भन्सार चुहावट नियन्त्रणमा निजी क्षेत्रको सहयोग जरुरी : अर्थमन्त्री – Nepal Press

भन्सार चुहावट नियन्त्रणमा निजी क्षेत्रको सहयोग जरुरी : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताएका छन् ।

६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मंगलबार भन्सार विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले न्यून बिजकीकरण र चुहावट न्यूनीकरणका लागि निजी क्षेत्रले भन्सार प्रशासनलाई सहयोग गर्नुपर्ने बताएका हुन् । यस्तै निजी क्षेत्रका जायज समस्यालाई भन्सार प्रशासनले समाधान गर्न सहयोग गर्नुपर्ने पनि उनको भनाइ थियो ।

निजी क्षेत्र र भन्सार एक सिक्काका दुई पाटा भएको उल्लेख गर्दै दुईमध्ये एक नहुँदा भन्सार प्रणाली नै नरहने पौडेलले बताए । भन्सार प्रणालीलाई आधुनिकीकरण गर्ने प्रक्रिया अगाडि बढाउँदै प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा पनि अर्थमन्त्री पौडेलले जोड दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कुनैपनि वस्तुको भन्सार मूल्याङ्कन र वर्गीकरणको समस्या छिटो समाधान हुनुपर्ने माग गरे । यस्तै तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा दुई तहको फरक हुने व्यवस्था गर्नसमेत उनको माग थियो । गोल्छाले भन्सार प्रणालीलाई सुधार गर्न पूर्वाधार, प्रविधि र पारदर्शितामा ध्यान दिनसमेत आग्रह गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व व्यापार संगठनको सिद्धान्त अनुसार भन्सार प्रशासनले वस्तुको कारोबार मूल्यलाई परिवर्तन गर्न नपाउने बताए । त्यसैले कारोबार मूल्यमा नै भन्सार पास गर्ने व्यवस्था मिलाउन उनको माग छ ।

भन्सार प्रशासनले व्यवसायीहरुलाई विश्वास गर्न नसक्दा बस्तुको मूल्याङ्कन र वर्गीकरणमा समस्या हुने गरेको भन्दै श्रेष्ठले भ्याटको दर, आयकरको दर लगायतका करदका दरहरु घटाउन समेत माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर