पोखरेली होटलका भ्यालेन्टाइन अफर: जोडीलाई ताल घुमाउनेदेखि आकाशमा उडाउनेसम्म – Nepal Press

पोखरेली होटलका भ्यालेन्टाइन अफर: जोडीलाई ताल घुमाउनेदेखि आकाशमा उडाउनेसम्म

उत्साही छैनन् होटल व्यावसायी

पोखरा । स्वदेशी तथा विदेशी पर्यटकले गुल्जार भइरहने ठाउँ हो, पोखरा । हिमशृंखला हेर्दै निलाम्मे तालतलैया हेर्दै रमाइरहेका पर्यटकको घुइँचो लाग्छ । धेरैको सपनाको ठाउँ पनि हो पोखरा ।

पोखरामा विशेष गरी नयाँ वर्ष, दशैंतिहारको समयमा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । यसबाहेक भ्यालेन्टाइन डे (प्रणय दिवश)को समयमा प्रेमिल जोडीको पनि ठूलै उपस्थिति हुन्छ ।

कोरोना कहरका कारण यस वर्ष अघिल्ला वर्षमा चहलपहल नभए पनि पोखराका केही होटलहरुले प्रणय दिवस विशेष केही अफर ल्याएका छन् ।

लामो समय पसल व्यापार बन्द गरेर बस्नु परेको र कोरोनाका कहर अझै मत्थर भइनसेकाले पनि साना होटल तथा रेस्टुरेन्टले पनि अघिल्ला वर्षहरुमा झैं यस वर्ष विशेष अफर ल्याउन नसकेको व्यवसायीहरु बताउँछन् ।

‘भ्यालेन्टाइन डेको समयमा चिनियाँ नयाँ वर्ष पर्छ । यही समयमा उनीहरु बढी नेपाल घुम्न आउँथे । भारतीयहरु पनि यही समयलाई नै चुनेर पोखरा आउँथे,’ पश्चिमाञ्चल होटल संघका अध्यक्षसमेत रहेका शेरमाउन्ट होटलका सञ्चालक विकल तुलाचन भन्छन्, ‘तर, यो वर्ष अघिल्ला पटकजस्तै साना होटलहरुले ठूला अफरहरु ल्याउन सकेका छैनन् ।’

पोखराका सीमित होटल तथा रेस्टुरेन्टले मात्रै प्रणय दिवशलाई लक्ष्य गरेर अफर ल्याएको तुलाचनले जानकारी दिए । उनीहरुले होटल तथा रेस्टुरेन्टले दिँदै आएका प्याकेजमा छुट, डुंगा सयरदेखि लाइभ म्युजिकसम्मको अफर ल्याएका छन् । त्यसबाहेक पोखराका होटल तथा रेस्टुरेन्टले विशेष अफर भने ल्याएका छैनन् ।

कोरोना महामारीसँगै बन्द भएको पोखरा चिप्लेढुंगाको मेलोडी लन्ज एन्ड क्याफे भ्यालेन्टाइन डेलाई लक्षित गरेर पुनः सुरु हुँदैछ । मेलोडीका म्यानेजर राम गुरुङले प्रणय दिवशलाई लक्ष्य गरेर लाइभ म्युजिकदेखि प्रेम गजलसम्मको अफर ल्याएको सुनाए । उनले भने, ‘लामो समय बन्द रहेको मेलोडी फेरि रिओपनिङ गर्दैछौं । फेब्रवरी १४ लाई टार्गेट गरेर पोखराका चर्चित कलाकारको प्रस्तुतीसँगै गजलहरु प्रेम जोडीलाई सुनाउने जमर्को गरेका छौं ।’

पोखरा लेकसाइडस्थित रानीवन अक्र्याडले प्रणय दिवशलाई लक्षित गरेर ‘कपल अफर’ ल्याएको छ । कपल अन्तर्गत ५ हजार रुपैयाँमै होटलको फुल प्याकेजसँगै एक घन्टा डुंगा सयर सुविधा पनि थप गरिएको सञ्चालक हरि भुजेलले जानकारी दिए ।

‘प्रणय दिवसका बेला पोखरामा बढी जोडी आउने समय हो । योबेला उनीहरुलाई लक्ष्य गरेर केही प्याकेज ल्याएका छौं,’ भुजेलले भने, ‘प्रेम जोडीलाई फेवाताल घुमाउने गरी अफर ल्याएका छौं ।’ उनले उक्त प्याकेजका लागि अरु समयमा जोडीले १४ हजार रुपैयाँसम्म पर्ने बताए ।

पोखरामा प्रणय दिवशको बेला लेकसाइड मात्रै नभई पोखरा आसपासका होटलहरुमा पनि भरिभराउन हुने गर्दछन् । पोखरा आसपासका काहुँडाँडा, सराङकोट, लब्ली डाँडा, पुम्दीभुम्दी ह्वाइट स्तुप आदि ठाउँ ‘डेटिङ स्पट’का रुपमा चुनिने गर्दछन् ।

भ्यालेन्टाइन डे (प्रणय दिवस)को समयमा आकाशमा युगल जोडीको फन्को लगाउनेहरुको पनि कमी हुँदैन । पोखरेली हावामा कावा खाँदै रमाउने लक्ष्य राखेका जोडीका लागि पोखराको बगैंचा होटलले युगल अल्ट्रालाइट अफर ल्याएको छ ।

होटलका पोमनारायण श्रेष्ठले होटलले दिँदै आएको प्याकेजमा ५० प्रतिशत छुटसहित अल्ट्रालाइट अफर ल्याएको बताए । उनले भने, ‘अल्ट्रालाइटमा आकासमा उड्न चाहने जोडीलाई ९ हजारमै उड्न पाइने अफर ल्याएका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *