इटालीले रोक्यो अष्ट्रेलिया पठाउन लागिएको खोप – Nepal Press

इटालीले रोक्यो अष्ट्रेलिया पठाउन लागिएको खोप

रोम- इटाली सरकारले कोरोनाभाइरसविरुद्धको खोपलाई अस्ट्रेलिया पठाउन रोकि दिएको छ। एस्ट्राजेनेका र अक्सफोर्डले विकास गरेको खोप आपूर्तिमा रोक लगाइएपछि व्यापक आलोचना भएको छ ।

उक्त निर्णयले गर्दा इटलीस्थित आस्ट्राजेनेकाको कम्पनीमा निर्मित २ लाख ५० हजार खोप पठाइने योजना प्रभावित भएको छ। युरोपेली सङ्घ (ईयू)को नयाँ नियम लागु गर्ने इटाली पहिलो युरोपेली देश बनेको छ।

सो नियममा कम्पनीले ईयूलाई दिने वाचा गरेअनुसार खोप उपलब्ध गराउन नसकेमा उसका उत्पादन निर्यात गर्न रोक्न सकिने प्रावधान छ। अस्ट्रेलियाले एउटा खेप आफूले पाउन नसक्दैमा खोप अभियान प्रभावित नहुने बताएको छ।

इटालीको कदममा युरोपेली आयोगको साथ रहेको छ । अस्ट्राजेनेका यो वर्षको पहिलो तीन महिनामा दिने भनि सम्झौता भएको ४० प्रतिशत खोप सदस्य राष्ट्रलाई उपलब्ध गराउने चरणमा छ।

उसले उत्पादनमा आएको समस्यालाई ढिलाइको कारण बताएको छ। जनवरी महिनामा इटालीका तत्कालीन प्रधानमन्त्रीले आस्ट्राजेनेका र फाइजर दुवैले खोप आपूर्तिमा गरेको ढिलाइ अस्वीकार्य भएको बताउँदै कम्पनीहरूमाथि करार उल्लङ्घन गरेको आरोप लगाएका थिए।

खोप अभियानको सुस्त गतिलाई लिएर ईयूको पक आलोचना भइरहेको छ। गत वर्षको जुन महिनामा स्थापित ईयू खोप योजनाअन्तर्गत उसले सदस्य राष्ट्रहरूको तर्फबाट खोप खरिद गर्ने सम्झौता गरेको थियो।

अस्ट्रेलियाले गत सातादेखि फाइजर र बायोएनटेक प्रयोग गर्दै खोप अभियान सुरु गरेको छ। अस्ट्राजेनेका खोप शुक्रवारदेखि लगाउने कार्यक्रम थियो।

अस्ट्रेलियाले आफूले तीन लाख खोप प्राप्त गरिसकेको र आउँदो महिनादेखि स्थानीय रूपमै खोप उत्पादन गरिने जनाएको छ। स्वास्थ्यमन्त्रीले इटलीमा खोप रोकिएका कारण आउँदो साताको खोप वितरण योजना प्रभावित नहुने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर