ओलीको राजनीतिक प्रतिवेदन : प्रचण्डको अवसरवाद र माधवको कुण्ठाले नेकपा सकियो (पूर्णपाठ) – Nepal Press

ओलीको राजनीतिक प्रतिवेदन : प्रचण्डको अवसरवाद र माधवको कुण्ठाले नेकपा सकियो (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलापछि पनि पार्टी एक बनाउन तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको दावी गरेका छन् । तर, प्रचण्ड त्यसमा इमान्दार नबन्दा त्यो सम्भवना पनि टरेको उनको भनाइ छ ।

‘हाम्रो पार्टीको तर्फबाट प्रचण्डलाई यस सम्बन्धमा छलफल गर्न आग्रह पनि गरिएको थियो,’ एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको सोमबार बसेको पहिलो बैठकमा ओलीले पेस गरेको प्रतिवदेनमा भनिएको छ, ‘तर निर्धारित समयसीमाभित्र नेकपा एमाको रबैया र त्यसका कृयाकलापका कारणले पार्टी एकीकरणको सम्भावना रहेन ।’

अदालतको फैसलाबाट तीन वर्षदेखि जारी एकीकृत पार्टी निर्माणको एउटा प्रयास बीचैमा टुंगिएको उल्लेख गर्दै ओलीले त्यसअघि नै पार्टीमा समस्या उत्पन्न भइसकेको दावी प्रतिवेदनमा गरेका छन् ।

‘अदालतको फैसलाबाट तीन वर्षदेखि जारी एकीकृत पार्टी निर्माणको एउटा प्रयास बीचैमा टुंगिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अदालतले फैसलाभन्दा अगाडिदेखि नै गम्भीर संकट उत्पन्न भएर अधुरै रहेको एकीकरण प्रक्रियालाई अदालतको फैसलाले कानुनी हिसाबले अन्त्य गरिदिएको छ ।’

नेकपा निर्माण र यसको अन्त्यबारे समीक्षा गर्दै प्रतिवेदनमा ओलीले प्रचण्डको अवसरवादी र अस्थिर भूमिकाको कारण त्यो एकता असफल भएको आरोप लगाएका छन् ।

‘पछाडि फर्केर हेर्दा एउटा असल उद्देश्य र मनशायका साथ सुरु गरिएको पार्टी एकीकरण मूलतः सके कब्जा गर्ने नभए पार्टी विभाजन गर्ने प्रचण्डको अवसरवादी, विखण्डनकारी र अस्थिर भूमिकाका कारण असफल हुन पुगेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।

ओलीले माधव नेपाल लगायतका नेताहरु पनि पार्टी विभाजनको कारक रहेको उल्लेख गरेका छन् ।

उनको आरोप छ, ‘माधव नेपाल लगायत नेकपा एमालेका केही नेताहरूको कुण्ठापरस्त, निहित स्वार्थप्रेरित र गुटगत क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको छ ।’

यद्यपि, प्रतिवेदनमा आगामी दिनमा पनि एकताको प्रयास जारी राख्ने भनिएको छ ।

‘पार्टीले आगामी दिनमा पनि सबै पक्षसँग संवाद र छलफल गर्दै कम्युनिष्ट आन्दोलनलाई उचित एवं सही वैचारिक तथा संठनात्मक आधारमा एकताबद्ध बनाउने प्रयास निरन्तर जारी राख्नेछ,’ प्रतिवेदनमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर