एमाले–माओवादी ‘फ्युजन फुट’: आधिकारिकताको ‘कन्फ्युजन’ – Nepal Press

एमाले–माओवादी ‘फ्युजन फुट’: आधिकारिकताको ‘कन्फ्युजन’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राजनीतिक विभाजनले पूर्णता पाएको छ । बालुवाटारबाट पुष्पकमल दाहाल प्रचण्डको कार्यकारी अधिकार खोसिएको निर्णय निर्वाचन आयोगमा पठाइएसँगै अब नेकपाको राजनीतिक विभाजनले पूर्णता पाएको हो ।

प्रचण्ड–माधव नेपाल पक्षले यसअघि नै पहिलो अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरी अध्यक्षबाटै हटाएको निर्णय निर्वाचन आयोगलाई दिइसकेको थियो । दुवै पक्षले आ–आफ्नो निर्णय आयोगलाई बुझाए पनि आधिकारिकताको लागि अर्थात् निर्वाचन चिह्नका लागि विधिवत् दाबी भने अहिलेसम्म परेको छैन ।

अब निर्वाचन आयोगले दुवै पक्षका कागजपत्र र दाबीमाथि अध्ययन गरेर पार्टीको आधिकारिकता विवाद टुंगो लगाउनुपर्नेछ । आयोग स्रोतका अनुसार पुस १४ गते आयोगले दुवै पक्षलाई बोलाउने तयारी गरेको छ । त्यसपछि मात्र सूर्य चिह्नको विवादमा नेकपा प्रवेश गर्नेछ ।

ओली पक्षले कसैलाई पनि कारबाही र निश्कासन गरेको छैन । बरु केन्द्रीय सदस्य थप गरेर विधान संशोधनको प्रति आयोगमा पठाएको छ ।

अब नेकपा विभाजनको कानूनी निरुपण निर्वाचन आयोग हुँदै सर्वाेच्च अदालतसम्म पुग्दा सूर्य चिह्नमाथिको ग्रहण कायमै रहने देखिएको छ । न्यायिक निरुपण लम्बिंदै जाँदा सूर्य अनिश्चितकालका लागि होल्डमा रहने सम्भावना पनि देखिएको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडेको तीन वर्ष र पार्टी एकीकरणको साढे दुई वर्षको बीचमा दुई समूहको मनोविज्ञान  अन्तरघुलन भएको विभाजनको दृश्यले देखाएको छ । धेरैको अनुमान नेकपा विभाजन हुँदा पूर्व एमाले मात्र दुई फ्याक हुने तर पूर्व माओवादी प्रचण्डसँगै रहने थियो ।

पुस ९ गते पूर्व माओवादी खेमाका नेता रामबहादुर थापा बादल केपी ओलीको रक्षकका रुपमा बालुवाटारको बैठकमा प्रस्तुत भएपछि पूर्व पार्टीको मनोविज्ञान विपरीतको दृश्य देखिएको छ । प्रचण्डले एमालेभित्र समीकरण बनाएर ओलीलाई एक्ल्याएका थिए । तर ओलीले पनि जनयुद्धकालदेखिकै प्रचण्डका वरिष्ठ नेताहरु बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई आफ्नो कित्तामा राख्न सफल भएका छन् ।

माधव नेपाल, झलनाथ खनाल जस्ता एमालेका हस्तीको साथ पाएर प्रचण्डले नेकपामा आफ्नो बहुमत सिद्ध गरे पनि उनले बादल जस्ता सहयोद्धा भने गुमाएका छन् । बादल गुटका अधिकांश नेता प्रचण्डसँग लागे पनि टोपबहादुर लगायतका वरिष्ठ नेताहरु बादलसँग रहनुले नेकपाको विभाजन एमाले माओवादी फ्युजनकै रुपमा भएको छ ।

तलसम्मका कमिटी र कार्यकर्ताहरुको विभाजन कसरी हुन्छ ? अझै प्रष्ट भइसकेको छैन । धेरैजसो पूर्व एमाले पृष्ठभूमिका कार्यकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । सूर्य चिह्न जता जान्छ त्यतै जाने पंक्ति पनि ठूलो छ । प्रचण्ड नेतृत्वको पार्टी माओवादी र ओली नेतृत्वको पार्टी एमाले भन्ने बुझाइलाई बादलहरुको ओलीसँगको उपस्थितिले केही हदसम्म खण्डित गरेको छ ।

बादलसँग जनयुद्धको लिगेसी रहेकाले उनीसँग पूर्व माओवादीका तल्लो तहका कार्यकर्ताको भावनात्मक सम्बन्ध छ । अब उनले ओली नेतृत्वको पार्टीमा तिनीहरुलाई कसरी समेट्छन् ? अझै प्रष्ट भइसकेको छैन । तर बादलको बहिर्गमनले प्रचण्डलाई भने धक्का दिएको बिहीवारको बैठकमा प्रचण्डको अभिव्यक्तिले पनि प्रष्ट पारेको छ ।

अर्कोतिर प्रचण्डले पनि आफू नेतृत्वको पार्टी पूर्व माओवादीको वर्चश्वको होइन भनेर देखाउन केन्द्रीय कमिटी लगत्तै माधव नेपाल र झलनाथ खनाल, अमृत बोहोरालाई साथमै लिएर मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन् ।

प्रचण्डलाई ओलीले जालझेल र तिकडम गरेर भने पनि पार्टीको आधिकारिकता हत्याउँछन् भन्ने डर भने देखिएको छ । विहीबारको बैठकमा बोल्ने क्रममा उनले पूर्व पार्टीहरुकै अवस्थामा पुर्याउने खेल भइरहेको भन्दै निर्वाचन आयोग र अदालतको निष्पक्षको माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर