विष्णु पौडेलको दाबी- माधव नेपालले नेकपा विभाजनको धन्दा चलाएका छन् – Nepal Press

विष्णु पौडेलको दाबी- माधव नेपालले नेकपा विभाजनको धन्दा चलाएका छन्

आफूले तेस्रो बनाएको पार्टीलाई केपी ओलीले पहिलो बनाएको माधवलाई सह्य भएन

बुटवल । अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णु पौडेलले पार्टी विभाजनको मूल कारक माधव नेपाल रहेको दाबी गरेका छन् । प्रायः कसैका बारेमा आक्रामक टिप्पणी नगर्ने स्वभावका महासचिव पौडेलले बिहीबार गृहनगर बुटवल पुगेर माधव नेपाल कसम खाएरै नेकपा सिध्याउन लागेको बताएका हुन् ।

केही पत्रकारहरूसँग नेकपाको पछिल्लो अवस्थाबारे विश्लेषण गर्दै पौडेलले २०५४ सालमा माधव नेपालकै कारण तत्कालीन एमाले विभाजन भएको र यसपटक पनि प्रचण्डले हिम्मत नगरेपछि माधव नेपालले पार्टी फुटाउने संकल्प गरेको बताए । पौडेलले तेस्रो स्थानको पार्टीलाई केपी ओलीले पहिलो बनाएकै दिनदेखि माधवले नेकपा विभाजनको कसम खाएको टिप्पणी गरे ।

पौडेलले पत्रकारहरूसँग बोलेका भनाइ जस्ताको त्यस्तै पढौं ।

नेकपा विभाजनको बारेमा पनि यसका अन्तरकथाहरू खोज्नका लागि पत्रकार साथीहरूले धेरै मिहिनेत गरेका छन् । म के स्पष्ट गर्न चाहन्छु भने, कमरेड माधव नेपाल जसले नेपालमा सबैभन्दा बलियो शक्तिशाली पार्टीको नेतृत्व पाउनुभएको थियो ।

उहाँ दासढुंगा हत्याकाण्डपछि तत्कालीन नेकपा एमालेको मुख्य नेताको जिम्मेवार अर्थात् महासचिवको जिम्मेवारी प्राप्त गर्दा देशको सबैभन्दा बलियो शक्तिशाली पार्टी पाउनुभएको थियो । उहाँले अविच्छिन्‍न १५ वर्ष एमालेको मुख्य नेताको जिम्मेवारीमा रहेर काम गर्नुभयो ।

उहाँले नेकपा एमालेलाई पहिलोबाट तेस्रो पार्टी बनाउनुभयो । अहिले उहाँलाई तेस्रो पार्टी पहिलो भएको मन परेको छैन । हामीले तेस्रो बनाएको पार्टीलाई केपी ओलीले पहिलो बनाउने ? म यसलाई तेस्रो चौथो पार्टी बनाइदिन्छु भन्ने मनसुवाका साथ लाग्नुभएको छ ।

नेकपा पहिलो पार्टी बनेको उहाँलाई मन नपरेर विभाजनको धन्दा गर्नुभएको छ । विभाजनकारी गतिविधि संचालन गर्नुभएको छ । तथ्यले के बताउँछ भने कमरेड माधवकुमार नेपालले आफ्नो नेतृत्वकालमा पार्टीलाई तेस्रो स्थानमा धकेल्दिनुभयो । कमरेड केपी ओलीले तेस्रो हैसियतको पार्टीलाई पहिलो हैसियतमा स्थापित गर्दिनुभयो । यो कुरा माधव नेपाललाई पचेन । यसलाई उहाँले तेस्रो, चौथो, पाँचाैं बनाउने धन्दामा लाग्नुभएको हो । उहाँ अहिले आफूलाई भेट्न आउने साथीहरुलाई बडो गर्वका साथ भन्ने गर्नुहुन्छ- ‘प्रचण्डले हिम्मत गरेका थिएनन्, खुट्टा कमाइराखेका थिए, मैले हिम्मत गरें।’

यो बीचमा विभाजनकारी जे जति गतिवधि भए प्रचण्डले हिम्मत नगरेको, मैले गरेको भन्ने ढंगले आउनुभएको छ । कमरेड माधवकुमार नेपालले राम्रा कामका लागि होइन, नेकपा बलियो बनाउन होइन,नेकपाको सरकार बलियो बनाउनका लागि होइन कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्नका लागि कथित हिम्मत गर्नुभएको कुरा छर्लङ्ग छ ।

उहाँको ट्रयाक रेकर्ड हेर्ने हो भने २०५४ सालमा उहाँले लचिलो कदम चाल्नुभएको थियो भने एमाले विभाजनबाट रोकिन्थ्यो । उहाँकै नेतृत्वमा त्यतिबेला नेकपा एमाले विभाजित भयो । अहिले फेरि दोस्रो पटक उहाँले यो आन्दोलनलाई विभाजित गर्ने कोसिस गर्नुभएको छ ।

यसरी के देखियो भने,कमरेड माधवकुमार नेपाललाई यो कम्युनिष्‍ट पार्टीले झण्डै दुई तिहाई ल्याएको पचेन । त्यसैले उहाँले विभाजनको धन्दा चलाउनुभएको छ, कसम खाएर । उहाँले आफूलाई शूरवीर ठानेर प्रचण्डले नगरेको हिम्मत मैले गरेर पार्टी फुटाएँ भनिरहनुभएको छ ।

अर्को कुरा, यो नेकपा अब के होला त भन्ने विषय छ । कुनै लुकेको कुरा होइन,माधव कमरेड, प्रचण्ड कमरेडहरू आन्दोलनलाई विभाजन गर्न संकल्पका साथ लाग्नुभएको छ । म के देख्छु भने प्रतिनिधिसभाका सांसद र पार्टीका केन्द्रीय सदस्यहरू विभाजनको लागि हस्ताक्षर गरेर आन्दोलनलाई विभाजन गर्न साथ दिन्छन् भन्ने लाग्दैन ।

नेकपा नेतृत्वको सरकार गिराएर अरु पार्टीलाई सरकारको नेतृत्व सुम्पिने त्यो गलत धन्दाको मतियार हुन्छ्न् भन्ने मलाई लाग्दैन । जहाँसम्म उहाँहरूको कोसिस के रहेको छ भने, अस्ति पुस ५ गते प्रचण्डजीलाई वैकल्पिक प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेर अविश्वास प्रस्ताव दर्ता गर्नुभयो । अहिले त्यो अविश्वास प्रस्ताव उहाँहरुले फिर्ता लिने निर्णय गर्नुभएको छ । अर्थात् प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव उहाँहरूले फिर्ता लिँदै हुनुहुन्छ ।

अब नेपाली कांग्रेस, जनता समाजवादी पार्टीका नेताहरूलाई प्रधानमन्त्री बनिदिनका लागि अनुरोध गर्दै हिंड्नुभएको छ । अँध्यारा कोठामा बसेर हाम्रो नेतृत्व गरिदिनुस्, हामीलाई अगुवाई गरिदिनुस, हामी पार्टी फुटाएर तपाईंहरूलाई सघाउन कृतसंकल्पित छौं भनेर यो धन्दामा लाग्नुभएको छ ।

मलाई विश्वास छ अधिकांश सांसदहरू यो नेकपा नेतृत्वको सरकार गिराएर कम्युनिष्‍ट इतर सरकार निर्माण गर्न उहाँहरुले चालेका कमदलाई साथ दिन तयार हुने छैनन् ।

अर्को पनि एउटा विषय छ, माधव कमरेडलाई त के लाग्दो हो भने हारेका मान्छेले नेतृत्व गर्नुपर्ने, जितेका मान्छेले पनि सरकारको नेतृत्व गर्ने हो ? यस्तो लाग्दो हो । उहाँले त २०६४ सालमा एमालेलाई तेस्रो बनाउनुभयो । आफैं हार्नुभयो । हारेपछि उहाँ संविधान निर्माण गर्ने भनेर संविधानसभामा छिर्नुभयो ।

संवैधानिक समितिको सभापति भएर छिर्नुभयो संविधान बनाउन भनेर । संवैधानिक समितिको सभापति छाडेर उहाँ प्रधानमन्त्री बन्न पुग्नुभयो । माधव कमरेडलाई लाग्दो हो प्रधानमन्त्री भन्ने पद त हारेकाले पो सम्हाल्ने हो त । केपी ओली जितेको मान्छेले होइन ।

जनताको विश्वास जितेको, पार्टी र संसदीय दलको विश्वास जितेको व्यक्ति प्रधानमन्त्री बन्ने होइन, हारेको व्यक्तिले पाउनुपर्छ भन्ने उहाँको सिद्धान्त त । त्यसैले जितेको नेतालाई प्रधानमन्त्रीबाट हटाउनका लागि उहाँ बेचैन भएर लाग्नुभएको छ ।

उहाँलाई जनताबाट अनुमोदित भएको नेताले प्रधानमन्त्री बन्नुहुँदैन भन्ने लाग्छ । सकेसम्म जनताबाट पनि हारेको,नत्र आफ्नो दलमा हारेका मान्छेले प्रधानमन्त्री हुनुपर्ने भन्ने धन्दामा उहाँ लाग्नुभएको छ ।

अहिले यो नेकपा राष्ट्रिय राजनीतिको नेता शक्ति हो । यही रहन्छ । ओलीले नेतृत्व गरेको नेकपा राष्ट्रिय राजनीतिको नेता शक्ति हो । केपी ओलीलई सरकारबाट हटाउने यस प्रकारका साजिसहरू असफल हुन्छन् । बहुसंख्यक सांसद, संसदीय दलमा मात्रै होइन कमरेड ओलीको पक्ष प्रतिनिधिसभामा पनि बहुमत छ ।

उहाँलाई हटाउन खोज्ने दाबी निरर्थक छ र असफल हुन्छ । बाँकी दुई वर्षको कार्यकाल कमरेड ओली नेतृत्वको सरकारले निरन्तरता पाउँछ यो अगाडि बढ्छ यो मेरो विश्वास हो ।

राष्ट्रिय राजनीतिको बारेमा कतिपय मान्छेहरुमा अन्याेल छ । केही मानिसहरु के भन्छन् भने अदालतबाट कसले मान्यता पाउँछ । निर्वाचन आयोगबाट कसले मान्यता पाउँछ भन्छन् । लोकतन्त्रमा कुनै पनि राजनीतिक दललाई मान्यता प्रदान गर्ने अन्तिम अधिकारी जनता हुन् ।

कुनै पनि राजनीतिक दलको हैसियत प्रदान गर्ने अन्तिम अधिकारी जनता हुन् । हाम्रो विश्वास कमरेड केपी शर्मा ओली अध्यक्ष रहनुभएको नेकपाको विश्वास के हो भने जनताले यो पार्टीलाई मुलुकको बागडोर सम्हाल्ने प्रमुख राजनीतिक पार्टी हो भनेर मान्यता प्रदान गर्नेछन् । हामी निर्वाचनमा जान चाहेका थियौं । प्रतिनिधिसभा पुनःस्थापनाले निर्वाचन केही ढिलोचाँडो भएको हो । निर्वाचनमा त मुलुक जान्छ । हामी नै जनताबाट अनुमोदित हुन्छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर