वार्षिकोत्सव समारोहमा सांसदहरू नै आएनन् – Nepal Press
कर्णाली प्रदेशसभा

वार्षिकोत्सव समारोहमा सांसदहरू नै आएनन्

सुर्खेत । कर्णाली प्रदेशसभाको वार्षिकोत्सव समारोहमा सांसदको सहभागिता न्यून देखिएको छ । अघिल्ला वर्षमा वार्षिकोत्सव समारोहमा सबै सांसद आएका भएपनि यो वर्ष उपस्थितिमा नेकपा विभाजनको असर देखिएको छ । ४० सदस्यीय प्रदेशसभामा नेकपाका ३३ सदस्य छन् ।

समारोहमा मुख्यमन्त्री शाही, सभामुख राजबहादुर शाही, मन्त्रीहरु विमला केसी, नन्दसिंह बुढा, उपसभामुख पुष्पा घर्ती, सांसदहरु सीता नेपाली, हिमबहादुर शाही, दानसिंह परियार, यज्ञ विसी, पदम रोकाय, कृष्णा शाह, पदमा खड्का र अमृता शाही मात्रै उपस्थित भएका छन् ।

‘प्रदेश सभा स्थापनाको दिवसमा कम्तीमा सबै सांसदहरुको सहभगिता हुनुपर्थ्यो ।’ नागरिक अगुवा पिताम्बर ढकाल भन्छन्, ‘सांसदहरुले यो दिनलाई कतै त्यति महत्व दिन छोडेका हुन कि भन्ने लागेको छ ।’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबैले संविधानको अक्षरसः पालना गरेमात्रै विकास र समृद्धि सम्भव हुने बताएका छन् ।

वीरेन्द्रनगरमा आज आयोजित प्रदेशसभाको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै शाहीले भने, ‘नेपाल अर्थतन्त्रमा परनिर्भर छ । जनताले चाहेको सुशासन कायम गर्न, विकास गर्न यो व्यवस्था आवश्‍यक छ । तर, सरकारको गति, काम गर्ने तरिका हेर्दा जनतामा निराशा आयो ।’

प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले तीनै तहका सरकारबीच समन्वयको आवश्यकता रहेको औंल्याए । सबै जनाबीच सहकार्य, एकता र विकासप्रति जिम्मेवार भएमात्र विकास गर्न सकिने उनले बताए ।

नेपाली कांग्रेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले विदेशमा लोकतन्त्र जनताका लागि जनताद्वारा जनताले शासन गर्ने भनिएपनि नेपालमा लोकतन्त्र नेकपाका लागि, नेकपाद्वारा नेकपालाई शासन गर्ने प्रणाली नेकपाले नै बनाएको भनी टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर