धनुषाका दुई सरकारी कार्यालय बन्द, महोत्तरीमा पूजापाठ गर्न नपाइने – Nepal Press

धनुषाका दुई सरकारी कार्यालय बन्द, महोत्तरीमा पूजापाठ गर्न नपाइने

जनकपुरधाम । कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढ्न थालेपछि धनुषाका दुई सरकारी कार्यालय आइतबारबाट बन्द हुने भएको छ । महोत्तरी जिल्ला प्रशासन कार्यालयले भने मठमन्दिरमा पूजापाठ र बलीमा रोक लगाएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय धनुषाले आइतबारदेखि सेवा बन्द गर्ने निर्णय गरेको हो । मालपोत कार्यालयले मुद्दाबाहेकका सबै सेवा बन्द हुने सूचना जारी गरेको छ ।

कोरोना भाइरस संक्रमणको प्रकोपबाट बँच्न आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि सेवा स्थगित गरिएको प्रमुख मालपोत अधिकृत बासुप्रसाद कोइरालाले जानकारी दिए । यता, नापी अधिकृत विन्देश्वर यादवले पनि सूचना जारी गरेर अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा प्रवाह स्थगित गरिएको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बलवा नगरपालिकास्थि कारिकस्थान, पिपरा गाउँपालिकास्थित बौधिमाई मन्दिर, सम्सी गाउँपालिकास्थित अनहेरभाटलगायतका धार्मिक स्थलहरुमा दर्शनार्थीको अत्यधिक भीड भइ कोरोना संक्रमणको जोखिम बढेकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि नित्य पूजाबाहेक अन्य पूजामा रोक लगाउने निर्णय गरेको छ ।

कोही कसैले सूचनालाई अटेर गरेको पाइएमा संक्रमण रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुने चेतावनी समेत सूचनामार्फत दिएको छ । कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिरमा नित्य पूजा बाहेक सबै पूजा र बलीमा रोक लगाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकरी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर