नेपाल–प्रचण्डको अन्तर्घात र अराजकताले देशमा अस्थिरता निम्त्यायोः प्रभु साह – Nepal Press

नेपाल–प्रचण्डको अन्तर्घात र अराजकताले देशमा अस्थिरता निम्त्यायोः प्रभु साह

गरुडा । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अन्तर्घात र अराजकताले देशमा अस्थिरता निम्त्याएको बताएका छन् ।

बिहीबार रौतहटको गरुडामा नेकपा (ओली पक्ष) जिल्ला कमिटीद्वारा आयोजित सभालाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका नेता साहले नेपाल र प्रचण्डले पटक–पटक अन्तर्घातको कारण पार्टी क्षतविक्षत अवस्थामा पुगेको र मुलुकलाई संकटतर्फ उन्मुख गराएको बताए । नेपाल र प्रचण्डले आफ्नो पार्टी र आफ्नै पार्टीको सरकारविरुद्ध कदम–कदममा धोखा र षडयन्त्र गरेको नेता साहको भनाइ थियो ।

‘दुनियाँमा कतै सुन्नुभएको छ, आफ्नै पार्टीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको कुरा ? यो त कांग्रेसले पनि आफ्नो सरकारको विरुद्ध कहिल्यै गरेन । तर केही कम्युनिष्टहरुले आफ्नै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याए। तपाइँहरुले देख्नुभयो होला, त्यसमा प्रभु साहको पनि नाम छ’ नेता साहले भने, ‘मैले असार महिनामा फरक प्रयोजनका लागि संसदीय दलमा गरेको हस्ताक्षरको दुरुपयोग गरेर आफ्नै पार्टीको सरकारविरुद्ध षड्यन्त्र गरेका माधव नेपाल र प्रचण्ड विगत तीन वर्षदेखि पार्टी भित्र अन्तर्घातमाथि अन्तर्घात गर्दै आएका हुन् ।’

‘माधव नेपाल र प्रचण्डको छलछामका कारण पार्टी र सरकार संचालनमा असहज भएपछि संसद विघटन गर्नुपर्यो । जनताको ताजा मतादेश हासिल गर्न आह्वान गरिएको यो प्रक्रियालाई चुनौती दिंदै अदालतमा गएपछि पनि निरन्तर सडकमा प्रदर्शन गर्ने र निचस्तरको गाली गरेर हिंड्ने अराजकहरुले देशमा द्वन्द्व सृजना गर्न खोज्दैछन्’, नेता साहले थपे, ‘पार्टीको कुनै बैठकबिनै सरकार र पार्टीविरुद्ध षड्यन्त्र गर्ने यस्ता प्रतिक्रान्तिकारी अस्थिरतावादीलाई पहिचान गरी निस्तेज गरौं ।’

कार्यक्रममा स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, प्रदेश सचिव सुमन प्याकुरेललगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य बबन सिंहले पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर