पशुपति मन्दिर खुले पनि दर्शनार्थी न्यून, कोषको आम्दानी सुक्यो – Nepal Press

पशुपति मन्दिर खुले पनि दर्शनार्थी न्यून, कोषको आम्दानी सुक्यो

काठमाडौं । कोरोनाभाइरसको कारण ९ महिना बन्द भएर खुलेको पशुपतिनाथको मन्दिरमा अचेल पहिलेजस्तो चहलपहल छैन । भक्तजनको संख्या पातलिएसँगै मन्दिरको आम्दानी पनि सुकेको छ ।

गएको चैतमा सरकारले कोरोनाको महामारी रोक्न देशव्यापी लकडाउन गरेपछि पशुपति मन्दिर पनि बन्द थियो । महामारी शिथिल हुँदै जनजीवन सामान्य अवस्थामा फर्केपछि गत पुसबाट मन्दिर खुलेको हो । तर, मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी निकै कम रहेको पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए ।

खतिवडाका अनुसार अहिले कोरोनाका कारण भारतलगायतका तेस्रो देशबाट पर्यटक आगमन न्यून छ ।

दर्शनार्थीले चढाउने भेटी नै मन्दिरको मुख्य आम्दानी हो । अहिले दर्शनार्थी घटेसँगै भेटी पनि कमै मात्र संकलन हुने गरेको छ । कोरोनाअघि पशुपतिनाथमा दैनिक डेढदेखि २ लाखसम्म भेटी संकलन हुने गरेको थियो । तर अहिले त्यो १ लाख रुपैयाँमा झरेको छ । पहिले मासिक ३५–४० लाख आम्दानी हुने गरेकोमा पुस महिनामा २० लाख रुपैयाँ मात्र भयो ।

पशुपति विकास कोषका अनुसार पहिले दिनहुँ ५०० को हाराहारीमा भक्तजन पशुपतिको दर्शनका लागि आउँथे । अहिले २०० जति मात्रै आउँछन् । सोमबार, पूर्णिमा र शनिबारको दिन भने केही चहलपहल हुने गरेको उनले बताए ।

भट्टदेखि बाँदर हेर्ने कर्मचारीलाई समेत तलब

मन्दिरको आम्दानी घट्दा कर्मचारीलाई तलब खुवाउन कोषलाई समस्या परेको छ । कोषका अनुसार हाल मन्दिरका मूल भट्टदेखि बाँदर हेर्नेसम्म कर्मचारी छन् ।

हाल पशुपतिमा अस्थायी र स्थायी कर्मचारी ३६५ जना छन् । कोरोनाका कारण पशुपति बन्द भए पनि कुनै पनि कर्मचारीको तलब नरोकेको कार्यकारी निर्देशक खतिवडाले बताए ।

‘हामीले अस्थायी कर्मचारीदेखि काम पर्दा आउने कर्मचारीलाई पनि तलब खुवाएका छौं । आम्दानी घट्दा कर्मचारीमा असर त पर्छ नै । कर्मचारीलाई मात्र होइन कोषलाई समेत असर पर्छ’, उनले भने ।

गत आर्थिक वर्ष घाटामा

पशुपति क्षेत्र विकास कोषले गत आर्थिक वर्ष २०७६/७७ मा ४ लाख ६५ हजार ५०१ रुपैयाँ आम्दानी हुने लक्ष्य राखेको थियो । यसभित्र चन्दा, ब्याज, गुठी जग्गा, पर्यटक प्रवेश शुल्क, किरियापुत्री सेवा, विद्युत् शवदाह गृह सञ्चालन, स्थान अनुमति लगायतका अन्य आम्दानी कोष कार्यालयतर्फको आम्दानीमा गणना हुने गर्छ ।

तर कोरोनाभाइरसका कारण गत चैतदेखि पशुपति मन्दिर बन्द भएको थियो । गत आर्थिक वर्ष कोष कार्यालयतर्फको आम्दानी २ लाख ५७ हजार १५२ रुपैयाँ मात्रै भयो । यस अवधिमा ७५ हजार ९४९ रुपैयाँ कोभिडका कारण नोक्सान भयो ।

यस्तै मन्दिरतर्फ १ लाख ५० हजार ७०० रुपैयाँ आम्दानी गर्ने लक्ष्य थियो । कोरोनाले बन्द हुनुअघिको ९ महिनामा ६७ हजार ९६३ रुपैयाँ मात्रै आम्दानी भयो । सोही अवधिमा मन्दिरतर्फको आम्दानीमा कोभिडका कारण ३२ हजार १९० रुपैयाँ घाटा भएको कोषले जनाएको छ ।

मन्दिरतर्फको आम्दानीमा पशुपतिको भेटी, वासुकी, हनुमान विशेष पूजालगायत अन्य मन्दिरको भेटीहरू र घाटतर्फको आम्दानी समेत जोडिन्छ ।

घाटतर्फ वार्षिक आम्दानी ३८ हजार ३१५ रुपैयाँ उठ्ने आकलन थियो । यहाँ पनि कोभिडको प्रभाव परेको छ । गत आर्थिक वर्ष घाटतर्फ २३ हजार ९४ रुपैयाँ आम्दानी भयो ।

यसरी कोरोनाको कारण गत आर्थिक वर्षका ४ महिना पशुपति मन्दिर बन्द हुँदा कोषको कुल आम्दानी घटेको छ । कोष कार्यालय, मन्दिर सेवा र घाटसेवा तर्फबाट हुने आम्दानी गत आर्थिक वर्ष ६ लाख ५४ हजार ५१६ रुपैयाँ गर्ने लक्ष्य थियो । तर ३ लाख ४९ हजार ९ रुपैयाँ मात्रै कमाइ भयो ।

यो आर्थिक वर्षको ६ महिनाको अर्धवार्षिक समीक्षा भएको छ । पशुपति विकास कोषले गत पुुस १ गतेदेखि मात्रै कोभिडको कारण बन्द भएको मन्दिर खुला गर्‍यो । मन्दिर खुला भए पनि अझै मन्दिरमा हुने कार्यक्रमहरू खुला गरिएको छैन । त्यसैले यो आर्थिक वर्षको ६ महिनामा पनि लक्ष्य अनुसारको आम्दानी गर्न नसकेको कोषले जनाएको छ ।

‘हामीले आम्दानी गर्न थालेको भनेको गत पुसदेखि मात्रै हो । त्यसअघिको आम्दानी त शून्य जस्तै थियो’, कोषका कार्यकारी निर्देशक खतिवडाले भने ।

चहलपहल नबढ्दा व्यापारी निराश

पशुपति मन्दिरमा चहलपहल घट्दा व्यापारीहरू पनि निराश भएका छन् । पशुपति क्षेत्रका साना व्यापारीहरू व्यापार खासै नभएको बताउँछन् ।

पशुपतिको गेट नजिकै पूजाका सामग्री बेचिरहेका हेमन्त बज्राचार्य भन्छन्, ‘पशुपति खुलेको डेढ महिना भइसक्यो, तर पनि व्यापार छैन । नेपालीहरू मात्र फाट्टफट्ट आउँछन् ।’

पहिलेकै अवस्थामा फर्कन अझै समय लाग्ने उनी बताउँछन् । ‘शिवरात्रि पछि चाहिं चहलपहल बढछ कि ?’ उनले भने ।

शिवरात्रि मेला चलाउने तयारी

पशुपति विकास कोषले यस वर्षको शिवरात्रि मेलाका लागि तयारी शुरु गरेको छ ।

कोषका कार्यकारी निर्देशक भन्छन्, ‘देशको पर्यटनलाई चलायमान बनाउनको लागि कोरोनाको त्रास रहे पनि शिवरात्रि मेला चलाउनुपर्छ र चल्छ । यसबारे छिट्टै निर्णय हुँदैछ ।’

पशुपतिमा शिवरात्रि मेला, हरितालिका तीज र साउनको सोमबार नै मुख्य आम्दानी हुने गरेको छ । कोरोनाभाइरसका कारण मेला तथा जात्राहरू स्थगन गरिरहेको कोषले शिवरात्रि मेला भने चलाउने तयारी गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर