भीम रावल भन्छन्- एमालेको गोदावरी सम्मेलनमा ममाथि निषेध र प्रतिशोध साँधियो – Nepal Press

भीम रावल भन्छन्- एमालेको गोदावरी सम्मेलनमा ममाथि निषेध र प्रतिशोध साँधियो

‘सार्वजनिक सूचनाका आधारमा प्रतिनिधि परिषद् बैठकमा जान खोज्दा परिचयपत्र दिइएन, त्यहाँ गएको भए ढोकाबाट बाहिर निकालेर दुनियाँलाई देखाउने योजना थियो कि ?’

काठमाडौं । नेकपा एमालेको प्रथम महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा आफूमाथि निषेध र प्रतिशोधको नीति लिइएको भन्दै पूर्वउपाध्यक्ष तथा अध्यक्षका प्रतिस्पर्धी नेता भीम रावलले दुःख व्यक्त गरेका छन् ।

गोदावरीमा जारी परिषद् बैठकमा आउन निम्ता नपठाए पनि सार्वजनिक सूचनाका आधारमा सहभागी हुन खोज्दा प्रतिनिधि कार्ड नबनेको भनी आफ्ना प्रतिनिधिलाई खाली हात पठाइएको रावलले बताए ।

उनले आफूमाथि महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गरेकै कारण निषेध र प्रतिशोधको व्यवहार गरिएको बताए । नेपाल प्रेससँग कुरा गर्दै रावलले आफू गोदावरी गएको भए सम्मेलन हलको ढोकाबाट बाहिर निकालेर दुनियाँलाई देखाउने नियत थियो कि भन्ने शंकासमेत लागेको बताए ।

रावलका प्रतिनिधि उनको कार्ड लिन जाँदा बनेको छैन भन्दै फर्काइएपछि एमाले पंक्तिमा समेत खैलाबैला मच्चिएको छ । रावल एमालेको पदेन सल्लाहकार भएकाले स्वतः महाधिवेशन प्रतिनिधि परिषद् सदस्य हुन् ।

रावलले नेपाल प्रेससँग भने–

महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बस्ने भन्ने कुरा मैले सार्वजनिक सूचनाबाट पाएँ । मलाई बेग्लै पत्र वा आउनू भनेर त कसैले पनि जानकारी गराएनन् । तर, सबैलाई जस्तै मलाई पनि मोबाइलमा सूचना आएको थियो । केपी ओली वा अरु कुनै नेता भए त्यो सूचनाको भरमा जानुहुन्थ्यो होला त ?

तर पनि मैले जानुपर्ला भनेर बस्ने व्यवस्था के छ बुझ्न भनेर पठाएँ । पहिले जस्तै बस्ने कुर्सीसमेत नहोला, अप्रिय दृश्य आउला भनेर मैले के रहेछ भनेर बुझ्न पठाएँ । तर, त्यहाँ त मेरो नाममा कार्डसमेत बनेको रहेनछ र कार्डविना भित्र पस्न पाइँदैन भनेपछि मलाई अचम्म लाग्यो । मेरो नाममा परिचयपत्र समेत नबन्नु भनेको मलाई निषेध गर्ने, नीति हो । अध्यक्ष पदमा लडेको प्रतिशोधको ज्वाला निभेको रहेनछ भन्ने लाग्यो । मेरो कार्ड खोइ भनेर सोध्ने वा याचना गर्ने कुरा पनि भएन । जाने सोच थियो । तर, म जान पाइनँ ।

तपाईं एमालेको सम्पर्कमै नभएको भएर हो कि ?

त्यस्तो सोच भए म एमालेमा किन बस्थें ? म जानकारीमा नरहने मान्छे हुँ र ? जोसँग वार्ता गर्न पार्टीले वार्ता समितिसमेत बनाएको छ । स्वयं पार्टी अध्यक्षले मसँग वार्ता गर्नुभएको छ ।

नवौं महाधिवेशनमा उपाध्यक्षमा सबैभन्दा बढी मत ल्याएको र दशौंमा अध्यक्षमा प्रतिस्पर्धा गरेको व्यक्ति सम्पर्कमा नभएको भन्न मिल्छ ? यो त जानीबुझी निषेध गरिएको हो । प्रतिशोध र निषेधको मिश्रण गरिएको भन्ने मलाई लागेको छ । म झुक्किएर त्यहाँ पुगेको भए ढोकाबाट बाहिर निकाल्ने र दुनियाँलाई देखाउने चाहना थियो कि भन्ने लागेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा हो कि अन्य केही कारण होला ?

यो त मैले जान्ने कुरा भएन । केपी ओलीले हो भन्दा म पूर्वाग्रही देखिन सक्छु । नेतृत्वले कसले कसलाई निर्देशन दियो भन्ने कुरा अनुमान गर्न उचित नहोला । तर, म जानकारी नआउने मान्छे चाहिँ कदापि होइन ।

पार्टी छाड्नुभएको पनि छैन । तर, तपाईं पार्टीका कुनै मञ्चमा जान पनि पाउनुभएको छैन । अबको गन्तव्य के त ?

म नेकपा एमालेको नीति, सिद्धान्त र विचारको वकालत गर्ने मान्छे हुँ । ५० वर्षदेखि यो पार्टीको निर्माणमा क्रियाशील छु । अहिले जे भयो, यो जनताको बहुदलीय जनवादी सिद्धान्तको विपरीत छ । जबज भनेको त आन्तरिक प्रतिस्पर्धामा जिल्लादेखि केन्द्रसम्म, महाधिवेशनसम्म चुन्ने चुनिने अधिकार हो । निष्पक्ष रुपमा आन्तरिक प्रतिस्पर्धामा भाग लिने प्रत्येक सदस्यको कदर हुनुपर्छ ।

जननेता मदन भण्डारीको भनाइ नै छ, पार्टी चलाउन नेताले कार्यकर्ताबाट अनुमोदित हुनुपर्छ, देश चलाउन नेता जनताबाट अनुमोदित हुनुपर्छ । म पार्टीको यही सिद्धान्तको पक्षमा रहेर महाधिवेशनमा उभिएको हुँ । तर, यही मान्यताको पक्षमा बोलेका कारण निषेधको भावनाले पार्टीको उन्नति हुँदैन । यस्तो काम गर्नु भनेको कदापि पार्टी, देश र कार्यकर्ताको भावनाविपरीत छ ।


प्रतिक्रिया

4 thoughts on “भीम रावल भन्छन्- एमालेको गोदावरी सम्मेलनमा ममाथि निषेध र प्रतिशोध साँधियो

  1. पार्टीको काममा लाग्नु छैन । पार्टी र नेताको विरोध गर्दै हिडने । अनि अहिले पास चाहियो किन ? यो दिल्लीको दलाल हो भन्ने कुरामा म चाहिँ शत्प्रतिशत विश्वस्त छु । छानबिन गरौै पत्ता लाग्छ । यो ढोंगी राष्ट्रवादी हो। यसलाई यसरी नै सिध्याईदिनुपर्छ ।ओलिले यसलाई ठिक पारेको मनलाई खुब मन पर्छ ।

  2. कमरेड हुति भए एमाले छोडेर माधव नेपाल सँग जानु पर्ने कित एमाले मा सम्मान जनक रुपमा बस्नु पर्ने
    दुक्ख लाग्छ तपाईको राजनीति ओरालो लागेको देख्दा
    तपाईको आदर्श तपाईको सोच र विचार तपाई सँग छ अरु लाई के फरक पर्छ र

  3. क. रावलले रोजेको बाटो नै यहि हो । यतिका अपमानित भएर एमालेमै टासिइरहनुको परिणाम पनि हो यो ।

  4. माधव नेपाल, भीमबहादुर रावल र घनश्याम भुसालहरू नियोजित रूपमा एमाले कमजोर बनाउन लागि परेका पात्रहरू रहेछन्। नेपालले २०७८ मा, भुसालले २०७९ मा त रावलले २०७८ देखि नियमित रूपमा एमालेलाई डस्न छोडेका छैनन्। यस्ता पात्रहरूका कारणले गर्दा #जबज ले जनताको पक्षमा जनादेश प्रयोग गर्न पाएन/सकेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर