भारतका समाचार कक्षमा फैलियो संक्रमण, सहकर्मी गुमाउँदा यसरी रुँदैछन् आजतकका एंकर – Nepal Press

भारतका समाचार कक्षमा फैलियो संक्रमण, सहकर्मी गुमाउँदा यसरी रुँदैछन् आजतकका एंकर

दिल्ली । हामी यहाँ बसेर सँधै एङ्करिङ गथ्र्यौं । सँधै भेट्थ्यौं । रोहित आइसीयूमा थियो भनेर फोन आउँछ भन्ने थाहा थिएन । आइसीयूमा सबै जान्छन् । हाम्रो साथी पनि गएको थियो । फेरी खबर आयो कि ऊ भेन्टिलेटरमा छ ।

म बिहानैदेखि बुलेटिन गरिरहेकी थिएँ । डराइरहेकी थिएँ । प्रार्थना गरिरहेकी थिएँ । यस्तो हुन्छ भन्ने कुरा कहिल्यै सोचेकी थिइँन । गएको शनिबार मैले रोहितलाई भेटेकी थिएँ ।

रोहितले मलाई सेनिटाइज गरेर जान भनेका थिए । मैले भनेकी थिएँ -लाग्यो भने सबैलाई लाग्छ । कोरोना लागेपछि उसले टेक्स्ट गर्दै मलाई भन्यो -म कोरोना पोजेटिभ भएँ, तिमीले पनि टेस्ट गर्नु । मैले भने -म ठीक छु, तिमी ठीक भएर चाँडो फर्कनू ।

२ मेमा आउला, २९ मेमा आउला वा ३० मेमा आउला । मलाई थाहा छैन, उनको खबर आज आउँछ भनेर । तपाईंहरु दंगल हेर्नुहुन्छ । यहीँ बसेर उसले दंगल गर्छ । म १ बजे जान्थेँ । ऊ आउँथ्यो र मलाई मेकअप उतार्न भन्थ्यो । म छु तिमी घर जाऊ भन्थ्यो ।

परिवारमा हामी सबै साथ हुन्थ्यौं, बच्चाको जन्मदिन सँगै मनाउँथ्यौं । रोहित १ तिम्रो परिवारका लागि होइन, हाम्रो लागि र मेरो लागि सबैभन्दा ठूलो क्षति हो । मेरो सबैभन्दा प्रिय साथी तिमी गयौ । चित्रा तिमीलाई म के सोधौं, अब त केही पनि छैन तिमीलाई सोध्नका लागि ।

सहकर्मीको मृत्युको समाचार पढ्दा आफूलाई सम्हाल्न सकिनन् आजतक टेलिभिजनकी कार्यकारी सम्पादक अञ्जना ओम कश्यपले । न्यूजरुममा वर्षौं बिताएको, हाँसखेल गरेको र थुप्रै न्यूजहरु स्कुप हानेको लगायतका स्मरण गर्दै कश्यपले आफ्नै सहकर्मी रोहित सरदानाप्रति श्रद्धासुमन व्यक्त गरिन् । उनको मस्तिष्कमा फिल्मको रिलजस्तै घुमिरहे ती स्मृतिहरु ।

चर्चित भारतीय टेलिभिजन एंकर रोहित सरदानाको निधन भएपछि यतिबेला भारतीय पत्रकारिता गहिरो शोकमा डुबेको छ । शुक्रबार कोभिड-१९ संक्रमणले निधन भएका सरदानाप्रति राष्ट्रपति, प्रधानमन्त्रीदेखि पत्रकारिता, बलिउड र सर्वसाधारणले दुःख व्यक्त गरेका छन् ।

क्रिकेट स्कोरिङजस्तै कोरोना संक्रमित एवं मृत्युको तथ्यांक पढ्ने भारतीय टेलिभिजन जगतमा सरदानाको निधन एउटा अंकगणित मात्र हैन, यसले फ्रन्टलाइनर कसरी अग्रणी मोर्चामा खटिएर कोभिडविरुद्ध लडिरहेका छन् भन्ने अवस्थाको दुःखदायी चित्रण पनि गर्छ । कश्यपले भनेजस्तै उनका लागि रोहितको मृत्यु तथ्यांक मात्र हैन बरु समाचार-कक्षका लागि ठूलो क्षति हो ।

जी-न्यूजमा ‘ताल ठोक के’ सो चलाएर हिट बनेका रोहितले राजनीतिज्ञदेखि सेलेव्रिटीलाई हायल–कायल पार्थे र स्पष्ट दृष्टिकोण प्रस्तुत गर्थे । उनको निधनमा भारतीय राजनीति, कलाकारिता, कर्पोरेट क्षेत्रले व्यक्त गरेको ‘अबिच्यूरी’पूर्ण स्टेटमेन्टहरु यसका प्रमाण हुन् ।

जी-न्यूज प्रधानसम्पादक सुधीर चौधरी लेख्छन्, ‘थोरै पहिले मलाई हाम्रा क्राइम रिपोर्टरको फोन आयो । उसले भनेको कुरा सुन्दा मेरो हात काँप्यो । हाम्रा मित्र तथा सहयोगी रोहित सरदानाको मृत्यु थियो । यो भाइरसले हामी नजिकको कसैलाई उठाएर लैजान्छ भन्ने कुरा कल्पना बाहिरको थियो । यसका लागि म तयार थिइँन । भगवानको यो अन्याय थियो । ओम शान्ति ।’

४१ वर्षिय पत्रकार सरदानालाई कुम्भ मेलामा रिपोर्टिङमा जाँदा कोरोना संक्रमण भएको उनी निकट स्रोतले जनाएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई नोएडाको मल्ट्रि–स्पेसालिटी अस्पताल भर्ना गरिएको थियो । उनको अन्तिम संस्कार कुरुक्षेत्रमा गरिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर