‘७० वर्षतिर लाग्न लाग्या छौं, जवान जस्तो दौड्या छ दौड्या छ’ – Nepal Press

‘७० वर्षतिर लाग्न लाग्या छौं, जवान जस्तो दौड्या छ दौड्या छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन सिर्जना गर्न जवान जस्तै दौडिरहेको बताएका छन्।

अखिल नेपाल किसान महासंघको केन्द्रीय कमिटी बैठकलाई पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले ७० वर्षतिर लाग्दा पनि आफूहरू दिनदिनै बिहानदेखि बेलुकासम्म खटेको बताए। ‘यतिबेला माधव जी र म देशभरी घुमेको तपाईंहरूले देख्नु भएको छ,’ प्रचण्डले भने, ‘दिनदिनै बिहानदेखि बेलुकासम्म दौड्या छ, दौड्या छ। अब ७० वर्षतिर लाग्न लाग्या छौं हामी । र, पनि दौड्या छौं, हामी २५/३० वर्षको जवान जस्तो गरी।’

रातदिन नभनेर दुई/चार महिना आन्दोलनमा लाग्न आग्रह गर्दै प्रचण्डले भने, ‘उनले यो दुई/चार महिना रात दिन नभनेर यो प्रतिक्रान्तिलाई परास्त गर्नका लागि लाग्न तपाईंहरूलाई अपिल गर्छु ।’

किसानविरोधी ओली

प्रचण्डले आफ्नो सम्बोधनका क्रममा विदेशी कम्पनीलाई लगानी गर्न दिने निर्णय यो सरकारले गरेको सन्दर्भ कोट्याउँदै प्रधानमन्त्री केपी शर्मा ओली किसानविरोधी समेत भएको टिप्पणी गरे।

‘यो प्रतिगामी कदम चालिसकेपछि कृषि क्षेत्रमा विदेशी कम्पनीहरूलाई लगानी गर्न दिने निर्णय गरेको छ,’ उनको भनाइ छ,‘विदेशीहरूलाई राइदाँइ गर्न दिने र किसानहरूलाई अझ बढी गरिब, अझ बढी असहाय बनाउने र विदेशतिर लखेट्ने खेल शुरू भएको छ । सबभन्दा बढी किसानहरूलाई नै हामीले यो कुरा बुझाउन जरुरी छ। र, किसानहरूलाई नै बढी आन्दोलित गर्नु जरुरी छ।’

सरकारले ल्याएको नीतिलाई परास्त पार्न किसानहरूकै जिम्मेवारी ठूलो रहेको प्रचण्डको भनाइ छ। ‘कृषि क्षेत्रमाथि नै वैदेशिक एकाधिकार पुँजीवादलाई ल्याउन खोज्ने, विदेशी दलालहरूलाई ल्याउन खोज्ने केपीको राष्ट्र विरोधी, कृषि विरोधी, किसान विरोधी जो नीति अगाडि आएको छ’,दाहालले भने, ‘त्यसलाई परास्त गर्नका लागि तपाईंहरूको काँधमा निकै ठूलो जिम्मेवारी छ।’

दुई तिहाइ किसान हामीतिरै छन्

महाससंघका दुई तिहाइ आफूतिरै भएको भन्दै प्रचण्डले खुशी व्यक्त गरे। ‘मलाई खुशी लाग्यो तपाईंहरूको कुरा सुन्दा । तपाईंहरू केन्द्रीय समितिको दुई तिहाइ बुहमत एकै ठाउँमा हुनुहुन्छ,’ उनको भनाइ थियो, ‘त्यसै गरि प्रदेश र जिल्लामा पनि तपाईंहरूको संगठन पनि इन्ट्याक्ट छ। केपी ओलीतिर थोरै मान्छे छन् भनेर रिपोर्ट गर्नु भयो यो खुशी कुरा हो।’

आफूहरुको कम मेहनतमै देश आन्दोलित भएको प्रचण्डको भनाइ छ। ‘यो पटक मलाई धेरै सुखद कुरा के लागेको छ भने हामीले धेरै मिहिनेत नगर्दा नगर्दै पनि देशभरीका कार्यकर्ता स्वतः नै आन्दोलित भएको देख्यौं हामीले,’ उनले भने, ‘अस्ति बुटवलमा जाँदा हामीले सोचेको भन्दा धेरै कार्यकर्ता, जनताको सहभागिता देखियो। निकै उत्साहबर्धक थियो। अस्ति विराटनगरमा त्यसरी नै जनताको उपस्थिति देखियो। धनगढीमा त विशाल जनसागर ओर्लिएर सहरै छोप्नेजस्तो काम भयो। यो सबैबाट हामी खुशी छौं।’

उनले आन्दोलनको लहर शुरु भइसकेको समेत दाबी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर