पुष्पलाल लोकमार्गको कछुवा गतिः १२ वर्षमा पनि सकिएन आधा काम – Nepal Press

पुष्पलाल लोकमार्गको कछुवा गतिः १२ वर्षमा पनि सकिएन आधा काम

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुष्पलाल लोकमार्ग (मध्य-पहाडी) को निर्माण कार्य असाध्यै सुस्त छ । निर्माण सुरु भइसकेको १२ वर्षसम्म ५० प्रतिशत काम पनि सकिएको छैन ।

आर्थिक वर्ष २०६४-६५ मा शुरु भएको आयोजना आव २०७९-८० मा सम्पन्न गर्ने लक्ष्य थियो । तर, अहिलेसम्मको प्रगति हेर्दा तोकिएको समयमा निर्माण सकिने कुनै सम्भावना छैन । गत वर्षको असार मसान्तसम्ममा ४८. ९४ प्रतिशत काम सकिएकोमा त्यसयताको ६ महिनामा थप एक प्रतिशत मात्र प्रगति भएका तथ्यांकले देखाउँछ ।

समयमा सम्पन्न नहुने नेपालका धेरैजसो आयोजनाहरुको रोग हो । पुष्पलाल लोकमार्गको पनि सम्पन्न गर्नुपर्ने अवधि २ वर्ष मात्र बाँकी छ । तर, २ वर्ष भित्रमा ५१ प्रतिशत काम सकिने कुरामा स्वयम् आयोजना नै आश्वस्त छैन ।

आयोजनाका निर्देशक दिपक केसी लोकमार्ग निर्माणमा विभिन्न समस्याहरु आएकाले समयमै काम नसकिएको बताउँछन् । कोरोनाका कारण यो वर्षको निर्माण प्रगति अत्यन्त न्यून बनेको उनको भनाइ छ ।

‘सडक निर्माणका लागि चाहिने निर्माण समाग्रीको अभाव, स्थानीय स्तरमा हुने समस्या, मौसमका समस्या जस्ता कुराले निर्माण कार्य भनेको समयमा पूरा हुन सक्दैन,’ उनले भने ।

लोकमार्गको निर्माण शुरुवाती चरणमा द्रूत गतिमा भए पनि पछिल्ला वर्षमा ढिलासुस्ति भइरहेको बताउँछिन् आयोजनाकी इन्जिनियर प्रकृति पाण्डे ।

मध्यपहाडी लोकमार्ग पूर्वमा पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्मका २३ वटा जिल्लाका २१५ ओटा वस्ती जोडिनेछन् । आयोजकका अनुसार लोकमार्गको कुल लम्बाई १८७९ कि.मी हुनेछ भने यसमा १२९ ओटा पुल बन्नेछन् । आर्थिक वर्ष २०७६-७७ सम्मको असार मसान्तसम्ममा कुल १८७९ कि.मी कालोपत्रे गर्नु पर्नेमा अहिलेसम्म आयोजनाबाट ४५२ किमी र अन्य निकायबाट ४६२ किमी गरी ९१४ कि.मी सडक कालोपत्रे गरिएको छ । यसैगरि, अहिलेसम्ममा ८४ वटामात्र पुल निर्माण भएका छन् ।

आयोजनाको अहिलेसम्मको वित्तीय प्रगति ४५. ९४ प्रतिशत मात्र रहेको छ । जसमा आयोजकले ४६ अर्व १४ करोड रुपैयाँ बराबर खर्च गरेको छ । पुष्पलाल लोकमार्गका १ हजार किमी सडक राष्ट्रिय गौरबको आयोजना हुनुअघि नै बनेका पुराना सडक हुन् । अरु ७६५ किमी लम्बाईको सडक भने नयाँ भागमा ट्र्याक खोली सडक निर्माण गर्ने कार्य भइरहेको छ ।

मध्य पहाडी लोकमार्गलाई वर्षैभरी यातायात सञ्चालनका लागि योग्य बनाउने उद्देश्य रहेको छ । आयोजनाको कुल लागत १ खर्ब १ अर्ब ५० करोड रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर