पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि सेनाका राजन रोकायालाई – Nepal Press

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि सेनाका राजन रोकायालाई

पोखरा । नेपाली सेनाका राजन रोकायाले १५औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जितेका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा आज पोखरामा सम्पन्न म्याराथनमा रोकायाले दुई घण्टा २८ मिनेट ५६ सेकेण्डमा निर्धारित ४२ किमी दूरी पूरा गरी उपाधिसहित नगद दुई लाख रूपैयाँ तथा ट्रफी प्राप्त गरे । यसैगरी द्वितीय र तृतीय स्थानको उपाधिसमेत सेनाकै धावकहरुले प्राप्त गरे ।

सेनाका ज्ञानप्रसाद भट्टराईले दुई घण्टा ३३ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी एक लाख रूपैयाँ पुरस्कार जिते भने देवीराज बस्नेतले दुई घण्टा ४२ मिनेट ३३ सेकेण्डमा म्यारथनको निर्धारित दूरी पार गरी तृतीय स्थान हासिल गर्दै ७५ हजार रूपैयाँ प्राप्त गरेकाछन् ।

पाँचथरका प्रदीप तामाङले दुई घण्टा ५४ मिनेट आठ सेकेण्डमा दूरी पार गरी सान्त्वना स्थानसहित २५ हजार रूपैयाँ पुरस्कार तथा ट्रफी प्राप्त गरे ।

यस वर्ष पहिलोपटक पोखरा म्याराथनमा महिलाका लागि २१ किमीको हाफ म्याराथन समावेश गरिएको थियो । महिला हाफ म्याराथनमा नेपाल प्रहरीकी राजपुरा पछाईँ प्रथम भइन् । उनले निर्धारित दूरी एक घण्टा २७ मिनेट आठ सेकेण्डमा पूरा गर्दै एक लाख रूपैयाँ र ट्रफी प्राप्त गरेकी छिन् ।

यसैगरी जुम्लाका राममाया बुढाले एक घण्टा ३० मिनेट पाँच सेकेण्डमा दौड पूरा गरी द्वितीय हुँदै ७५ हजार रूपैयाँ प्राप्त गरेकी छन् । सशस्त्र प्रहरी बलकी ब्रिन्दा श्रेष्ठले एक घण्टा ३१ मिनेट दुई सेकेण्डमा निर्धारित दूरी पार गरी तृतीय स्थान हासिल गरिन् । उनले ५० हजार पुरस्कार प्राप्त गरेकी छन् ।

नेपाल प्रहरीकी रेखा विष्टले एक घण्टा ३६ मिनेट दुई सेकेण्डमा हाफ म्याराथन पूरा गरी सान्त्वना स्वरूप १५ हजार पुरस्कार प्राप्त गरिन् । पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन बजार विभिन्न क्षेत्र पुगेर रङ्गशालामा आएर समापन गरिएको थियो । पुरुष म्याराथनमा २०९ र महिलातर्फ हाफ म्याराथननमा २९ जनाले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

विगतका संस्करणमा विदेशी धावकहरुले प्रतियोगितामा सहभागिता जनाउने गरेकामा यस वर्ष कोरोना कारणले विदेशीको सहभागिता थिएन । गत संस्करणको उपाधि जापानका खेलाडीले जितेका थिए ।

विगतका संस्करणमा म्याराथनसहितका अन्य विधाहरु एकै दिन सञ्चालन हुने भएकोमा यो वर्ष कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गरी अन्य इभेन्टहरूलाई फरक-फरक मितिमा आयोजना गरिएको मञ्चले जनाएको छ । जस अन्तर्गत ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहीन दौड फागुन २२ गते हुनेछ ।

१० किमी महिला/पुरुष दौड आगामी चैत १४ गते र पाँच किमी छात्र/छात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले जनाएको छ । दश किमी महिला/पुरुष दौडमा विजेताले १५ हजार तथा द्वितीय र तृतीयले क्रमश १० हजार र पाँच हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

ह्लिचियर र द‍ृष्टिविहीनतर्फका दुवै इभेन्टमा विजेताले सात हजार, द्वितीयले पाँच हजार र तृतीयले तीन हजार रूपैयाँ पुरस्कार पाउनेछन् । यसैगरी छात्र/छात्रा दौडमा प्रथमले १० हजार, द्वितीयले सात हजार र तृतीय हुनेले चार हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर