संसद पुनःस्थापनाबारे विदेशी मिडियाको टिप्पणी : ओलीलाई ‘सेटब्याक’ – Nepal Press

संसद पुनःस्थापनाबारे विदेशी मिडियाको टिप्पणी : ओलीलाई ‘सेटब्याक’

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई लिएर स्वदेशी एवं विदेशी मिडियाले महत्वका साथ समाचार प्रकाशन, प्रसारण गरेका छन् ।

नेपाली छापा र अनलाइन माध्यमले प्रथम पृष्ठमा समाचारका साथै विशेष सम्पादकीय पनि प्रकाशन गरेका छन् । नेपाल, भारत, चीन र अमेरिकी संचारमाध्यमले विभिन्न शीर्षकमा समाचार प्रकाशन गरेका छन् ।

आधिकारिकरुपमा कुनै मुलुकको प्रतिक्रिया नआइरहेको बेला विदेशी मिडियाले भने सर्वोच्चको फैसला प्रधानमन्त्री केपी शर्मा ओलीका लागि ‘ठूलो सेटब्याक’ भएको लेखेका छन् ।

अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले नेपाली समाचारलाई महत्व दिँदै संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसला वर्तमान प्रधानमन्त्री ओलीका लागि ‘ठूलो सेटब्याक’ भएको लेखेको छ । फैसलापछि पनि हिमाली राष्ट्र नेपालको राजनीतिक संकट यथावत रहेको उक्त अखबारले लेखेको छ ।

एसोसिएटेड प्रेस र वासिङ्टन पोस्टले पनि हिमाली राष्ट्र नेपाल अर्को राजनीतिक संकटमा प्रवेश गरेको उल्लेख गरेका छन् । ओलीको कार्यकाल सुरु भएपछि उनी चीनसँग नजिकिएको र यसले नेपाल र भारतबीचको परम्परागत सम्बन्ध बिग्रिएको वासिङ्टन पोस्टले लेखेको छ ।

टाइम्स अफ इन्डियाले चुनावको तयारी गरिरहेका वर्तमान प्रधानमन्त्री ओलीलाई अदालतको फैसला ठूलो सेटब्याक भएको उल्लेख गरेको छ । आफ्नै पार्टीभित्रको विवादको कारण ओलीले संसद विघटन गरेको प्रसंग कोट्याउँदै टाइम्स अफ इन्डियाले बल अब प्रचण्ड-नेपालको पक्षको कोर्टमा गएको उल्लेख गरेको छ ।

द इन्डियन एक्सप्रेस, हिन्दू, रिपब्लिक, जी न्यूजको ‘स्टोरी टेलिङ’ लगभग उस्तै देखिन्छ । यी भारतीय अग्रणी संचारमाध्यमले ‘ब्लो र सेटब्याक’ शब्दको उल्लेख गर्दै समाचार लेखेका छन् । जसको अर्थ हुन्छ ‘धक्का ।’ चीनको सिन्ह्वाले संसद पुनःस्थापना हेडलाइनमा सामान्य समाचार मात्र बनाएको छ ।

केही युरोपेली, पूर्वी एसियाली मुलुकका संचारमाध्यमले पनि नेपालको समाचारलाई महत्व दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर