभर आजबाट १० दिनका लागि निषेधाज्ञा सुरु भएको छ ।

निषेधाज्ञा सुरु भएपछि बजारमा औषधि बाहेकका पसलहरु बन्द छ । बजारमा मानिसहरुको आवतजावत रोक्न ठाउँ-ठाउँमा प्रहरी परिचालन गरिएको छ । निषेधाज्ञाको पहिलो दिन भएकाले सडकमा मानिसहरु आवतजावत रोक्न प्रहरीलाई हम्मे परेको देखिन्छ ।

खाद्य वस्तु, खाना पकाउने ग्याँस, निर्माण सामग्रीसँग सम्बन्धित व्यवसायहरु विहान ६ बजेदेखि ९ बजेसम्म खोल्न पाइने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । उनका अनुसार स्वास्थ्य सेवासँग सम्बन्धित पसलहरु भने चौसिबै घण्टा स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाइन्छ ।

कोरोना महामारीले भयावह रुप लिन थालेको निकर्ष निकाल्दै डीसीसीएमसी धनुषाको बैठकले आज विहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाले कोरोना संक्रमण दर घट्ने अपेक्षा छ ।

विवाह गर्न छुट

निषेधाज्ञाको अवधिमा पनि स्वास्थ्य मापदण्ड अपनाएर विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्य गर्न पाइने निर्णय डीसीसीएमसीले गरेको छ । तर बढीमा १५ जनामा सहभागी हुन पाइने भनिएको छ ।

विवाह ब्रतबन्धमा आवत जावतका लागि बढीमा २ वटा साना र एउटा ठूलो गाडीमा शुभविवाहको व्यानर राखेर सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी बास्तोलाको भनाई छ ।

बैंकहरु खुल्ला रहने

निषेधाज्ञाको अवधिमा पनि बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेको पाइएको छ । बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गर्ने वा नगर्ने विषयमा डीसीसीएमसीले कुनै निर्णय गरेको छैन ।

बैंकहरुले सीमित समयमा सेवा प्रवाह गर्ने सूचना जारी गरेको छ । आइतवारदेखि विहीवारसम्म विहान १० बजेदेखि २ बजेसम्म र शुक्रवार विहान १० बजेदेखि १ बजेसम्म सेवा प्रवाह गर्ने बैंकहरुले जारी गरेको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर