कम्युनिष्ट सभामा धर्मका कुरा : राजनीतिक विवादमा भगवानलाई मुछ्दै – Nepal Press

कम्युनिष्ट सभामा धर्मका कुरा : राजनीतिक विवादमा भगवानलाई मुछ्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहले आज आयोजना गरेको आमसभामा बोल्ने नेताहरुले नेपाली हिन्दूहरुका आराध्यदेव पशुपतिनाथको बारम्बार नाम लिए । तर श्रद्धाले होइन ।

प्रधानमन्त्री तथा इतर समूहका अध्यक्ष केपी ओलीको आलोचना गर्ने क्रममा उनीहरुले पशुपतिनाथलाई मुछ्न पुगे । ओलीले केही दिनअघि पशुपतिनाथ मन्दिरमा पुगेर पूजा आराधना गरेका थिए । धर्मनिरपेक्ष देशका प्रधानमन्त्रीले हिन्दू धर्मप्रति आसक्ति देखाएको भनेर प्रचण्ड–नेपाल खेमा आक्रोशित छ ।

आजको सभामा शीर्ष नेताहरुले ओलीको आलोचना गर्ने साझा विषय यही बनाएका थिए । ओलीले पशुपतिनाथमा पूजापाठ गरेकोदेखि चितवनमा राममन्दिर बनाउने तयारी गरेको विषयलाई लिएर उनीहरु खनिए ।

सभालाई अन्तिममा सम्बोधन गरेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवित मान्छे नै आफूहरुका लागि भगवान हुने बताए । उनले भने, ‘हाम्रो भगवान जीवित मान्छे नेपाली जनता हुन् । हामी तपाईंहरूको शरणमा छौं । जनताको धार्मिक आस्थाप्रति हाम्रो सम्मान छ । सबै धर्म, सम्प्रदाय र त्यसप्रति आस्था गर्ने जनताप्रति हाम्रो सम्मान छ ।’

त्यसपछि उनी चितवनमा राम मन्दिर बनाउन चासो नदिएको भन्ने ओलीको भनाइको खण्डनतिर लागे । चितवनमै राम मन्दिर र  अयोध्या भएको पुरातात्विक अन्वेषणबाट प्रमाणित गरे सबैभन्दा खुसी आफू हुने उनले बताए ।

‘केपीजीले अस्ति एउटा सभामा भन्नुभयो, मैले राम मन्दिर बनाउने भनेको छु, मैले अयोध्या बनाउने भनेको छु, यो प्रचण्ड बोल्दै बोल्दैन । चितवनको मेरै निर्वाचन क्षेत्रमा उहाँले राम मन्दिर बनाउने भन्ने छ । र, मन्दिरको एउटा मूर्ति यहाँ बनाई पनि सक्नुभयो रे । तपाईंजस्तो ठग, तपाईंको नाटक ।’

प्रचण्डले थपे, ‘यो तीन वर्षमा सबैभन्दा नजिकबाट मैले चिनेँ तपाईंलाई । तपाईंका नाटक के हुँदा रहेछन्, तपाईंले कसरी ठग्नुहुँदोरहेछ भन्ने मैले देखेँ । त्यसकारण मेरो चुनौती तपाईं त्यहाँ पुरातात्विक अनुसन्धान गराउनुहोस् । प्रमाणित गर्नेतिर उहाँले एउटा सिन्को भाँच्नुभएको छैन, अनि प्रचण्डलाई चुनौती दिने भनेर भन्नुभएको छ ।’

अर्का अध्यक्ष माधव नेपालले पशुपतिनाथको प्रसंग निकालेर ओलीको आलोचना गरे । पशुपतिनाथले पापीलाई भलो नगर्ने उनको टिप्पणी थियो ।

‘पशुपतिनाथले राम्रो, असल मान्छेको मात्रै भलो गर्छन्’ नेपालले भने, ‘पशुपतिनाथले पापीलाई भलो गर्दैनन् । लोकतन्त्रको हत्या गर्ने, संविधानको हत्या गर्ने केपी ओलीको रक्षा गर्दैनन् । चेतना भया ।’

ओलीले पहिले मदन भण्डारीको नाम लिने गरेकामा अहिले उनलाई बिर्सेर पशुपतिनाथको नाम जप्न थालेको आरोप नेपालले लगाए ।

नेता रघुजी पन्तले पशुपतिनाथको विषयमा सबैभन्दा चर्को टिप्पणी गरे । उनले पशुपतिनाथ गुहार्ने वीरेन्द्रको वंशनाश भएको भन्दै ओलीको भलो नहुने बताए ।

‘राजा वीरन्द्रले सधैँ पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने गर्थे । तर, उनको वंश नाश भयो । राजा ज्ञानेन्द्रले पनि त्यही भन्ने गर्थे । उनी नारायणहिटीबाट नागार्जुन लखेटिए । अब ओलीजीलाई पशुपतिले के कृपा गर्ने हो हेर्न बाँकी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर