निर्माण उद्योगमा कोरोनाको कहर, म्याद थपको समस्या थप पेचिलो बन्ने सङ्केत – Nepal Press

निर्माण उद्योगमा कोरोनाको कहर, म्याद थपको समस्या थप पेचिलो बन्ने सङ्केत

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) का कारण गत वर्ष झै यस पटक पनि देशका विभिन्न ठाउँमा जारी निषेधाज्ञाका कारण निर्माण व्यवसायीहरूले भोग्दै आएको म्याद थपको समस्या थप पेचिलो बन्ने सङ्केत देखिएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

यसअघि नै वैज्ञानिक ढङ्गले म्याद थप नहुँदा चर्को आर्थिक मारमा परेका हजारौं निर्माण व्यवसायीहरू अहिलेको विषम अवस्थाको निषेधाज्ञाका कारण अझ समस्यामा पर्ने निश्चित देखिएको महासंघको भनाइ छ ।

तोकिएको समयमा सम्पन्न हुन नसेकका परियोजनाहरूमा व्यवहारिक रुपमा म्याद थप गरी व्यवसायीहरूलाई राहत दिन महासंघका महासचिव रोशन दाहालले विज्ञप्ती मार्फत् सम्बन्धित् सबै निकायलाई ध्यानाकर्षण गराएका छन् ।

अघिल्लो पटकको कोभिड र त्यसपछिको वर्षायाम, चाडपर्व लगायतका कारणले गर्दा व्यवसायीहरूले गत वर्ष र यस वर्ष समेत निर्माण कार्यहरु गर्ने फागुन देखि असार सम्मको मुख्य दुई सिजनहरू गुमाएको समयलाई शून्य समय  (कन्स्ट्रक्शन होलिडे) मानी हाल संचालित सम्पूर्ण निर्माण कार्यहरुको लागि एकमुष्ठ एक वर्ष निर्णय भएको मितिबाट गणना हुने गरी म्याद थप गरिनु पर्ने महासंघको माग छ ।

यसैगरी निषेधाज्ञाको अवधिमा सार्वजनिक निकायहरूले आह्वान गरी सो समयमा बोलपत्र दाखिला गर्ने समय भएका अति आवश्यक सेवा बाहेकका खरिद प्रक्रियाहरुमा निर्माण व्यवसायी सदस्यहरु एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने, बैंक ग्यारेण्टी लगायतका कागजात तयार गर्न नसकिने भएकोले यस्ता सम्पूर्ण खरिद प्रक्रिया हाललाई स्थगित गरि उक्त सबै बोलपत्रहरुको म्याद कम्तिमा १५ दिन थप गर्नका लागि महासंघले माग गरेको छ ।

कोभिडको महामारी र निषेधाज्ञासँगै निर्माण व्यवसायीहरूले पाउनु पर्ने अरबौं रुपैयाँ भुक्तानी रोकिँदा बैङ्क किस्ता, राजश्व दाखिला, आपुर्तिकर्ता तथा मजदुरहरुको भुक्तानी नहुँदा निर्माण क्षेत्र आर्थिक रुपले धरासायी भएको महासंघले जनाएको छ ।

यी विविध कारणले संचालनमा रहेका हजारौं आयोजनाहरु समेत अगाडि बढाउन नसकिने भएकाले यथाशक्य छिटो व्यवसायीहरूको रकम राज्यले भुक्तानी गर्ने वातावरण मिलाइ जटिल परिस्थितिमा समेत अर्थतन्त्रलाई चलायमान बनाइराख्न महासंघले आग्रह गरेको छ ।

हाल कोभिडको दोस्रो कहरसँगै आकाशिएको मुल्यवृद्धि, निर्माण सामाग्रीको आपूर्ति र ढुवानीमा हुने कालोबजारी, मजदुरहरूको अभाव, सरकारी निकायको समन्वयमा कमी जस्ता समस्या यस पटक दोहोरिन नदिन समयमै उपयुक्त तथा प्रभावकारी कदम चाल्न महासंघले सम्बन्धित् सबै निकाय समक्ष अनुरोध गरेको छ ।

साथै, राज्यले जारी गरेको सूचनाको अक्षरस पालना गरी कोभिडको बढ्दो सङ्क्रमण नियन्त्रणमा आ–आफ्नो ठाउँबाट पहल गर्न देशभरका तमाम व्यवसायीलाई महासंघले अपील समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर