संसद अधिवेशन अन्त्य गर्नु सरकारको कायरता : कांग्रेस नेता सिंह – Nepal Press

संसद अधिवेशन अन्त्य गर्नु सरकारको कायरता : कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसद अधिवेशन अन्त्य गरेर सरकारले कायरता प्रदर्शन गरेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन काठमाडौं शाखाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नेता सिंहले जनताको निर्वाचित थलोसँग डराएर सरकारले बारम्बार संसदमाथि प्रहार गरेको बताएका हुन् ।

‘यो सरकार अधिनायकवादी हो । पुस ५ मा संसद विघटनको अवैधानिक कदम चाल्ने सरकारले संसद पुनःस्थापनापछि पनि संसद असफल बनाउन अनेक हर्कत गरेको छ । संसद अधिवेशनको अन्त्य गरेर सरकारले बहादूरी होइन कायरता देखायो’, सिंहले भने । उनले सरकारविरुद्ध उचित समयमै उपयुक्त कदम चाल्न दलहरु चुक्न नहुने बताए ।

केपी शर्मा ओली नेतृत्वको सरकारको तत्काल विकल्प खोज्नुपर्ने भन्दै उनले संसदमा कांग्रेसको संख्या नपुगे अरु दलसंग मिलेर पुर्‍याउनुपर्ने बताए । ‘संख्या पुगेन भनेर राजनीतिमा सुख पाइदैन । सरकार ढाल्न कांग्रेसले संसदका अन्य दलहरुसंग सहकार्य गर्नुपर्छ’, सिंहले भने । उनले संसदको पूर्वनिर्धारित बैठक समेत नबस्दै अधिवेशन अन्त्य गरिनुले सरकारमाथि शंका उब्जिएको बताए ।

कार्यक्रममा कांग्रेस नेता उदयशमशेर राणाले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेकोमा पत्रकार महासंघको निर्वाचन परिणाले उपयुक्त जवाफ दिएको बताए । उनले सरकार अलोकतान्त्रिक बन्दै गएकोले विकल्प खोज्न कांग्रेसले अग्रसरता लिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघको नवनिर्वाचित केन्द्रीय समिति, उपत्यका प्रदेश समिति र जिल्ला समितिका पदाधिकारी एवं सदस्यहरुलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर