प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन आज, ५० हजार कार्यकर्ता उतार्ने दावी – Nepal Press

प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन आज, ५० हजार कार्यकर्ता उतार्ने दावी

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष)ले सरकारविरुद्ध आज राजधानी काठमाडौंसहित देशभर शक्ति प्रदर्शन गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विटघन गरेपछि बसेको प्रचण्ड-माधव पक्षीय केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई कारबाही गर्दै उनीविरुद्ध आन्दोलनका कार्यक्रम तय गरेको थियो ।

केन्द्रीय कमिटीको (७-८ पुस) बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलनको कमाण्डर तोक्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम तय गरेको थियो ।

७७ वटै जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम भए पनि नेकपाले मुख्यगरी काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । विशेष गरी वागमती प्रदेशभरको शक्ति काठमाडौंमा केन्द्रित गर्न लागेको नेकपाले भृकुटीमण्डपमा कार्यक्रम गर्दैछ ।

केन्द्रीय आन्दोलन परिचाल समितिका अनुसार बिहान ११ बजे सुरु हुने प्रदर्शन काठमाडौंका ६ ठाउँबाट जुलुस शुरु हुने छन् । काठमाडौंका टेकुचोक, लैनचौर, नक्साल, घण्टाघर, रत्नापार्क र बागबजार क्षेत्रबाट जुलुस निस्कनेछन् ।

स्थायी कमिटी सदस्य वर्षमान पुनले राजधानीको प्रदर्शनमा ५० हजार मान्छे उतार्ने दाबी गरेका छन् । युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दिपशिखा’ले काठमाडौंको शक्ति प्रदर्शनका लागि आफूहरुले व्यापक तयारी गरेको बताए ।

प्रचण्ड-माधव पक्षले आजको प्रदर्शनलाई आफ्नो शक्ति देखाउने अवसरका रुपमा लिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक रुपमा आफूहरुको विजय भइसकेको बताउँदै अब सडकबाट त्यो निर्धारण हुन बाँकी रहेको बताएका छन् ।

आजको शक्ति प्रदर्शनबाट ओली र अदालतले यथार्थता बुझ्ने र प्रतिनिधिसभा पुनर्स्थापना गर्न दबाब पुग्ने नेताहरुले बताएका छन् । भृकुटीमण्डपको सभालाई अध्यक्ष प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर