रघुजी पन्तको बचाउ गर्दै अष्टलक्ष्मी भन्छिन्- महिलाले पहिरनमा ध्यान दिनुपर्छ – Nepal Press

रघुजी पन्तको बचाउ गर्दै अष्टलक्ष्मी भन्छिन्- महिलाले पहिरनमा ध्यान दिनुपर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्षका नेता रघुजी पन्तले राष्ट्रियसभा सांसद कोमल वलीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ । तर, प्रचण्ड-माधव पक्षकी एक वरिष्ठ नेतृले भने पन्तको बचाउ गरेकी छन् ।

पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश ३ को मुख्यमन्त्री आकांक्षी अष्टलक्ष्मी शाक्यले महिलाहरूले आफ्नो पहिरनमा ध्यान नदिंदा विकृति आएको भन्दै कोमलमाथि घुमाउरो असन्तुष्टि व्यक्त गरिन् । वलीले पिंडुला देखाएर राष्ट्रिय सभाको सांसद बनको भनेर रघुजी पन्तले गर्नुभएको टिप्पणीमा तपाईंको भनाइ के छ ? भनी हामीले शाक्यलाई सोधेका थियौं ।

उनले यसरी जवाफ दिइन् :-

‘सबैको आ-आफ्नो दृष्टिकोण हुन्छ । मलाई के लाग्छ भन्दा अलिकति विकृति चाहिं आएकै हो । हाम्रो परम्परा त्यस्तो छैन । अहिले महिलाहरूमा नग्नता प्रदर्शन गर्ने खालको विकृति आएकै छ । महिला हिंसा बढेको पनि त्यही भएर हो । यसमा हामी सचेत हुनै पर्छ । आफ्नो शरीरलाई आफैंले सुरक्षा गर्ने हो । लुगाले पनि धेरै कुराहरू संरक्षित गर्छ भन्छु म ।’

शाक्यले थपिन्, ‘म व्यक्ति विशेषमा जान चाहन्न । यो आमरूपमा चिन्ताको विषय हो । व्यक्तिले के गर्‍यो भनेर यसरी जानु राम्रो हुँदैन । मलाई त्यस्तो लाग्छ । हाम्रो संस्कृति आयातित भएको छ । महिलामाथि ज्यादती बढेको पनि त्यही भएर हो । महिलाहरू पनि आधुनिक बन्ने क्रममा आफूलाई सरल हुने लुगाहरू लगाउनु राम्रो हो । १२ हातको सारीले बेर्नुपर्छ भन्ने मेरो मान्यता छैन । तर, लाउने बेलामा सभ्यता होस् । आफ्‍नो ज्यानको सुरक्षा होस् भन्ने चाहन्छु म ।

उनले कोमल वलीलाई पार्टीमा दिइएको अवसरलाई लिएर पनि असन्तुष्टि जनाइन् ।

शाक्यले भनिन्, ‘हाम्रो कम्युनिष्ट पार्टीभित्र को व्यक्ति ल्याउने, कस्तो व्यक्ति नल्याउने विधि, प्रणाली र मापदण्ड छन् । त्यो मूल्याङ्कनको आधारमा ल्याउने चलन छ । तर, यो बीचमा बिग्रियो । जोसुकै मान्छे टिप्ने काम भयो । त्यो भएकाे हुनाले धेरै कुरा विग्रियो । दु:ख गरेका, त्याग गरेका, निस्वार्थी, इमान्दार मान्छेहरू पछाडि परे भनेर हामीले भनिराखेका छौं ।

शाक्यलाई सोधियो, ‘अरु कुरा जे भए पनि महिला नेतृको अंगलाई लिएर सार्वजनिक टिप्पणी गर्नु ठीक हो र ?’

उनले उही कुरा दोहोर्‍याइन् ।

‘के शब्द प्रयोग गर्नुभयो भन्दा पनि मलाई के लाग्यो भने यही विधि बिग्रेको हुनाले त्यस्तो भन्नुभएको होला । पार्टीमा, संसदमा, केन्द्रीय कमिटिमा पनि त्यस्तै भयो । त्यही भएर मान्छेलाई अलिकति पीडा हुन्छ । अब राजनीति नबुझेको, राजनीतिमै नलागेको मान्छे चाटचुट आए क्या । कुरा यो हो । कहिले राजनीति नगर्ने मान्छेहरू ल्याउनुहुँदैन नि । अलिअलि त्यही भएर विग्रेको हो ।

जे भए पनि राजनीतिमा लागेका महिलाहरूलाई उहाँको अभिव्यक्तिले त बिझाउँछ होला नि ?

उहाँले यस्तो भन्नुभएको होला । कोमल वली गायन क्षेत्रबाट हो । एउटा लोकप्रिय गायिका पनि हो । म कोमल वलीजस्तो हुन्छु भनेर हुँदैन । तर, अलिकति भनें नि, हाम्रो पार्टीभित्र कस्तोलाई राष्ट्रियसभाको सदस्य बनाउने भन्ने छ । त्यो अलिकति मापदण्ड र आधार भत्केकै हो । यसले गर्दा पनि अलिअलि विकृति आएको हो भन्ने लाग्छ । त्यसकारण पनि यस्तो अभिव्यक्ति दिनुभएको होला ।

भनेपछि कोमल वलीलाई राष्ट्रियसभा सदस्य बनाइनु हुन्नथ्यो ?

अहिले बनिसकेपछि धेरै टिप्पणी पनि नगरौं। धेरै आधार मिचिएको छ । हाम्रै पार्टीको कमजोरी हो ।

कोमल वलीको आज राष्ट्रियसभामा योगदान छैन त ?

राष्ट्रियसभामा गइसकेपछि त भूमिका त खेल्नै पर्‍यो नि । त्यहाँ पुगिसकेपछि त्यही वजन राख्नुपर्‍यो । त्यही भूमिका खेल्न सक्नुपर्‍यो । गरेकै होला भन्ने लाग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर