गैरनेपालीलाई पार्टीको सदस्यता दिन कांग्रेसमा प्रस्ताव ! – Nepal Press

गैरनेपालीलाई पार्टीको सदस्यता दिन कांग्रेसमा प्रस्ताव !

काठमाडौं । भदौमा महाधिवेशन गर्ने तयारीमा होमिएको नेपाली कांग्रेसमा क्रियाशील सदस्यताबारे विवाद बढ्ने क्रममा छ । पछिल्लोपटक अन्तिमपटक भन्दै बैशाख १५ सम्म क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यालयमा बुझाउने म्याद दिइएको भएपनि हालसम्म ६० प्रतिशत काम मात्रै सकिएको छ ।

समायोजन विवादका कारण ७ वटा जिल्लामा क्रियाशील सदस्यताको काम पूर्ण प्रभावित छ । यसअघि निर्वाचन समितिले समायोजन टुंग्याएका जिल्लामा पनि विवाद बढेपछि क्रियाशील सदस्यता वितरण हुनै सकेको छैन । यस्तो अवस्थामा जति समय घर्किरहेको छ उत्ति नै कांग्रेसको विवाद चर्किरहेको छ ।

गैरनेपालीलाई सदस्यता दिन प्रस्ताव

यतिबेला कांग्रेसको क्रियाशील सदस्यता वितरणमा नयाँ विवाद थपिएको छ । कांग्रेसको विधानले व्यवस्था गरेका विदेशस्थित जनसम्पर्क समितिमार्फत गैर नेपालीलाई पनि सदस्यता दिनुपर्ने आवाज उठेपछि विवाद बढेको हो । यसबारे आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको शीर्ष बैठकले पनि निर्णय लिन सकेन ।

कांग्रेसको विधानको दफा ४ मा २ खाले सदस्यताको व्यवस्था रहेको छ । पहिलो, नेपाली कांग्रेसको सदस्यता । दोस्रो, नेपाली कांग्रेसको क्रियाशील सदस्यता । दुवै खाले सदस्यताका लागि नेपालको नागरिक हुनुपर्ने प्रावधान कांग्रेस विधानमै स्पष्ट उल्लेख गरिएको छ । यद्यपि जनसम्पर्क समितिमा रहेका अधिकांशले नेपाली नागरिकता त्याग गरिसकेको अवस्था छ ।

नेपालको नागरिकता त्याग गरेर गैरनेपाली भइसकेकाहरुलाई पार्टीमा सदस्यता र नेतृत्वको अवसर दिनुपर्ने प्रस्ताव कांग्रेस संस्थापन पक्षले गर्दै आएको छ । त्यस्तो प्रस्ताव कांग्रेसको अनौपचारिक बैठकमा आउने गरेको छ ।

सभापति देउवा निकट एक नेता कांग्रेसको विधानकै व्यवस्था अनुसार लामो समयसम्म विदेशमा रहेका नेपालीलाई कांग्रेसमा आबद्ध गराइरहन खोजिएको बताए । ‘विदेशमा बसेर प्राविधिक कारणले नागरिकता सरहको कागजात बनाएको भए पनि नेपाली कांग्रेसमा आबद्ध हुन चाहने गैरआवासीय नेपालीलाई अवरोध गर्न उपयुक्त नहुने भएकोले छुट्टै व्यवस्था गर्न भनिएको हो,’ ती नेताले नेपाल प्रेससँग भने ।

कांग्रेस विधानको दफा १२ विदेशमा रहेका नेपालीले सदस्यता पाउने व्यवस्था रहेको छ । सो दफाको उपदफा छ मा “जनसम्पर्क समितिको सदस्यता सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुने” उल्लेख छ । यही व्यवस्थाको आधारमा केन्द्रीय समितिबाट तोकेर गैरआवासीय नेपालीलाई मताधिकार सहितको छुट्टै जनसम्पर्क समिति सदस्यता दिनुपर्ने प्रस्ताव सभापति देउवा पक्षको छ । सो प्रस्तावमा इत्तर पक्ष भने सहमत छैन ।

कांग्रेस नेता अर्जुननरसिंह केसी नेपालको संविधानले नै गैरनेपालीले नेपाली पार्टीको सदस्यता लिन नपाउने व्यवस्था रहेकोले कांग्रेसको निर्णय संविधानबमोजिम हुनुपर्ने बताउँछन् । ‘हाम्रो आफ्नै विधानमा भएका प्रष्ट व्यवस्था र संविधान प्रतिकुल हुनेगरी नेपालको नागरिकता त्यागेकालाई पार्टीको सदस्यता दिने कुरामा सहमत हुन सकिदैन’, केसीले भने । उनले महाधिवेशनका लागि समय अभाव भएको बेला संस्थापन पक्षले नै यस्ता प्रस्ताव ल्याएर विवाद बढाउनु उपयुक्त नहुने बताए ।

हाल विश्वका विभिन्न देशमा कांग्रेसले जनसम्पर्क समिति विस्तार गरेको छ । जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुले कांग्रेसको नेतृत्व चयनमा मताधिकार पाउने भएकाले यसबारे नेतृत्व तहमा विवाद बढेको हो ।

अझै ४ लाख सदस्यता टुंगिन बाँकी

नेपाली कांग्रेसले यसअघि नै क्रियाशील सदस्य संख्या १० लाख पुर्‍याउने घोषणा गरिसकेको छ । क्रियाशील सदस्यता बुझाउने मिति घर्किनै लाग्दा अहिलेसम्म ६ लाख ६२ हजार २ सय २७ जना सदस्यको सूची मात्रै कांग्रेस कार्यालयमा आइपुगेको छ ।

केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य जीवन परियार अहिलेसम्म ३ लाख २३ हजार २० जना नयाँ क्रियाशील सदस्यको सूची केन्द्रमा आइपुगेको बताउँछन् । परियारका अनुसार केन्द्रीय कार्यालयमा सूचीकृत नवीकरण भएका क्रियाशील सदस्यहरुको संख्या ३ लाख ३९ हजार २ सय ७ रहेको छ । अझै ४ लाख क्रियाशील सदस्यताको विवरण टुंगिन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर