प्रधानमन्त्रीको कदमलाई सिके राउतको ‘मौन समर्थन’, भित्रभित्रै चुनावी तयारी – Nepal Press

प्रधानमन्त्रीको कदमलाई सिके राउतको ‘मौन समर्थन’, भित्रभित्रै चुनावी तयारी

जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई मौन समर्थन गर्दै भित्रभित्रै चुनावी तयारी थालेको छ । औपचारिकताका लागि उक्त पार्टीका केन्द्रीय सदस्य अब्दुलले संसद विघटन दुखद भएको विज्ञप्ति निकाले पनि विरोध गरेका छैनन् ।

विज्ञप्तिमा संसद विघटन गर्नु प्रधानमन्त्रीको वाध्यता भएको उल्लेख गरिएको छ । त्यस विज्ञप्तिपछि मौन रहेको उक्त पार्टीले भित्रभित्रै चुनावको तयारी गरिरहेको बुझिएको छ ।

पछिल्लो समय राउतल फेसबुक पेजबाट मतदाता नामावलीमा अनिवार्य रुपमा नाम दर्ता गराउन सबैमा अनुरोध गरेका छन् । भनेका छन्, ‘मतदाता नामावलीमा नाम नभएमा कुनै पनि तहमा उम्मेदवार र मतदाता मात्रै हैन, मतदान प्रतिनिधि (बूथ एजेन्ट), प्रस्तावक वा समर्थक समेत हुन पाइँदैन । त्यसैले आफ्नो नाम छैन भने पुस ५ गतेसम्ममा १८ वर्ष पूरा गरेका सबैले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउनुहोला ।’
राउतले यसो भन्नुलाई चुनावी तयारीका रुपमा बुझिएको छ ।

जनमत पार्टीका केन्द्रीय नेता दिपक शाहले संसद विघटनमा आफूहरुको न समर्थन न विरोध रहेको बताउँछन् । उनले निर्वाचनका लागि तयार रहेको बताए । अध्यक्ष सीके राउतले पनि चुनावका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको उनले बताए । उनले भने, ‘संसद विघटन गर्नु असंवैधानिक हो वा होइन भन्ने व्याख्या अदालतले गर्ने हो । हामी त्यहीं अनुसार अगाडीको रणनीति बनाउँछौं ।’

उनले अगामी निर्वाचनमा कति ठाउँबाट उम्मेदवारी दिने निर्णय अहिले नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर