‘कतारी उच्च नेतृत्व नेपाल भ्रमण गर्न इच्छुक छ’ – Nepal Press
नेपाल टक

‘कतारी उच्च नेतृत्व नेपाल भ्रमण गर्न इच्छुक छ’

नेपाल–कतारको औपचारिक कूटनैतिक सम्बन्ध स्थापना भएको ४४ वर्ष पुग्दैछ । २०३३ साल माघ ८ (सन् १९७७ जनवरी २१) मा पंचायतकालीन समयमा नेपाल र कतारको कूटनैतिक सम्बन्धमा हस्ताक्षर भएको थियो । उक्त सम्बन्धले दूतावासस्तर पाउन दुई दशक बढी समय लाग्यो ।

नेपालले सन् २००० को जुलाई ११ मा कतारको राजधानी दोहामा नेपाली दूतावास स्थापना गरेको थियो । त्यसको दशक बितेपछि कतारले पनि सन् २०११ को अगस्टमा काठमाडौंमा आफ्नो दूतावास स्थापना गर्यो ।

सँधियारी छिमेकी देशहरू नभए पनि नेपाल र कतारबीच आप्रवासी कामदार, व्यापार र पर्यटनका क्षेत्रहरूमा नजिकको सम्बन्ध छ ।

नेपाल–कतार सम्बन्धका आयाम, सहकार्यका क्षेत्र, व्यापार घाटाका विकल्पदेखि कतार वल्र्डकप २०२२ हुँदै कतारको नाकाबन्दी अनुभव बारेमा नेपाल प्रेसका विराट अनुपमले कतारी राजदूत युसुफ विन मोहमद अहमेद मोहमद अल–हेइलसँग विस्तृत कुरा गरेका छन् ।

सन् १९९७ को अगस्ट २ मा कतारको परराष्ट्र मन्त्रालयमा प्रवेश गरेका राजदूत युुसुफको २४ वर्षे परराष्ट्र सेवाको पहिलो राजदूतको पोस्टिङ नेपालमै हो । यस अगाडि कतारी परराष्ट्र मन्त्रालयबाट विभिन्न जिम्मेवारीमा रहेका युसुफको दक्षिण अफ्रिका तथा कुवेतको कतारी दूतावासमा काम गरेको अनुभव समेत रहेको छ ।

कुनै बेलाका फूटबल खेलाडी र व्यापार प्रशासनमा कतार विश्वविद्यालयबाट स्नातक युसुफ नेपालमा रहेका थोरै मात्रै सार्वजनिक कूटनैतिक क्षेत्रमा सक्रिय राजदूतमा पर्छन् । २०७३ असोज ३ (सन् २०१६ सेप्टेम्बर १९)बाट नेपालस्थित कतारी राजदूत भएका उनै युसुफसँग गरिएको कुराकानीको सारः

नेपाल र कतारको कूटनैतिक सम्बन्धको ४४औं वर्ष भएको छ । योबीचमा दुई देशको सम्बन्धलाई कसरी लिनुहुन्छ ?

दुईदेशीय सम्बन्ध अत्यन्तै राम्रो छ । अन्तर्राष्ट्रिय समुदाय तथा मञ्चहरूमा हामीबीच घनिष्ट सहकार्य छ । नेपाल र कतारबीचमा केही सम्झौताहरू भएका छन् । मुख्यतः हाम्रो कृषि र खाद्य सुरक्षाका क्षेत्रमा सम्झौताहरू भएका छन् ।

हामी दुई देशबीचको दुईपक्षीय व्यापारलाई थप सुधार गर्न सक्छौं । यस अगाडि नै नेपाली कृषि उपजहरू कतारमा आपूर्ति हुँदै आएका छन् ।

हाम्रो सुरक्षा क्षेत्रमा एमओयू भएको छ । कूटनैतिक पासपोर्टधारीहरूलाई भिसा नपर्ने सम्झौता भएको छ । दोहोरो कर नहुने सम्झौता भएको छ । फूटबल संघ तथा उद्योग वाणिज्य क्षेत्रसँग पनि सम्झौता भएको छ । हामी थप सम्झौताहरू गर्ने पक्षमा छौं ।

नेपालमा तपाइँले कल्पना गरेको र भोगेकोबीच कतिको फरक पाउनुभयो ?

नेपाल अकल्पनीय सुन्दर छ । मेरो विचारमा प्राकृतिक सौन्दर्यको क्षेत्रमा नेपाल दुनियाँको सबैभन्दा सुन्दर देश हो । नेपाली नागरिक धेरै नै राम्रो पाएँ । नेपालीको इमानदारी, आतिथ्यता, हार्दिकता र पारिवारिक सम्मान धेरै राम्रो छ ।

मलाई नेपाल बसाइका क्रममा कहिल्यै पनि एक विदेशी राजदूतको महसूस भएन । आफ्नै घरमा बसेको अनुभव भयो । नेपालमा मैले गरेका विभिन्न भ्रमणहरूका प्राप्तिहरू सबै अभूतपूर्व छन् ।

तपाइँ आफैं पनि एक पूर्व फूटबल खेलाडी । कतारले सन् २०२२ मा फूटबल विश्वकप आयोजना गर्दैछ । कोभिड–१९ महामारीको सन्दर्भमा विश्वकप समयमै हुने वा नहुने के कस्तो अवस्था छ ?

म फूटबलप्रेमी हुँ । मेरो गृहनगरको एक क्लबका तर्फबाट मैले फूटबल खेलेको पनि छु । सबै कतारीहरू फूटबलप्रेमी छन् । त्यसैले फूटबल विश्वकप आयोजना गर्नु हामी सबैको लागि धेरै गज्जबको अनुभव हो ।

हामी फूटबलका विश्वस्तरीय प्रतिभा र व्यावसायिक अनुहारहरूको प्रतियोगिता आयोजक हुन पाउँदा गर्व र गौरवान्वित महसूस गर्छौं । वास्तवमै यो एक ऐतिहासिक कार्यक्रम हो । सबै तयारीहरू योजना अनुसार नै भइरहेका छन् ।

सन् २०२२ को नोभेम्बरमा हुने प्रतियोगिताको लागि जहाँसम्म कोभिड–१९ को सवाल छ; खोप, औषधि तथा आम नागरिकहरूको सचेतनाको पक्षहरू हेर्दा हामी कोभिडको असर नहुने कुरामा आशावादी छौं ।

नेपाल–कतारबीच सन् २००५ को मार्च २१ मा नेपाली श्रमिक कतार पठाउने सम्झौता भयो ।सन् २००८ को जनवरी २० मा उक्त सम्झौताको प्रोटोकल सम्झौता भएको थियो । त्यसपछि नेपालले श्रमिक पठाउने कतारले लिने भइरहेको छ । योबीचमा के–कस्ता परिवर्तन भए ?

यो परिवर्तनको सवाल हैन । यो दुई देशको बुझाइको कुरा हो । सन् २००५ को सम्झौतालाई समयसापेक्ष बनाउन दुवै देशका श्रम मन्त्रालयको तर्फबाट संयुक्त समिति बनेको छ ।

कतारले श्रम कानून अपडेट गरेको छ । काफला प्रणाली अन्त्य गरेको छ । र, नयाँ न्यूनतम तलब सुविधाको प्रणालीलाई कार्यान्वयनमा ल्याएको छ ।

कतारस्थित नेपाली दूतावासको सन् २०१८ को एक तथ्यांक अनुसार त्यो वर्ष नेपालबाट कतारमा ३ लाख ७८ हजार ६४९ अमेरिकी डलरको निर्यात भएकोमा कतारबाट भने ७९ लाख ४८ हजार ४४८ अमेरिकी डलरको आयात भएको थियो । यस्तो विशाल व्यापार घाटा आगामी वर्षहरूमा नेपालले कसरी घटाएर जान सक्छ ?

मेरा धेरै उद्देश्यमा एक उद्देश्य नै दुईदेशीय व्यापारलाई सुधार गर्ने हो । मसँग केही कृषि कम्पनीहरूको अनुभव छ । मैले उनीहरूलाई कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा सहभागी हुन प्रोत्साहन गरेको छु । यी कम्पनीहरूले कतारी बजारमा आफ्नो निर्यात जारी राखेका छन् ।

मार्केटिङ महत्वपूर्ण पक्ष हो । यो प्रदर्शनी, भ्रमण आदानप्रदानहरूबाट हुन्छ । हाम्रो उद्योग वाणिज्य संघसँगको एमओयुको आधारमा भन्छु, नेपाली मह, चिया, कफी, कार्पेट, अदुवा, लसुन, आदिलाई कतारमा सधैं स्वागत छ ।

नेपालको तर्फबाट कतारमा धेरै उच्चस्तरीय भ्रमण भएका छन् । सन् १९९८ मा तत्कालीन प्रधानमन्त्रीको रूपमा गिरिजाप्रसाद कोइरालाको भ्रमणदेखि सन् २०१८ मा राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणसम्म नेपालका तर्फबाट धेरै उच्चस्तरीय भ्रमणहरू भए । यद्यपि, कतारको तर्फबाट मन्त्रीस्तरीय भ्रमणहरू मात्रै भएका छन् । कतारका आमिरको नेपाल भ्रमण कसरी संभव होला ?

दुई देशको सम्बन्धलाई थप बलियो बनाउनलाई उच्चस्तरीय भ्रमणले थप महत्व दिने मेरो विश्वास छ । कतारीहरूले सन् १९९८ को पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भ्रमण सम्झिरहेका छन् । त्यही दिनहरूबाट नेपाल र कतारले सच्चा आस्था र सही सम्बन्ध शुरू गरेका हुन् ।

त्यसपछि नै हो नेपालीहरू कतार गएर काम गर्न शुरू गरेको । कतारको निर्माणमा वास्तवमै धेरै कठोर मिहिनेत नेपालीहरूले गरेका छन् । पछिल्लो समयमा राष्ट्रपति विद्यादेवी भण्डारीले कतार भ्रमण गर्नुभयो । भ्रमणले नेपाल र कतारको सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान गर्यो ।

अहिले नेपाल र कतारको धेरै राम्रो सम्बन्ध छ । कतारी उच्च नेतृत्व नेपाल भ्रमण गर्न इच्छुक छ । महामहिम आमिर नेपालीलाई धेरै सम्मान गर्नुहुन्छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन प्रतिबद्ध हुनुहुन्छ । जहाँसम्म उच्चस्तरीय भ्रमणको सवाल छ, यस बारेमा निकट भविष्यमा दुई देशले गरेको तयारीको आधारमा निर्धारण हुनेछ ।

आफ्ना छिमेकीहरूको साढे तीन वर्ष लामो नाकाबन्दीबाट कतारले छुटकारा पाएको छ । नाकाबन्दीले कतारलाई के पाठ सिकायो ? नेपालले कतारी अनुभवबाट के सिक्न सक्छ ?

कतारले खाडीका मित्रवत् राष्ट्रहरूबीचको संवाद र समाधानमा सबै हौसला दिएको छ । हामी शायद अरेबियासँग गरेको अलउला सम्झौतामा प्रतिबद्ध छौं र यो सम्झौता संभव बनाउन पहल गर्ने सबैको सम्मान गर्छाै‍ ।

खाडी राष्ट्रहरूसँगको सहकार्य कतारले धेरै प्राथमिकतामा राखेको छ । हामी यही क्षेत्रका हौं । यहाँका ६ देश एक ठूलो परिवार जस्तै हो । त्यसैले सहकार्यात्मक सम्बन्ध र खुला सिमाना धेरै महत्वपूर्ण छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर