‘गोइत पनि वार्तामा आउनुको विकल्प छैन’ – Nepal Press

‘गोइत पनि वार्तामा आउनुको विकल्प छैन’

आइतबार लहानस्थित मालपोत कार्यालयमा जयकृष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले बम विस्फोट गराउनुअघि मोर्चाका पोलिटब्यूरो सदस्य अर्थात् गोइतका विश्वासिलो नेताका रुपमा चिनिएका रामविलास यादवले जिल्ला प्रशासन कार्यालय सिरहामा आत्मसमर्पण गरेका थिए । उनले गोइतको विचारमा असहमत भएर आत्मसमर्पण गरेको बताएका छन् । आत्मसमर्पणपछि नेपाल प्रेसका लागि सन्तोष यादवले उनीसित गरेको संक्षिप्त कुराकानीः

किन आत्मसमर्पण गर्नुभयो ?

आत्मसमर्पण भन्दा पनि मैले सेफ ल्याण्डिङ गरेको हो । भूमिगत रहेर मात्र क्रान्ति सफल हुँदैन । कुनै पनि मुद्दाको निराकरण वार्ताको माध्यमले नै हुन्छ । जस्तो कि, विगतमा जनयुद्ध लडेका माओवादीको मुद्दा वार्ताबाटै समाधान भयो ।

त्यतिबेला म पनि करिब २० वर्ष भूमिगत रहें । तन्नेरी अवस्थामा भूमिगत भएँ, अहिले त कपाल पनि सेतो भयो । जीवनभर भूमिगत नै रहे पनि अन्त्यमा वार्ताबाटै समाधान निस्कने रहेछ । त्यस्तै पारिवारिक समस्या पनि ठूलो भयो । जसकारण म सार्वजनिक भएँ ।

संघीय सरकारका कानूनमन्त्री लीलानाथ श्रेष्ठको सहयोगमा तपाईंले आत्मसमर्पण गर्नु भयो । उहाँसँग कसरी सम्पर्क भयो ?

सम्पर्क त लीलानाथ श्रेष्ठ मात्र होइनन्, पहिलाको वार्ता टोली सदस्य सुरेशआले मगर हुनुहुन्थ्यो । उहाँसँग पनि पहिलेदेखि नै कुरा भइरहेको थियो । समयले साथ नदिएर मात्र ढिलो सार्वजनिक भएँ । सरकारका प्रतिनिधि समेत भएका कारणले लीलानाथ श्रेष्ठजीको बढी भूमिका रह्यो ।

सरकारले तपाईंमाथि प्रहरीमा दर्ता रहेको मुद्दा खारेज गर्छ ? यस विषयमा मन्त्रीसँग कुरा भएको छ ?

अँ, खारेज गर्छ । विप्लव जीहरुको मुद्दा फिर्ता भइरहेको छ । ममाथि रहेको दुई/तीन वटा मुद्दा पनि सँगै खारेज गर्ने आश्वासन दिनुभएको छ । वार्ता औपचारिक रुपमा नभए पनि इन्टरनल रुपमा कुराहरु भएको छ ।

स्वतन्त्र तराईकाे मुद्दा बोकेर भूमिगत हुनुभएको थियो । अब त्यो मुद्दा छाड्नुभो ?

शान्तिपूर्ण राजनीतिमा आएपछि संविधानलाई मान्न पर्छ । संविधानलाई समर्थन गरेरै पनि संघर्ष गर्न सकिन्छ । शान्तिपूर्ण राजनीतिमा आउनु भनेको मुद्दा छाड्नु होइन ।

अब कसरी अगाडी बढ्नुहुन्छ ? राजनीति छाड्नुहुन्छ कि ?

राजनीति त छाड्न सकिँदैन । अहिलेका पार्टीहरुले हाम्रो मुद्दा सम्बोधन गर्छ भन्ने त्यसबाटोमा पनि लाग्न सकिन्छ । छुट्टै संगठन बनाएर पनि अगाडि बढ्न सकिन्छ । यसका लागि म स्वतन्त्र छु ।

तपाई सार्वजनिक भएकै दिन मोर्चाले लहान मालपोतमा बम विस्फोट गरायो । यो संयोग मात्रै हो ?

संयोग नै हो । उहाँ (गोइत)को धारणा यहीं बाटो सही हो भनेर यस्तो गर्नुहुन्छ । त्यसमा पनि मेरो असहमती थियो, त्यसकारणले पनि मैले मोर्चा छाडे ।

गोइतले वार्ता गर्न चाह्नुहुन्न कि सरकारले वास्ता नगरेको हो ?

त्यो कुरा मलाई थाहा भएन । राजनीतिक पार्टी भएपछि वार्ता त गर्नुपर्छ नै । तर उहाँका जुन डिमान्ड छन्, त्यसलाई संविधानले र सरकारले स्वीकार्दैन । त्यसैले उहाँ वार्तामा आउनुहुन्छ जस्तो लाग्दैन ।

भूमिगत आन्दोलनबाट तराई स्वतन्त्र गराउन सम्भव छ ?

सम्भव वा असम्भव त यहाँको जनतामा निर्भर पर्छ । सबै जनताले चाह्यो भने सम्भव पनि हुनसक्छ ।

मोर्चाले राजनीतिक भन्दा पनि अपराधिक गतिविधि बढी गरेको आरोप छ नि, हो त ?

विगतमा जनयुद्ध लड्दा माओवादीलाई पनि त सरकारले अपराधी नै भन्थ्यो । राजनीति हो । राजनीतिमा जसको पल्लाभारी हुन्छ, उ अगाडि आउँछ । पछि गएर जनताको समर्थन बढी भयो भने उहाँको जीत पनि हुनसक्छ ।

तपाई सार्वजनिक हुनुअघि गोइतसँग केही कुरा भयो कि भएन ?

केहि कुरा भएन । एक वर्षदेखि उहाँसँग सम्पर्क भएको छैन । विज्ञप्ति नै जारी गरेर त होइन, तर म पहिलेदेखि नै सम्पर्कविहीन थिएँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर