कर्णालीमा लेनदेन : डेढ सातामै मन्त्री पदमा फर्किए बुढा, ज्वालाले भाग पाएनन् – Nepal Press

कर्णालीमा लेनदेन : डेढ सातामै मन्त्री पदमा फर्किए बुढा, ज्वालाले भाग पाएनन्

सुर्खेत । कर्णाली प्रदेश सभामा एमालेका ४ सांसदले फ्लोर क्रस गरेर मतदान गरेपछि मुख्यन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगियो । त्यसलगत्तै यी सांसदहरुसँग कुनै भित्री लेनदेन गरिएको हुन सक्ने चर्चा व्याप्त थियो, जुन आज सत्य सावित भएको छ ।

आफूलाई जोगाउने सांसदहरुलाई पुरस्कृत गर्न मुख्यमन्त्री शाहीले कत्ति पनि ढिलाइ गरेनन् । प्रदेशसभाबाट विश्वासको मत लिएको भोलीपल्टै उनले फ्लोर क्रस गर्ने चारमध्ये तीन एमाले सांसदलाई मन्त्री पद पुरस्कार दिएका छन् । तर, यो ‘पुरस्कार वितरण’ मा एक सांसद प्रकाश ज्वालालाई भने छुटाइएको छ । उनलाई अर्को कुनै प्रलोभन दिइएको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

यसअघि सरकारमा रहेका ज्वालासहित एमालेका अन्य दुई मन्त्री दल रावल र नन्दसिंह बुढाले डेढ साताअघि राजीनामा दिएका थिए । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै उनीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएपछि उनीहरुले राजीनामा बुझाएका थिए । उनीहरुमध्ये दल रावलले हिजो एमालेको ह्वीप मान्दै सरकारको विपक्षमा मतदान गरे । ज्वाला र नन्दसिंह बुढाले भने फ्लोर क्रस गर्दै सरकारलाई विश्वासको मत हालेका हुन् ।

राजीनामा दिएको डेढ सातामै नन्दसिंह बुढा फेरि मन्त्री बनेका छन् । यद्यपि, उनको मन्त्रालय फेरिएको छ । उनले यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट राजीनामा दिएका थिए । अहिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मा दिइएको छ ।
बुढाले पहिले सम्हालेको मन्त्रालयमा फ्लोर क्रस गरेका अर्का एमाले सांसद कुर्मराज शाहीलाई मुख्यमन्त्रीले नियुक्ति दिएका छन् ।

२०७४ साल फागुन ६ गते कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पहिलोपटक मन्त्रीपरिषद गठन गरेका थिए । सो समयमा नेकपा एमालेका भागमा चार मन्त्रालय परेका थिए भने माओवादीका भागमा मुख्यमन्त्रीसहित तीन मन्त्रालय परेका थिए ।

एमालेको भागमा परेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सुर्खेतबाट निर्वाचित सांसद खड्क खत्री चयन भएका थिए । उनी मन्त्री भएको एक वर्षपछि बैकिङ कसुर आरोप लागेको भन्दै मिडियामा व्यापक आलोचना भएपश्चात उनलाई मुख्यमन्त्री शाहीले बर्खास्त गरे । डेढ वर्षदेखि शाही आफैले हेर्दै आएको सो मन्त्रालयमा आज दैलेखका अम्मरबहादुर भित्रिएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयबाट राजीनामा दिएका ज्वालाको स्थानमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी छिन् । उनले सामाजिक विकास मन्त्रालय पनि सम्हालिरहेकी छिन् । सामाजिक विकास मन्त्रालयमा एमालेका दल रावल थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर