बुढी आमाले बोकेर ल्याएको तरकारी फ्याँकेर क्रान्ति गर्न खोजियो : प्रधानमन्त्री – Nepal Press

बुढी आमाले बोकेर ल्याएको तरकारी फ्याँकेर क्रान्ति गर्न खोजियो : प्रधानमन्त्री

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोको नेपाल बन्दमा गरिएका गतिविधिहरुको तीब्र आलोचना गरे ।

आज आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘तपाईंहरुलाई उपस्थिति हुन नदिन हिजो तथाकथित नेपाल बन्द गरियो । बन्द गर्दा के गरियो ? गरिब सर्वहारा श्रमजिविका लागि काम गर्ने भन्ने, तर बुढी आमाले डोकामा बोकेर ल्याएर बेच्न राखेको टमाटर, तरकारी बाटाभरी छरेर क्रान्ति गर्न खोजियो । त्यही हो उहाँहरुको क्रान्ति । किसानका मूला फ्याँकिए, त्यही हो उहाँहरुको क्रान्ति ? एउटा गरिब ट्याक्सीवालालाई आगो लगाउनेहरु सर्वहारावादी पार्टी । ट्याक्सीभित्रै गरिब ड्राइभर जलाउन खोज्ने सर्वहारावादी पार्टी । घोषणै गरेर अब साकाहारी आन्दोलनले हुँदैन भनेको के हो ? चिकन चिल्ली खान्छु भनेको हो ? उहाँहरुले नरभक्षी आन्दोलन गर्न खोजेको हो । तर, नरभक्षी आन्दोलनका दिन गए । नरभक्षी आन्दोलन चलाउँछु भन्ने नसोचे पनि हुन्छ ।’

उनले हिजो बन्दका क्रममा गरीब जनताले भोगेको क्षतिको सरकारले क्षतिपूर्ति गर्ने बताए ।

ओलीले भने, ‘सागसब्जी फ्याकिएको छ, त्यो नोक्सानको सरकारले क्षतिपूर्ति दिन्छ । हामी उहाँहरूलाई क्षतिपूर्ति हामी दिन्छौं । ट्याक्सी इन्स्योरेन्स गरेको होला । क्षतिपूर्ति दिन लगाउँछौं । भएन भने गरिबलाई हेर्ने सरकार छ । जनतालाई माया गर्ने सरकार छ । शान्तिलाई मन पराउने सरकार छ ।’

बन्द गराउने पार्टीले कतिपय ठाउँमा बम राखेर ‘बिप्लव’ लेख्ने काम गरेको ओलीले आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर